Close This

न्यूयोर्कमा नेपाल डे परेडमा सुदूरपश्चिम समाजको उत्कृष्ट प्रदर्शन

न्यूयोर्कमा गुञ्जियो डेउडा, गौरा र हुड्केमा रमाए नेपाली

सोमबार जेठ ७, २०८१/ Monday 05-20-24
Paschim Today

न्यूयोर्क, (अमेरिका), ७ जेठ ।

अमेरिकाको न्यूयोर्कमा आयोजित नेपाल डे परेडमा सुदूर पश्चिम समाज न्यूयोर्कले उत्कृष्ट प्रदर्शन गरेको छ ।

गैर आवासीय नेपाली संघ न्यूयोर्क च्याप्टरको मूल आयोजना तथा नेपाली समुदायका बिभिन्न संघसंस्थाको सहकार्यमा न्यूयोर्कमा आईतवार आयोजित नेपाल डे परेडमा बिगतका वर्ष झै यस वर्षपनि सुदूर पश्चिम समाज न्यूयोर्कले उत्कृष्ट प्रदर्शन गरेको हो ।

सुदूर समाज न्यूयोर्कका अध्यक्ष दान सिंह बिष्टले नेपाल डे परेड कार्यक्रममा सुदूरपश्चिमेली समुदायले हरेक बर्ष झैं यस वर्ष पनि गौरा, डेउडा, हुड्के र छलिया लगायतका साँस्कृतिक झाँकीहरु प्रदर्शन गरेको बताए ।

सुदूरपश्चिम समाजका तर्फबाट नेपाल डे परेडमा सुदूरपश्चिमको मौलिक बाजा दाहिना, दमाउ, सनईका साथमा सुदूरपश्चिमेली पोशाकमा गौरा, डेउडा तथा छलिया नाँच प्रदर्शन गरिएको थियो ।

सुदूरपश्चिम समाजले प्रस्तुत गरेको दाहिना, दमाउ, हुड्केली र गौराले सबैलाई आकर्षित गरेको थियो । सबैले रुचि पूर्वक सुदूरपश्चिमका कलाकारको मौलिक प्रस्तुती हेरेका थिए । प्रदर्शनमा सुदूरपश्चिमेलीहरुको उल्लेख सहभागिता रहेको थियो । नेपाल डे परेडमा सुदूरपश्चिमको मौलिक भेषभुषा, गरगहना र पहिरनमा डेउडा खेलिएको थियो ।

न्यूयोर्कको म्यानह्याटनको ३८ स्ट्रीट र म्याडिसन एभिन्युबाट बिहान ११ बजेपछि शुरु भएको परेड कार्यक्रम नेपालका सात वटै प्रदेशको प्रतिनिधित्व हुने गरि विभिन्न जातजाती संस्था र समुदायका संस्कृति झल्काउने विभिन्न पोशाक, झाँकी तथा नृत्यहरु, नेपालको पर्यटन प्रबर्द्धन गर्ने सामग्रीहरु समेत प्रदर्शन गरिएका थिए ।

मूल आयोजक कमिटिले नेपाल डे परेडका लागि सुदूर पश्चिम समाजका तर्फबाट अध्यक्ष दानसिंह बिष्टलाई सुदूर पश्चिम संयोजकको जिम्मेवारी दिएको थियो । सुदूर पश्चिम समाजका बरिष्ठ उपाध्यक्ष नविन ओझाले को कन्भेनरको जिम्मेवारी पाएका थिए । त्यस्तै सुदूर पश्चिम समाज न्यूयोर्कका पूर्व अध्यक्ष गणेश बिष्टलाई नेपाल डे परेडको सल्लाहकारमा चयन गरिएको थियो ।

नेपाल डे परेडमा सुदूर पश्चिमका तर्फबाट उत्कृष्ट प्रदर्शनका लागि समाजका उपाध्यक्ष रैभान महराको संयोजकत्वमा पाँच समन्वय सदस्यीय समिति र झाँकी व्यवस्थापन समिति, समाजका सचिव गणेश बिष्ट बी को संयोजकत्वमा ट्रक व्यवस्थापन समिति र सहकोषाध्यक्ष सुनी गुरुङको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरिएको थियो ।

अमेरिकामा बस्ने नेपाली समुदायले हरेक वर्ष महा उत्सवका रुपमा नेपाल डे परेड मनाउदै आएका छन् । नेपाल डे परेडमा नेपाली समुदायका संस्कृति, परम्परा, भेषभुषा, पहिरन लगायत बिभिन्न बिविधता प्रदर्शन गरिएका थिए ।

सन २०१६ देखि हरेक बर्ष मे महिनाको तेश्रो आईतबार नेपाली पहिचानको रुपमा नेपाल डे परेड कार्यक्रम आयोजना हुँदै आएको छ ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा करिव चार लाखको हाराहारीमा नेपालीहरुको बसोबास रहेको छ । त्यसमध्ये अधिकांश नेपालीहरु न्यूयोर्क राज्यमा बस्ने गरेको विभिन्न तथ्यांकले देखाएको छ ।