कराते खेलाडीको बिदाइ, सिंहद्धारा आर्थिक सहयोग  

शुक्रबार भदौ ६, २०८२/ Friday 08-22-25
Paschim Today

धनगढी, ५ भदौ ।
२३औँ एशियाली क्याडेट, जुनियर तथा अण्डर २१ कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न कराते खेलाडी मनिषा कुमारी बोहरा धनगढीबाट प्रस्थान गरेकी छन् ।

चीनको शाओगुआन शहरमा सेप्टेम्बर ५ देखि ७ तारेखसम्म हुन लागेको च्याम्पियनसीपमा नेपालका तर्फबाट छनौट भएकी सुदूर पश्चिमकी बोहराको आज धनगढीमा विदाइ गरियो ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषदमा आयोजित विदाइ कार्यक्रममा परिषदका सदस्य सचिव लोक बहादुर खड्काले खेलाडी बोहरालाई सुदूरपश्चिम प्रदेश कराते महासंघका तर्फबाट उपलब्ध गराइएको  १ लाख ५० हजार रुपैयाको चेक हस्तान्तरण गरे ।

सो अवसरमा सुदूरपश्चिम प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष तथा नेपाल कराते महासंघका केन्द्रीय सदस्य गजेन्द्र साँवद, कैलाली जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख आश्रम केसी, नेपाल कराते महासंघको केन्द्रीय रेफ्री कमिसनका सदस्य, अन्तर्राष्ट्रिय रेफ्री प्रकाश कुमार चन्द, अन्तर्राष्ट्रिय निर्णायक तथा कराते प्रशिक्षक हिक्मत गुरुङ, अन्तर्राष्ट्रिय निर्णायक तथा कराते प्रशिक्षक केशव बडुवाल, कराते प्रशिक्षक भरत हमाल, बैतडी जिल्ला कराते महासंघका अध्यक्ष राज बहादुर कार्की, सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका निवर्तमान सदस्य प्रकास बिक लगायत सुदूरपश्चिम प्रदेश खेलकुद परिषदमा कार्यरत बिभिन्न खेलका प्रशिक्षकहरुको उपस्थिति रहेको थियो ।

आयोजक संस्था सुदूरपश्चिम प्रदेश कराते महासंघका अध्यक्ष त्रैलोक्यनाथ पाण्डेयका अनुसार खेलाडी बोहरालाई प्रदान गरिएको १ लाख ५० हजार रुपैया हाल अमेरिकामा बस्नुहुने कराते तथा किक बक्सिङ खेलका पुर्व अन्तर्राष्ट्रिय खेलाडी, ८औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिताको कराते तर्फका पदक बिजेता तथा नेपाल कराते महासंघका केन्द्रीय उपाध्यक्ष मकेन्द्र बहादुर सिंहले उपलब्ध गराएका थिए । बिभिन्न अवसरमा खेलाडीहरुलाई सहयोग गर्दै आएका सिंहले यस प्रतियोगितामा सहभागी हुन गईहेका सशस्त्र प्रहरी बलको एपीएफ क्लवका करातेका खेलाडी प्रदिप बैजाली मगरलाई पनि ५० हजार रुपैया नगद सहयोग गरेका छन् । 

नेपाली राष्ट्रिय कराते टोलीका मुख्य प्रशिक्षक कुशल श्रेष्ठका अनुसार यस प्रतियोगितामा नेपालका तर्फबाट प्रदिप र मनिषा लगायत ९ खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन् ।

प्रदीपले २०२३ मा काठमाडौँमा सम्पन्न ७औँ दक्षिण एशियाली कराते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै १ स्वर्णपदक र २०२५ मा श्रीलंकामा सम्पन्न ९औँ दक्षिण एशियाली कराते प्रतियोगितामा २ स्वर्णपदक र १ रजतपदक जितेका । त्यसैगरी मनिषाले भुटानमा २०२४ मा सम्पन्न भएको ८औँ दक्षिण एशियाली कराते प्रतियोगितामा १ स्वर्णपदक र ९औँ दक्षिण एशियाली कराते प्रतियोगितामा १ स्वर्ण पदक जितेकी थिइन्  ि