Close This

मुख्यमन्त्रीमा सोडारीको सट्टा अर्को अनुहार ल्याउन दबाब

बिहीबार बैशाख ६, २०८१/ Thursday 04-18-24
Paschim Today

सुदूरपश्चिममा मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भए पनि फेरि बखेडा सुरु भएको छ । समाजवादीले मुख्यमन्त्रीमा अघि सारेका संसदीय दलका नेता दीर्घ सोडारीको नाममा एमालेले असन्तुष्टि जनाएपछि गठबन्धनबाट बुधबार मुख्यमन्त्रीमा दाबी पेस हुन सकेन । 

केन्द्रमा गठबन्धनका शीर्ष नेताबीच मंगलबार सुदूरपश्चिम सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो । सो सहमतिपछि संसदीय दलको बैठकले सोडारीलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने सर्वसम्मत निर्णय गरेको थियो । उनी बुधबार बिहान दाबी पेस गर्ने तयारीमा थिए । तर, सोडारीलाई मुख्यमन्त्री बनाउन एमाले नेताहरू सहमत नभएपछि दाबी परेन ।

नेकपा एसकी प्रदेश इन्चार्ज गरिमा शाह, भन्छिन्–

मुख्यमन्त्रीमा कसलाई अघि सार्ने हाम्रो पार्टीको विषय हो । संसदीय दलले निर्णय गरिसकेको छ । यो व्यक्ति भए हुन्छ, नभए हुँदैन भनेर अर्काको पार्टीमा खेल्न र विवाद ल्याउन खोजेको देखिन्छ । अन्य प्रदेशमा हामीले पनि यो व्यक्ति हुँदैन, त्यो ल्याउनुपर्छ भन्यौँ भने के हुन्छ ?

मुख्यमन्त्रीमा दाबी पेस गर्न गठबन्धनका दलहरू दिनभर एमालेलाई पर्खेर बसेका थिए । तर, पार्टी केन्द्रबाट सोडारीलाई समर्थन नगर्न संकेत पाएपछि प्रदेशमा एमाले नेताहरू बुधबार गठबन्धनको छलफलमै गएनन् । पार्टी केन्द्रको निर्देशन नआएको भन्दै एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल सोडारीलाई मुख्यमन्त्री बनाउने सहमतिपत्र दिन तयार भएनन् । सोडारीको नामप्रति पार्टी केन्द्रीय नेतृत्वले नै असहमति जनाएको एमाले नेताहरूले बताएका छन् । स्रोतका अनुसार विगतमा उनी मन्त्री हुँदा विवादित रहेको भन्दै एमालेले नेकपा एसबाट सोडारीबाहेक अन्य जुनसुकै सांसदलाई अघि सार्दा स्वीकार गर्ने बताएको छ । सोडारी र एमाले नेताहरूबीच पार्टी विभाजनका क्रममा तिक्त सम्बन्ध थियो । 

‘सोडारीको नामप्रति पार्टी केन्द्रबाटै असहमति देखिएपछि यहाँ नेताहरूले समर्थन गर्न तयार नभएका हुन्,’ एमालेका एक सांसदले भने, ‘यहाँ विकल्प खोज्नुपर्ने कुरा केन्द्रीय तहमा पनि भएको बुझिएको छ ।’ एमाले प्रदेश सांसद धर्मराज पाठकले यसबारे केन्द्रमै शीर्ष नेताहरूबीच छलफल भइरहेको बताए । ‘केन्द्रमा शीर्ष तहमा यस विषय (सोडारीको नाममा) मा असहमति रहेको भन्ने आएको छ,’ उनले भने, ‘केन्द्रमै केही सहमति बन्ला ।’ 

नेकपा एसले भने व्यक्तिलाई लिएर एमालेले पार्टीभित्र खेल्न खोजेको जनाएको छ । पार्टी प्रदेश इन्चार्ज गरिमा शाहले प्रदेश सरकारको नेतृत्व समाजवादीले गर्ने सहमति भएपछि मुख्यमन्त्रीमा कसलाई अघि सार्ने भन्ने विषय आफ्नो पार्टीको भएको बताइन् । व्यक्तिका विषयमा असहमति जनाएर एमालेले ‘खेल्न खोजेको’ उनको भनाइ छ । ‘मुख्यमन्त्रीमा कसलाई अघि सार्ने हाम्रो पार्टीको विषय हो । संसदीय दलले निर्णय गरिसकेको छ,’ शाहले भनिन्, ‘यो व्यक्ति भए हुन्छ, नभए हुँदैन भनेर अर्काको पार्टीमा खेल्न र विवाद ल्याउन खोजेको देखिन्छ । अन्य प्रदेशमा हामीले पनि यो व्यक्ति हुँदैन, त्यो ल्याउनुपर्छ भन्यौँ भने के हुन्छ ?’ अर्काको पार्टीमा खेल्न खोज्ने प्रवृत्तिले गठबन्धनमा विश्वासको वातावरण बन्न नसक्ने शाहले बताइन् । नेकपा एसको केन्द्रीय सचिवालय बैठकले पनि सुदूरपश्चिमको मुख्यमन्त्रीमा दलका नेता सोडारीलाई अघि सार्ने औपचारिक निर्णय गरिसकेको छ । 

पूर्वसहमतिविपरीत प्रदेशको नेतृत्व नागरिक उन्मुक्ति पार्टीलाई दिने निर्णय भएको भन्दै नेकपा एसले कांग्रेससहितको सहकार्यमा नागरिक उन्मुक्तिका सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा अघि सारेको थियो । एमाले, माओवादीले भने नागरिक उन्मुक्तिकै कैलाश चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेका थिए । प्रदेशमा नेकपा एसले कांग्रेससँग सहकार्य गरेपछि गठबन्धनमा संकट पैदा भएको थियो । प्रदेश प्रमुखले मुख्यमन्त्रीमा पुनः दाबी पेस गर्न बिहीबार बेलुकी ५ बजेसम्मको समय दिएका छन् ।