डेनमार्कमा नेपाली सांस्कृतिक केन्द्र स्थापना गरिने

बुधबार असार २६, २०८१/ Wednesday 07-10-24
Paschim Today

डेनमार्क, २५ असार ।

प्रवासमा नेपाली, भाषा, धर्म, संस्कृति परम्परा जगेर्ना तथा भाईचारा र एकताका लागि डेनमार्कमा रहेका नेपालीहरु सांस्कृतिक केन्द्र स्थापना गर्ने निष्कर्षमा पुगेका छन् ।

झण्डै एक वर्षको अध्ययन र छलफलपछि डेनमार्कमा रहेका सामाजिक अभियन्ताहरु नेपाली सांस्कृतिक केन्द्र स्थापना गर्ने निष्कर्षमा पुगेका हुन् । नेपाली सांस्कृतिक केन्द्रको आवश्यकता, यसको लागत, स्थापनापछिका चुनौती, अन्य देशमा रहेका सांस्कृतिक केन्द्रहरुको अनुभव, त्यसको सञ्चालन बिधि लगायतका विषयमा गरिएको लामो छलफलपछि डेनमार्कमा रहेका सामाजिक अभियन्ताहरु सांस्कृतिक केन्द्र स्थापना भएको निष्कर्षमा पुगेका हुन् ।

उनीहरुले लामो छलफल र अध्ययनपछि तयार गरिएको प्रतिबेदन अगष्ट २०२३ मा डेनमार्कको नेपाली दूतावासलाई बुझाएका थिए । सांस्कृतिक केन्द्र स्थापनाका सम्बन्धममा दुई चरणमा गरिएको छलफलको दोस्रो चरणमा डेनमार्कमा भएका एनआरएन लगायत २२ वटा संघ संस्थाहरूसँग अगष्ट २०२३ देखि जनवरी २०२४ सम्म प्रत्येक साताको शनिवार छलफल गरिएको थियो । सांस्कृतिक केन्द्र स्थापना गर्ने निष्कर्षलाई मूर्त रुप दिन हाल पनि प्रत्येश साताको शुक्रवार छलफल छलफल गर्ने गरिएको छ ।

डेनमार्कमा रहेका नेपाली अगुवाहरुसंग नेपाली सांस्कृतिक केन्द्रको स्थापनाको महत्व बुझाउन र त्यसका लागि राय सुझाव संकलन गर्न ‘बटम टु टप’ अवधारणा प्रयोग गरेका थियौ, सांस्कृतिक केन्द्र स्थापनाका लागि थालिएको अभियानका एक अगुवाले भन्छन्, त्यसक्रममा हामीलाई सबैले डेनमार्कमा नेपाली सांस्कृतिक केन्द्र स्थापना आवश्यक भएको सुझाव मात्र दिएनन, त्यसको स्थापनाका लागि आवश्यक सहयोग गर्ने समेत प्रतिबद्धता गर्नुभयो ।

दुबै चरणका छलफल र अध्ययनपछि हामी सांस्कृतिक केन्द्र स्थापना गर्ने निष्कर्षमा पुगेका हौ, उनले भने, सांस्कृतिक केन्द्र स्थापनाका लागि हामी चाँडै बृहद भेला आयोजना गर्दैछौ । र, त्यही भेलाबाट विज्ञहरू सम्मिलित टिम बनाउने छौ । जसले नेपाली सांस्कृतिक केन्द्रको निर्माण गर्नेछ ।

डेनमार्कमा प्रत्येक वर्ष बढ्दै गएको नेपालीहरुको उपस्थितिलाई मध्यनजर गर्दै नेपाली भाषा, धर्म, संस्कृतिहरुको जगेर्ना, संरक्षण र आपसी भाईचारा र एकताका लागि सांस्कृतिक केन्द्र स्थापना आवश्यक भएको निष्कर्षमा पुगेको उनले बताए ।

नेपाल बाहिर नेपालीहरुलाई नेपालसंग जोड्ने एउटा माध्यमको आवश्यकता महशुस ग¥यौ । जसले नेपालीको पहिचान जोगाउन भूमिका निर्बाह गरोस । नानी बाबुहरुलाई आफ्नो भाषा र देशसंग जोडोस । र, सबैलाई नेपाली हुनुको गर्व गरोस । उनले भने, सांस्कृतिक केन्द्रको स्थापनाबाट हामीले त्यो सबै कुरा संभव हुने ठान्यौ ।

सांस्कृतिक केन्द्र स्थापनामा डेनमार्कमा रहेका सबै नेपालीहरूको साथ र सहयोग प्राप्त हुने उनले विश्वास व्यक्त गरे । सांस्कृतिक केन्द्र स्थापनाका हरेक निर्णय र कार्यहरु पारदर्शी हुनेछन्, उनले भने, त्यसका बारेमा हामी सामाजिक सञ्जाल र भेला मार्फत क्रमशः सबैलाई जानकारी दिने छौ ।

उनले सामाजिक केन्द्रका सम्बन्धमा कसैका कुनै सुझाव, सल्लाह र प्रतिक्रिया भए ईमेल ([email protected]) र नेपाली सांस्कृतिक केन्द्रको फेसबुक मेसेन्जर मार्फत दिन आग्रह गरे ।