Close This

सत्ता गठबन्धनमा सुदूरको तरङ्ग : माधवको ‘मुभ’मा ओलीको आक्रोश

सोमबार बैशाख ३, २०८१/ Monday 04-15-24
Paschim Today

सुदूरपश्चिम प्रदेशको नयाँ सरकार गठनलाई लिएर विभाजित भएको सत्ता गठबन्धनमा थप दरार पैदा हुने देखिएको छ । सुदूरपश्चिम प्रदेशको विकसित घटनाबारे सत्ता गठबन्धनमा सोमबार कुनै सहमतिको प्रयास भएको देखिएन ।

बरु एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकमा एकीकृत समाजवादीमाथि आगो ओकले । एकीकृत समाजवादीले कांग्रेससँग मिलेर सत्ता समीकरण कमजोर बनाउन खोजेको ओलीको आरोप छ ।

एकीकृत समाजवादीले सत्ता समीकरणमा रहेर सुदूरपश्चिममा अराजनीतिक प्रवृत्ति देखाएको ओलीले बताए । ‘हिजोमात्रै, एस भन्ने पार्टी छ एउटा.. कांग्रेसलाई जिताउने हिसाबले समीकरण कमजोर र असफल बनाउने कदम चाल्यो,’ ओलीले भने ।

एकीकृत समाजवादीले कांग्रेससँग मिलेर नाउपालाई सुदूरपश्चिम सरकारको नेतृत्व पहिलो कार्यकाल दिन तयार भएर गठबन्धन कमजोर बनाउन खोजेको प्रस्ट भएको उनले बताए । ‘समीकरणबाट नागरिक उन्मुक्तिलाई समर्थन नगर्ने, कांग्रेस केन्द्रित गठबन्धनबाट समर्थन गर्ने, एकीकृत पार्टीको दक्षिणपन्थी, अवसरवादी चरित्र नाङ्गो ढङ्गले प्रकट भयो,’ ओलीले भने ।

एकीकृत समाजवादीले कम्युनिस्ट बोर्ड राखे पनि विदेशीको हितमा काम गर्ने गरेको भन्दै यसले केही फरक नपर्ने उनको आक्रोश थियो ।

पूर्वसहमति कार्यान्वयन नभएको भन्दै विद्रोह गरेको एकीकृत समाजवादीलाई ओलीको अभिव्यक्तिले थप चिढ्याएको छ । सोमबार अपराह्न बसेको एकीकृत समाजवादीको आन्तरिक बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबाट धोका भएको निष्कर्ष निकालेको छ ।

नयाँ समीकरणमा सहभागी हुँदा प्रचण्ड र ओलीसँग भएको सहमति कार्यान्वयन नभएको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको बिफ्रिङ थियो । प्रचण्ड र ओलीले सहमति पालना नगर्दा सुदूरपश्चिम प्रदेशमा कांग्रेससहितको गठबन्धन बनाउने परिस्थिति निर्माण भएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे बताउँछन् ।

उनले सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी नै मुख्यमन्त्री बन्ने बताए । उनले भने, ‘प्रदेश प्रमुखले बहुमत लिएर पुगेकालाई हिजो नियुक्त दिनुपर्ने हो । दिएनन् । भोलि दिन्छन् होला । रेशम चौधरीको समर्थन वाला (लक्ष्मणकिशोर चौधरी) मान्छे मुख्यमन्त्री हुन्छन् ।’

सुदूरपश्चिम प्रदेशमा बन्ने सत्ता समीकरण अनुसार आगामी रणनीति बन्ने पाण्डेले बताए । ‘सुदूरपश्चिममा जे खालको कुरा हुन्छ, त्यही अनुसार अन्त पनि अगाडि बढ्छ । यसमा कुनै शङ्का छैन,’ उनले भने ।

सत्ता समीकरणबारे एकीकृत समाजवादीले एउटै नीति अख्तियार गर्ने उनको भनाइ छ । ‘देशभरि दुई वटा नीति हुँदैन । एउटै नीति हुन्छ । भोलि सुदूरपश्चिममा जे हुन्छ, सबै ठाउँमा त्यही हुन्छ,’ पाण्डे भन्छन् ।

सुदूरपश्चिम प्रदेश कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले पनि सुदूरपश्चिममा एकीकृत समाजवादीले सुरु गरेको विद्रोहले देशभर नै नयाँ सत्ता समीकरण भत्किने निश्चित भएको दाबी गरेका छन् ।

‘देशलाई नै अस्थिरता र अनिर्णयको बन्दी बनाउनको लागि माओवादी, एमालेसहित दलको नयाँ सत्ता समीकरण बनेको हो । जुन औचित्यहीन छ भन्ने कुराको सुरुवात सुदूरपश्चिमबाट एकीकृत समाजवादीले गरेको छ,’ उनले भने ।