Close This

उपेन्द्रलाई बर्खास्त गरेर स्वास्थ्यमन्त्रीमा रञ्जितालाई भित्र्याउने प्रधानमन्त्री प्रचण्डको तयारी

शुक्रबार बैशाख २८, २०८१/ Friday 05-10-24
Paschim Today

काठमाडौं, २८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पूनर्गठनको तयारी थालेका छन् । सत्ता गठबन्धनमै रहेको जनता समाजवादी पार्टी, नेपाल विभाजन भएपछिको अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् पूनर्गठन गर्न लागेका हुन् ।

पहिलो चरणमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई समेट्ने प्रधानमन्त्री दाहालको चाहना छ । अहिले उपप्रधान एवम् स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा रहेका उपेन्द्र यादवलाई बर्खास्त गरेर उनको ठाउँमा रञ्जितालाई ल्याउनेगरि दाहालले कसरत गरेका हुन् । यसको लागि उनले प्रमुख सत्ता साझेदार दल नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरिसकेका छन् ।

ओलीले रञ्जितालाई मन्त्रिपरिषद्मा ल्याउँदा आपत्ति नहुने बताएका छन् । जसपा नेपाल विभाजन गरेर गठन भएको जनता समाजवादी पार्टीलाई पनि सरकारमा निरन्तरता दिनेबारे दाहाल र ओलीबीच छलफल भएको छ । जसपाबाट अहिले नवलकिशोर साह सुँडी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा छन् ।

उनलाई निरन्तरता दिने दाहालको तयारी छ । उपेन्द्र यादवले भने आफूहरु सरकारमै रहेको भन्दै आँफै सरकारबाट नबाहिरिने बताइसकेका छन् । तर, उपेन्द्रलाई जतिसक्दो सरकारबाट बाहिर पठाउनको लागि प्रधानमन्त्री दाहालमाथि एमाले नेतृत्वको दबाब छ ।