प्रहरी अधिकारबिना प्रदेश सरकार अपाङ्ग छ : मुख्यमन्त्री भट्ट
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रहरीसम्बन्धी अधिकार प्रदेश सरकारलाई नहुँदा प्रदेश सरकार अपाङ्गसरह भएको बताएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा आयोजित ७१औँ प्रहरी दिवसका अवसरमा बोल्दै मुख्यमन्त्री भट्टले संविधानले व्यवस्था गरेको अधिकार कार्यान्वयन गर्दै प्रहरीसम्बन्धी अधिकार पनि प्रदेश तहमा हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
मुख्यमन्त्री भट्टले प्रहरीसम्बन्धी अधिकार प्रदेश सरकारलाई नहुँदा प्रदेशको शान्तिसुरक्षा र अपराध नियन्त्रणमा अपेक्षित भूमिका निर्वाह गर्न कठिनाइ भइरहेको बताए । ‘प्रहरीसम्बन्धी अधिकार नभएकाले प्रदेश सरकार अपाङ्गसरह भएको छ । संविधानले दिएको अधिकार कार्यान्वयन हुनुपर्छ,’ उनले भने । प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री भट्टले प्रहरीलाई व्यावसायिक, दक्ष र प्रविधिमैत्री बनाउनुपर्ने बताए । प्रहरी संगठनमा सुधार हुँदै गएको उल्लेख गर्दै उनले अनुसन्धान क्षमतालाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखे । न्यायपूर्ण समाज निर्माण र नागरिकलाई सुरक्षाको अनुभूति गराउन नेपाल प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले निर्मला पन्तको हत्याका दोषी अझै पक्राउ नपर्नु दुःखद भएको बताए ।
‘प्रहरी दक्ष हुँदाहुँदै पनि निर्मला पन्तको घटनाले पूर्णता नपाउनु दुःखद हो । उक्त घटनाका दोषी पत्ता लाग्नुपर्छ,’ उनले भने । यस्ता घटना दोहोरिन नदिन प्रदेश सरकार प्रहरीसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो । पछिल्लो समय साइबर अपराध, सामाजिक सञ्जालको दुरुपयोग र अनलाइन ठगीका घटना बढिरहेको उल्लेख गर्दै उनले लागूऔषधले युवाको जीवन बर्बाद गरिरहेको बताए । खुला सीमाका कारण हुने आपराधिक गतिविधि नियन्त्रण गर्नु पनि प्रहरीको महत्वपूर्ण दायित्व भएको उनले बताए ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम थारूले प्रहरी वीरताको प्रतीक भएको बताए । कानुनी राज्यको अनुभूति गराउने, दण्डहीनता रोक्ने र सुशासन कायम गर्ने कार्यमा प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो । प्रहरीकै कारण नागरिकले शान्ति र सुरक्षाको अनुभूति गर्न पाएको उल्लेख गर्दै उनले विश्वमा नेपाल प्रहरीको छवि राम्रो रहेको बताए । प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न उनले आग्रह गरे ।






तपाईको प्रतिक्रिया