Close This

धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुँदै

मंगलबार जेठ २२, २०८१/ Tuesday 06-04-24
Paschim Today

कैलाली । धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुने भएको छ । चलचित्र विकास बोर्डको आयोजनामा धनगढीमा असार ७ देखि ९ गतेसम्म दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुने भएको हो ।

बालबालिकालाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्न तथा सिने साक्षरता बढाउन धनगढीमा बाल चलचित्र महोत्सव हुन लागेको चलचित्र विकास बोर्डका सदस्य तथा राष्ट्रिय बाल चलचित्र महोत्सवका संयोजक केएल बुढाथोकीले बताए ।

धनगढीका पत्रकारसँग कुराकानी गर्दै उनले भने,‘महोत्सवले बालबालिकालाई सिनेमामार्फत उनीहरुको सोच, विचार, व्यवहार, भावना र धारणामा परिष्कार ल्याउनुका साथै उनीहरुको मनोरञ्जनको अधिकार प्रवद्र्धनमा टेवा पुग्ने छ ।’ महोत्सवमा बाल चलचित्र प्रदर्शन, मेरो कथा मेरो चलचित्र कार्यशाला गोष्ठी गरिने बताइएको छ ।

यस्तै बोर्डका अध्यक्ष तथा सिने जगतका सुपर स्टार भुवन केसी आउने कार्यक्रममा बालबालिकासँग भुवन केसी संवाद कार्यक्रम, चलचित्रमा बालबालिकाका कथा अन्तरक्रिया कार्यक्रम र फोटो तथा पुस्तक प्रदर्शनी गरिने कार्यक्रम संयोजक बुढाथोकीले बताए । महोत्सवमा बालबालिका तथा बयस्कहरुले निर्माण गरेको बाल चलचित्रहरूको प्रदर्शनी तथा प्रतिस्पर्धा गरिनुका साथै स्थानीय कला संस्कृति झल्कने झाँकी, सांस्कृतिक कार्यक्रम तथा सांगीतिक प्रस्तुति पनि गरिने भएको छ ।