प्रहरी प्रमुखमा नियुक्त मनोज केसी को हुन् ?
काठमाडौँ — प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर सरकारले नेतृत्व दिएका एआईजी मनोज केसी प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको नेतृत्वमा थिए। ५ असोज २०८२ मा सरकारले उनलाई प्रहरीको प्रदेश समन्वय विभागबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गरेको थियो। त्यहाँबाट उनी अपराध अनुसन्धान विभागमा पुगेका थिए।
दानबहादुर कार्कीको आईजीपी नियुक्तिका बेला कार्कीसहित एआईजीहरू राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह महानिरीक्षकका लागि प्रतिस्पर्धामा थिए। कार्की, अधिकारी र केसी चैत २०५४ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृत हुन्। अर्थात् उनी कार्कीकै सहकर्मी र ब्याचका हुन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहँदा केसीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका थिए। लामो समयदेखि अलपत्र रहेको शरणार्थी प्रकरणको जाहेरी अघि बढाएर केसीले १२ चैत २०७९ मा यो प्रकरणका तीन आरोपीलाई समातेका थिए। नेपाली युवालाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका सदस्य केशव दुलाल, टंक गुरुङ र सानु भण्डारीलाई पक्राउ गरेपछि यो प्रकरणमा अनुसन्धान अघि बढेको थियो।
पछि यो प्रकरणमा संगठित अपराधको कसुरअन्तर्गत अनुसन्धान भयो र पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत पक्राउ परेका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणताका केसी एसएसपी थिए। उनकै नेतृत्वको टोली कांग्रेस नेता बालकृष्ण खाँडलाई पक्राउ गर्न उनको निवास पुगेको थियो।
त्यही कारण कांग्रेस नेतृत्व उनीसँग रुष्ट थियो भने सरकारमा कांग्रेस रहेसम्म उनले महत्त्वपूर्ण पोस्टिङ पाएका थिएनन्। भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान सुरु भएको बेला ४ भदौ २०८० मा तत्कालिन सरकारले उनलाइ जिम्मेवारीबाट हटाएको थियो ।






तपाईको प्रतिक्रिया