राहतको आस र बाढीको त्रास बोकेर घर फर्किँदै विस्थापित

बुधबार असार २६, २०८१/ Wednesday 07-10-24
Paschim Today

कैलाली । लगातारको वर्षापछि आएको बाढीले विस्थापित कैलाली र कञ्चनपुरका बाढी प्रभावित स्थानीय क्रमिक रुपमा घर फर्किरहेका छन् । सबैभन्दा बढी क्षति र नोक्सान भएको कञ्चनपुरमा धेरै प्रभावित घर फर्किसकेका छन् ।

धेरैजसो हिजै र अरू विस्थापितहरू आज घर फर्केको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीका अनुसार अहिलेसम्म तीन हजार ४०० बढी स्थानीय घर गइसकेका छन् । तर, उनीहरुमध्ये अधिकांशको घर आंशिक र केहीको पूर्ण क्षति भएको छ ।

दोधारा चाँदनी, बेल्डाडी, बेदकोट नगरपालिकालगायत क्षेत्रका बस्ती डुबानमा परेपछि अन्यत्र सरेकाहरू घर फर्कने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

‘मनमा बाढीको त्रास बोकेरै भए पनि अत्यधिक मानिस घर फर्किसकेका छन् । अझै फर्किने क्रम जारी छ’, डीएसपी जोशीले भने ।

उनका अनुसार अझै पनि एक हजार ७०० बढी विस्थापित घर जान सकेका छैनन् । दोधारा चाँदनी नगरपालिकाका पीडितहरू अम्बिका माध्यमिक विद्यालयमा बसिरहेका छन् । भीमदत्त नगरपालिका- १२ ऐरीस्थित वडा कार्यालय भवन र वडा नम्बर १८ सालघारीस्थित मदन भण्डारी आधारभूत विद्यालयमा आश्रय लिइरहेका छन् ।

मदन भण्डारी आधारभूत विद्यालयमा १३०, वडा कार्यालयमा १०० र महेन्द्रनगर माविमा ६० जना पीडितले आश्रय लिएका छन् ।

कञ्चनपुरको भीमदत्त, दोधारा चाँदनी, पुनर्वास, वेदकोट नगरपालिकालगायतमा महाकाली, चौधर र दोदा नदीको बाढीले डुबान गरेको थियो । डुबान भएपछि विस्थापितहरूलाई उद्योग वाणिज्य संघ कञ्चनपुरले खाद्यान्न राहत उपलब्ध गराएको थियो । यसैगरी निड्स नामक संस्थाले मेस चलाएर विस्थापितहरूलाई खाना खुवाएको छ ।

यता कैलालीका बाढी प्रभावित पनि घर फर्कने क्रम सुरु भएको छ । आज केही परिवार घर फर्केको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उनले १५१ परिवार घर फर्किसकेको जानकारी दिए । उनका अनुसार अझै ८८ परिवार विस्थापित छन् । घर फर्किएकाहरूमा पनि बाढीको त्रास नरोकिएको जोशीको भनाइ छ ।

घर फर्किएकाहरूले अझै पनि राहतको आस गरिरहेका छन् । तर, सरकारी निकायबाट उनीहरुले राहत पाउन नसकेको गुनासो गरिरहेका छन् ।

‘अधिकांश घर फर्किरहनु भएको छ, तर जोखिम सकियो भन्न सकिँदैन’, उनी भन्छन्, ‘त्रास लिएरै भए पनि घर फर्किरहनु भएको छ । फेरि मौसम खराब भए उहाँहरूलाई सुरक्षित स्थानमा राखिन्छ ।’

शुक्रबारदेखिको अविरल वर्षाले कैलालीको तराई क्षेत्र जलमग्न भएको थियो । घर डुबेपछि मानिसहरूले सडक, सुरक्षित भवनमा आश्रय लिएका थिए ।