Close This

अत्याधुनिक कृषि यन्त्रको प्रयोगबाट किसानहरुलाई खेतीपातीमा सहज

मुक्तिनाथ कृषि कम्पनीको ट्र्याक बेस कम्वाइन हार्वेस्टर मेशिनको प्रयोेगबाट काम गर्न छिटो छरितो र समय बचत भएपछि किसानहरु हर्षित

आइतबार बैशाख २, २०८१/ Sunday 04-14-24
Paschim Today

रञ्जना बि.सी/पश्चिम टुडे, कैलाली २ बैशाख । 
          कैलालीको भजनी नगरपालिका वडा न. १ का जीत राम चौधरीको पुर्ख्यौली पेसा कृषि हो । अहिले उनी पनि कृषि पेसालाई नै निरन्तरता दिइरहेका छन् । १० बिघा कृषि योग्य जमिन रहेका चौधरीले नौ बिगाहा जमिनका धान र गहुँ खेती गर्दै आएका छन् । बाकि एक बिघामा तरकारी खेती पनि गरिरहेका छन् । जसबाट उनले वर्षमा राम्रो आम्दानी गरिरहेका हुन्छन् ।  


     विगत लामो समय देखि कृषि गरी रहेका चौधरीले परम्परागत कृषि औजार देखि आधुनिक उपकरणहरू पनि प्रयोग गर्दै आएका छन् । जसले उनको कामलाई थप सरल र सहज बनाउने गरेको छ । तर आफ्ना बाउ बाजे हरूले प्रयोग गरेका कृषि औजारले अहिले धान र गहुँ खेती गर्न भने सहज नभएको उनी सुनाउँछन् ।  जीत राम भन्छन् ‛अब पहिले हाम्रा बुवा बाजेले जे सामानहरूले कृषि पेसा गरे अब त्यो हामी गर्न सक्दैनौ । अहिले त प्रतिस्पर्धाको जमाना छ । बजारमा विभिन्न आधुनिक कृषि उपकरणहरू पाइन्छन् । जसले आधुनिक उपकरणहरू प्रयोग गरेर कृषि गर्छ उसैको फसल बढी हुन्छ । काम पनि छिटो हुन्छ ।’  


        परम्परागत कृषि औजारले काम गर्दा जनशक्ति, समय र लागत बढी लाग्न थालेपछि  जीत रामले पनि अहिले  विभिन्न आधुनिक उपकरणहरू खरिद गरेका छन् । जसमध्येको एक हो ट्र्याक बेस कम्वाइन हार्वेस्टर । यो मेसिन किनेपछि आफूलाई काम गर्न धेरै सहज भएको उनी बताउँछन् । उनी भन्छन् ‛मैले मुक्तिनाथ कृषि कम्पनी लिमिटेडबाट यो मेसिन किने पछि हामिलाई अहिले धेरै सहज भएको छ । १कट्टा, दुई कट्टा जमिन पनि काट्ने । सानु ठाउँमा पनि घुम्ने । ठुलो मेसिनले दाना काट्छ तर यो मेसिनले न दाना काट्छ न त भूषामा जान्छ ।’
        जीत रामले कम्वाइन हार्वेस्टरबाट काम गरेको देखेपछि अन्य किसानहरूले पनि यो मेसिनबाट भाडा तिरेर काम गराउन थालेका छन् ।  जीत राम अहिले प्रतिबिगाहाको ५५ सय भाडा लिने गरी अरू कृषकका गहुँ पनि उक्त मेसिनबाटै काट्न थालेको छन् । मेसिनले छिटो र भूषा केलाउन नपर्ने गरी काटेको देख्दा किसानहरू हप्तौँ सम्म कुरेर भए पनि कम्वाइन हार्वेस्टरबाटै गहुँ कटाउन थालेको उनी बताउँछन् । 


        कैलालीको जोशीपुर गाउँपालिका वडा नं ४ का स्थानिय बासिन्दा पूर्व स्वास्थ्य मन्त्री राम जनम चौधरीले समेत मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको कम्वाइन हार्वेस्टर मेशिन खरिद गरेका छन् । गत बुधबार कम्पनीका बिजनेश तथा कर्पाेरेट प्रमुख गोपाल लम्साल, ब्रान्डिङ्ग एण्ड कम्युनिकेशन मार्केटिङ्ग प्रमुख रोशन मल्लले संयुक्त रुपमा पूर्व स्वास्थ्य मन्त्री चौधरीलाई उक्त मेशिन हस्तान्तरण गरेका छन् । 


