Close This

एप्पललाई उछिन्दै पहिलो स्थानमा सामसुङ 

बिहीबार बैशाख ६, २०८१/ Thursday 04-18-24
Paschim Today

काठमाडौं: विश्व स्मार्टफोन बजारमा एप्पललाई उछिन्दै सामसुङ स्माटफोन सेल्समा अगाडि आएको छ । सन् २०२४ को पहिलो त्रैमासमा आईफोनलाई उछिन्दै सामसुङ पहिलो स्थानमा आएको हो ।

डेटा रिसर्च कम्पनी ‘आईडीसी’ का अनुसार सन् २०२४ को पहिलो त्रैमासमा विश्व बजारमा सामसुङ ढुवानी २०.८ प्रतिशतसहित पहिलो स्थानमा रहेको छ । तर  एप्पलको बजार हिस्सा १७.३ प्रतिशतमा खुम्चिएको छ ।  आइफोन निर्माता एप्पलले गत वर्षको डिसेम्बर त्रैमासमा सामसुङलाई पछि पार्दै नम्बर वान स्मार्टफोन कम्पनी बन्न सफल भएको थियो ।

ग्यालेक्सी एस २४ को विश्वव्यापी बिक्रीमा गतवर्ष लञ्च भएको ग्यालेक्सी एस २३ को तुलनामा ८ प्रतिशतको वृद्धि देखियो । दक्षिण कोरियाली कम्पनी सामसुङले सन् २०२४ को सुरुवातमै सामसुङ ग्यालेक्सी एस२४ सिरिज लञ्च गरेको थियो । वर्षको पहिलो त्रैमासमै कम्पनीले ६ करोडभन्दा धेरै फोन विश्व बजारमा पठाउन सफल भयो ।

उता वर्षको पहिलो त्रैमासमा एप्पलले भने ५ करोड १ लाख गोटा आइफोन विश्व बजारमा पठाएको छ। गत वर्ष यही अवधिमा आइफोनको शिपमेन्ट ५ करोड ५४ लाख गोटा थियो ।

त्यस्तै एप्पल १७.३, साओमी १४.१, ट्रानसेसन ९.९, अप्पो ८.७ र अन्यको २९.३ प्रतिशत ढुवानी रहेको छन् । पहिलो त्रैमासमा सामसुङले ६०.१ मिलियन स्मार्टफोन युनिट बजारमा ढुवानी गरेको छ । जुन सन् २०२३ को पहिलो त्रैमासभन्दा ०.७ प्रतिशतले कम हो ।

स्मार्टफोन बजारमा एप्पलको ढुवानी गत वर्षको तुलनामा ९.६ प्रतिशतले घटेको जनाइएको छ ।