Close This

श्रीलङ्कासँगको खेललाई लिएर उत्साहित छाैँ : राेहित पाैडेल

मंगलबार जेठ २९, २०८१/ Tuesday 06-11-24
Paschim Today

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी टी–२० विश्वकपअन्तर्गत श्रीलङ्कासँगको समूह चरणको खेललाई लिएर उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।

खेलअघिको पूर्वसन्धयामा आयोजित पत्रकार सम्मेलनमा कप्तान पौडेलले श्रीलङ्कालाई हराउने अवसर नेपालसामु रहेकाले त्यहीअनुसार खेल्ने रणनीति बनाएको बताए । यो खेलमा १ सय ४० रनसम्मको योगफल बनाउने टोलीले जित हात पार्ने कप्तान पौडेलको भनाइ छ ।

यस्तै उनले टोलीमा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताए । वेस्ट इन्डिजको पिच स्पिनर बलरका लागि धेरै नै राम्रो रहेको र ‘विकेटटेकर’ बलर लामिछाने टोलीमा भित्रिएकाले उनको अनुभव र उत्कृष्टतामा नेपाललाई झनै खेल जित्ने अवसर हुने पौडेलले उल्लेख गरे । अमेरिका जान नपाएका सन्दीपले वेस्ट इन्डिजमा हुने समूह चरणको दुई वटा खेल खेल्ने भएका छन् ।

टी–२० विश्वकपमा नेपाल र श्रीलङ्काबीचको खेल भोलि बिहान सवा ५ बजे अमेरिकाको फ्लोरिडामा शुरु हुनेछ । विश्वकपको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।