Close This

टेक्सासको युलेशमा अध्यात्मिक महोत्सब शुरु

बुधबार चैत २८, २०८०/ Wednesday 04-10-24
Paschim Today

नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र टेक्सासद्वारा आयोजना हुन लागेको श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (अध्यात्मिक महोत्सब) युलेशमा शुरु भएको छ । केन्द्रको प्राङ्गणमा आयोजना गरिएको बिशेष समारोहमा पशुपति नाथ तथा बौद्ध बिहार निर्माणको लागि १ लाख डलर भन्दा बढी सहयोग गर्ने दाताहरुले सँयुक्त रुपमा पानसमा बत्ति बालेर उद्घाटन गर्नु भयो । उक्त अवसरमा पण्डितहरुबाट स्वस्ती बाचन गरिएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी युलेश सिटीकी मेयर लिण्डा मार्टिनले नेपाली समुदायमा देखिएको साँस्कृतिक एकताको प्रशँसा गर्दै समुदायको लागि गरिने साझा सवालमा युलेश सिटी साझेदारी र सहयोग गर्न तयार गरेको बताईन । युलेश सिटी बिबिधतायुक्त साँस्कृतिक शहर भएको बताउँदै नेपाली समुदायले आयोजना गर्न लागेको अध्यात्मिक महोत्सब कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरिन् ।
यसै गरि उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कथाबाचक पण्डित दिनबन्धु पोखरेलले प्रवासमा समेत जात तथा क्षेत्रका नाममा नेपाली समुदाय बिभक्त हुन थालेकोमा चिन्ता ब्यक्त गर्दै धार्मिक तथा अध्यात्मिक चेतनाको माध्यमबाट नेपाली समुदायलाई जोड्नु पर्ने धारणा व्यक्त गर्नु भयो । टेक्सासका नेपाली समुदायले शुरु गर्न लागेको पशुपतिनाथ तथा बौद्ध बिहार मन्दिर निर्माण बृहत परियोजनाको प्रँशसा गर्दै पण्डित पोखरेलले परियोजना सम्पन्न गर्न सबै नेपाली समुदायले एकै ठाउँमा उभिएर सहयोग गर्नु पर्ने बिचार व्यक्त गर्नु भयो ।
नेपाली र्साँस्कृतिक तथा अध्यात्मिक केन्द्रका सचिब डा. दिनेश ज्ञवालीको सन्चालनमा भएको उद्घाटन कार्यक्रममा बोल्दै नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले टेक्सासमा नेपाली समुदायको आकर्षण बढी रहेको सन्दर्भमा प्रवासमा नेपाली भाषा, कला तथा सँस्कृतिको प्रबद्र्धन गरेर मिनि नेपाल निर्माण गर्न जरुरी भईसकेको धारणा ब्यक्त गर्नु भयो । पशुपतिनाथ तथा बौद्ध बिहार मन्दिर निर्माण नेपाली समुदायको प्राथमिकता प्राप्त परियोजना भएको बताउँदै परियोजना सम्पन्न भएमा एकै स्थानमा सिंगो नेपाल देख्न सकिने बताउनु भयो । उक्त अवसरमा मन्दिरका पूजा समितिका उपाध्यक्ष छबि चापागाईंले महायज्ञको उद्देश्य सहित बिबिध पक्षको वारेमा जानकारी दिनु भएको थियो ।
श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (अध्यात्मिक महोत्सब) उद्घाटन पूर्ब कलश यात्रा कार्यक्रमको आयोजना गरिएको थियो । मन्दिरबाट शुरु गरिएको कलश यात्रामा सयौं महिला तथा पुरुषहरुले कलश सहित मन्दिर परिक्रममा गरेका थिए । कलश यात्रामा ड्यालस फोर्टवर्थ क्षेत्रमा सकृय रहेका नेपाली समुदायका बिभिन्न सँस्थाहरु व्यानर सहित सहभागि भएका थिए ।
श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (अध्यात्मिक महोत्सब) आजबाट शुरु भई अप्रिल १७ तारेखसम्म चल्ने छ । नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र परिसरमा निर्माण हुन लागेको पशुपतिनाथ तथा बौद्ध बिहार मन्दिरको लागि कोष बृद्धि गर्न महायज्ञ आयोजना गरिएको बताईएको छ । कुल १ करोड डलर खर्च लाग्ने अनुमान गरिएको उक्त परियोजना सम्पन्न गर्नको लागि करिब ५० लाख डलर महायज्ञबाट सँकलन गर्ने लक्ष्य लिईएको आयोजकले बताएका छन ।