Close This

बझाङमा एमालेको प्रचार प्रसार तीव्र, उम्मेदवार भन्छन्– चुनाव जित्छौँ

मंगलबार बैशाख ४, २०८१/ Tuesday 04-16-24
Paschim Today

कैलाली ।  बझाङमा प्रदेशसभा १ को उपनिर्वाचन नजिकिँदै गर्दा त्यसैको तयारी गर्दै नेकपा एमालेका नेता कार्यकर्ता उम्मेदवार सहित चुनाव प्रचार प्रसारका लागि गाउँ छिरेका छन् ।

निर्वाचनको मिति तोकेपछि निर्वाचनको गतिविधि गर्दै आएको नेकपा एमालेले  दमन भण्डारीले मनोनयन दर्तापछि घरदैलो अभियानलाई तीव्रता दिएको छ ।

नेकपा एमालेले मनोनयन दर्ता गरेपछि चैत २५ गतेबाट नै चुनावी सभाको आयोजना गर्न थालेको छ । एमालेले चैत २५ गतेबाट तलकोट गाउँपालिका देखि सुरु गरेको चुनावी अभियान वैशाख १२ गते थलारा गाउँपालिका–९ को मालुमेलामा गएर टुङ्ग्याउने भएको छ ।

१२ गते थलारा गाउँपालिका–९ का सबै टोलमा घरदैलो, भेटघाट गर्ने जिल्ला कमिटीको निर्णय अनुसार प्रचार प्रसारमा हिँडेको नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले बताए ।

मङ्गलवार सम्म खप्तड छान्ना गाउँपालिकाको १ देखी ७ वटै वडा सम्मको चुनावी प्रचार प्रसार र कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको नेकपा एमाले प्रदेश सचिव रणबहादुर चन्दले जानकारी दिए ।

पार्टीका उम्मेदवार दमन भण्डारीलाई निर्वाचित गराउन केन्द्रीय सदस्य भैरव बहादुर सिह ,अफिलाल ओखेडा ,ऐन महर केन्द्रिय सल्लाहकार परिषद् सदस्य कलक खड्का पार्टी प्रदेश अध्यक्ष कृष्ण जैसी सचिव रण बहादुर चन्द सहित प्रदेश कमिटी सदस्य जिल्ला कमिटी सदस्य सहित नेता कार्यकर्ता अहिले निरन्तर खटिरहेको सचिव चन्दले जानकारी दिए ।

उम्मेदवार भण्डारीले बझाङमा उपनिर्वाचन जित्न सकस नभएको बताएका छन् । उनले बझाङमा एमाले निकै लोकप्रिय भएको र आफूलाई सबैले रुचाएको हुँदा सहजै निर्वाचन जित्ने उनले दाबी गरे । उनले आफूले बझाङको विकासका लागि ठुलो योगदान गर्न सक्ने र त्यो विषयमा मतदाताहरूलाई थाहा भएको हुँदा पनि सजिलै निर्वाचन जित्न सक्ने भण्डारीको भनाइ छ। 

एमाले बाहेकका अन्य दलहरूले पनि अहिले चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन् । बझाङमा उपनिर्वाचनका लागि ११ दलले मनोनयन दर्ता गरेको छ ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री एवं प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन हुँदै छ ।

कांग्रेसको तर्फबाट मृतक सिंहकै जेठा छोरा अभिषेकबहादुर सिंहले उम्मेदवारी दिएका छन् भने सत्तारुढ गठबन्धन आबद्ध दलहरूले पनि प्रदेशसभा उपनिर्वाचनका लागि छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका थिए ।

गठबन्धनको ठूलो दल एमालेका तर्फबाट दमन भण्डारी र माओवादी केन्द्रका जनक बुढाले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनकै अर्को घटक एकीकृत समाजवादीका तर्फबाट दिलबहादुर सिंहले उम्मेदवार भएका छन् ।

यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट किशोर खड्का, राष्ट्रिय मातृभूमि पार्टीबाट विनोद थापा, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र शाही र नेसनल रिपब्लिक पार्टीका तर्फबाट कमल घर्ती मगरको उम्मेदवारी कायम छ ।

जनता समाजवादी पार्टीबाट रामबहादुर जाग्री, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्का र जनमत पार्टीका सुशीला देवी विष्टले पनि प्रदेशसभा उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने छन् ।