        जोशीपुर गाउँपालिका वडा नं ४ की रुपा चौधरी पनि कम्वाइन हार्वेस्टरले गहुँ काट्न पाएपछि मक्ख छीन । उनी भन्छीन ‛पहिला हामिलाई एक बिगाहा गहुँ काट्न धेरै समय लाग्थ्यो । धेरै मान्छेहरू चाहिन्थ्यो, खर्च बढी हुन्थ्यो । तर यो मेसिनले १ बिगाहा १ घण्टामै काट्ने रहेछ । मैले पनि कटाए आफ्नो गहुँ । धेरै राम्रो छ । भूषा पनि छैन दाना पनि राम्रो छ । ’  रुपा र रामकिसन जस्ता धेरै किसानहरू छन् जो कम्वाइन हार्वेस्टरले थोरै समय र कम लागतमा गुणस्तरीय काम गरेको देख्दा खुसी छन् । 


          ट्र्याक बेस कम्वाइन हार्वेस्टर एफ एम वर्ल्डको कैलाली र बर्दियाको आधिकारिक बिक्रेता छोटु लाल चौधरीले सुदुरपश्चिममा यो मेसिन पहिलो पटक आएको बताए । धेरै कृषि उपकरणहरू कि त धान काट्ने कि त गहुँ मात्रै काट्छन् तर कम्वाइन हार्वेस्टर भने धान र गहुँ दुवै काट्ने गरेको बिक्रेता छोटु लाल बताउँछन् । यसै कारण सुदूरपश्चिममा मेसिन बेच्न सुरु गरेको एक महिनामै उनले चार वटा मेसिन बेची सकेका छन् । 


         बिक्रेता चौधरीका अनुसार यो मेसिनको बजार मूल्य अहिले ३५ लाख रहेको छ । जसमा मेसिन किन्न चाहने ग्राहकले सुरुमा ३० प्रतिशत रकम भुक्तानी गर्नु पर्ने छ । यसमा वित्तीय सुविधा पनि रहेको छ जसबाट बैङ्कले ७० प्रतिशत रकम बुझाइ दिने छ । 
       मुक्तिनाथ कृषि कम्पनीका इन्जिनियर सचिन मिश्रले कम्वाइन हार्वेस्टरले धान र गहुँ सँगसँगै मकै, मुसुरो र भट्मास पनि काट्ने गरेको बताए । अझ रोचक कुरा त यसले हिलोमा पनि बिना अवरोध काम गर्ने र जमिन अनुसार १ घण्टामै एक बिघा धान, गहुँ काट्न सक्ने कम्पनीको दाबी छ ।  


    कृषिलाई मर्यादित र व्यवसायिक पेसामा लिई युवालाई स्वरोजगारको सुनिश्चितता गराउने, किसानहरुको कार्य बोझलाई कम गर्दै नयाँ आधुनिक कृषि प्रविधिको हस्तान्तरण गर्नेुका साथै किसानका समस्याहरुलाई पहिचान गरी समाधान गर्नका लागि निरन्तरता दिने उद्देश्यले मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सुदूरपश्चिममा पनि व्यापक रुपमा कार्य विस्तार गर्न थालेको कम्पनीका क्षेत्रीय प्रबन्धक हिक्मत राज उपाध्यायले पश्चिम टुडेलाई बताए । 


       उनले सुदूरपश्चिममा कृषि क्षेत्रको दिगो विकास गर्नका लागि सरकारी निकाय, गैर सरकारी संघ संस्था, कृषि सहकारी, एग्रो होलसेलर, कृषक समूह लगायत सुदूरपश्चिमका किसानहरु संग निरन्तर सहकार्य र समन्वयमा अगाडि बढ्ने बताए ।

      कम्पनीले किसानका लागि आवश्यक पर्ने कृषि यन्त्र उपकरणहरु खरिद गर्नु परेमा सस्तो सुलभ रुपमा व्यवसायिक योजना सहित कर्जाको समेत उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ ।  
कम्वाइन हार्वेस्टर कस्तो मेसिन हो ?


कम्वाइन हार्वेस्टर मुक्तिनाथ कृषि कम्पनीका लिमिटेडको एक कृषि उपकरण हो । कम्पनीका अनुसार नेपालका गह्राहरु साना हुने भएकाले ठुला मेसिनले राम्रो सँग काम गर्न नसकेपछि यो मेसिन निर्माण गरिएको हो । यो मेसिन खास गरी धान र गहुँ काट्न प्रयोग गरिन्छ । यसले एक बिगाहा गहुँ काट्न ४० देखि ५० मिनेट लगाउने गर्दछ भने धानमा जमिन अनुसार १ घण्टा भन्दा बढी समय लगाउने गर्दछ । सामान्यतया मेसिनले धान वा गहुँ काटिसकेपछि केलाउन र सुकाउन पर्छ । तर कम्वाइन हार्वेस्टरले काटेको धान र गहुँमा भूषा नरहने भएकाले सिधै भण्डारण गर्न सकिन्छ ।