Close This

राउण्ड टेवल नेपालद्वारा २ सय २४ जना विद्यार्थीलाई छात्रवृत्ति  प्रदान

बुधबार जेठ २, २०८१/ Wednesday 05-15-24
Paschim Today

कञ्चनपुर ।  राउण्ड टेबल नेपालले आर्थिक अवस्था कमजोर भएका २ सय २४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । कञ्चनपुरका तीन वटा विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका हो । छात्रवृत्ति प्राप्त गर्नेमा पशुपति शिक्षा मन्दिर बेलौरीका १२१ जना रहेका छन् । १ जनाको वार्षिक शुल्क सात हजारका दरले १२१ जनाको शुल्क स्वरूप ८ लाख ४७ हजार रुपैयाँको चेक विद्यालयलाई बुझाएको छ । 

यस्तै पशुपति शिक्षा मन्दिर अम्मर बस्तीमा ६८ जना विद्यार्थीको ४ लाख ७६ हजार र लाल झाडीको पशुपति शिक्षा मन्दिर नौरगांमा ३५ जना बराबर २ लाख ४५ हजार रुपैयाँको चेक धनगढी–अत्तरिया राउण्ड टेबलका अध्यक्ष आदित्य अग्रवाल, संस्थापक अध्यक्ष राहुल वंशल उपाध्यक्ष गौरव अग्रवाल, कोषाध्यक्ष आयुष अग्रवाल र सचिव राज वंशलले एक कार्यक्रमका बिच हस्तान्तरण गरेका छन् ।  

कार्यक्रममा बोल्दै धनगढी–अत्तरिया राउण्ड टेबलका संस्थापक अध्यक्ष समेत रहेका राहुल वंशलले कुनै पनि बालबालिकाले आर्थिक अवस्था कमजोर भएका कारण शिक्षा बाट वञ्चित हुन नपर्ने बताए । उनले राम्रो विद्यालय भवन भएर मात्र राम्रो शिक्षा प्रदान गर्न नसकिने बताए ।

उनले भने ‛राम्रो विद्यालय भवन भएर मात्र राम्रो शिक्षा प्रदान गर्न सकिदैन । यसका लागि विद्यालय भित्र हुनु पर्ने सम्पूर्ण संयन्त्र भवन, शैक्षिक सामाग्री, स्वच्छ खानेपानी अनुशासित विद्यार्थी र जागरूक शिक्षक हुनु पर्छ । तब राम्रो शिक्षा प्रदान गर्न सकिन्छ ।’ वंशजले छात्रवृत्ति प्रदान गरेका विद्यालयले विद्यार्थीको शैक्षिक अवस्थामा वृद्धि विकास गरे आगामी दिनमा पनि राउण्ड टेबलले सहयोग गर्ने बताए । 

विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेपछि विद्यालय र अभिभावकहरू खुसी भएका छन्  । पशुपति शिक्षा मन्दिर नौरगांकी विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पार्वती रानाले छात्रवृत्ति प्रदान गरेकोमा खुसी व्यक्त गर्दै विद्यालयको वृद्धि विकासका लागि आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताइन ।  

सरकारले आफ्ना नागरिकका लागि अनिवार्य गर्नु पर्ने  काम संस्थाले गरिदिएको भन्दै लाल झाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले राउण्ड टेवल नेपाललाई धन्यवाद दिए । उनले बदलिँदो समयमा शिक्षा, स्वास्थ्यलाई आधारभूत आवश्यकता रूपमा राखिए पनि सरकारले पूर्ण रूपमा कार्यान्वयन गर्न अझै नसकेको भन्दै दुःख समेत व्यक्त गरे । 

उनले भने ‛राज्यले आफ्ना नागरिकका आधारभूत आवश्यकता परिपूर्ति गर्न सकेको छैन । जुन काम राउण्ड टेवल जस्ता विभिन्न संस्थाहरूले गरी रहनु भएको छ । अब हामी स्थानीय सरकार पनि तपाइहरू सँगै हातेमालो गरेर जाने छौ । ’ 

राउण्ड टेबल नेपाल कस्तो संस्था हो ?

राउण्ड टेवल एक अन्तर्राष्ट्रिय सङ्गठन हो । जसले नेपालमा राउण्ड टेवल नेपालका रूपमा काम गरी रहेको छ ।  नेपालमा हाल यसका ५ सय ५० भन्दा बढी सदस्यहरू रहेका छन् भने अहिले देशै  भरि यो संस्थाले काम गरी रहेको छ । यसले खासगरि बालबालिकाको शिक्षाका क्षेत्रमा काम गर्छ । विद्यार्थीलाई प्रदान गरिएको शिक्षाको गुणस्तर सुधारका साथै विद्यालयको पूर्वाधारको गुणस्तरमा  विशेष जोड दिने गर्दछ ।

यसका लागि संस्थाले “राउण्ड टेबल नेपाल मोडेल स्कुल“ को अवधारणा ल्याएको छ । जहाँ लगभग ६० भन्दा बढी विद्यालयमा ४ सय कक्षा कोठाहरू निर्माण गरेको छ ।  पछिल्ला समय यो संस्थाले स्वास्थ्य र वातावरणीय क्षेत्रका साथै सामाजिक कार्यमा पनि काम गरी रहेको छ । 

यसै परियोजना मार्फत कैलालीमा पशुपति शिक्षा मन्दिर मोती चोक र धनगढी मा वि अत्तरियामा पनि शैक्षिक वृद्धि विकासको काम गरिरहेको छ । राउण्ड टेबलले विद्यालय छनोट गर्ने क्रममा विपन्नता र विद्यालयको अवस्थालाई मध्यनजर गर्दछ ।