सुदूरपश्चिमका स्वास्थ्य मन्त्री भाट बाढी प्रभावित क्षेत्रमा, सङ्क्रामक रोग फैलिन नदिन स्वास्थ्य सामाग्री हस्तान्तरण
धनगढी । सुदूरपश्चिम प्रदेशका स्वास्थ्य महिला तथा बालबालिका मन्त्री ओमविक्रम भाट सरलले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । २३ र २४ असारको वर्षासँगको बाढी र डुबानमा परेका कञ्चनपुरका पाँच स्थानीय तहमा शनिबार स्थलगत निरीक्षण गर्दै मन्त्री भाटले प्रभावितहरूलाई औषध लगायतका स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरेका हुन् ।
भाटले पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका, बेलडाँडी गाउँपालिका र दोधारा चाँदनी नगरपालिका क्षेत्रको प्रभावित क्षेत्रको अनुगमन निरीक्षण गरेको उनको सचिवालयले जनाएको छ ।
बाढी तथा डुबान प्रभावित क्षेत्रमा फैलिन सक्ने सङ्क्रामक रोगको उपचार तथा रोकथामका लागि स्वास्थ्य कार्यालय कञ्चनपुरको समन्वयमा औषधी, विभिन्न कीट र अन्य स्वास्थ्य सामाग्री पनि हस्तान्तरण गरिएको छ ।
मन्त्रीको सचिवालयकाअनुसार प्रभावित क्षेत्रका स्थानीय तहका स्वास्थ्य शाखालाई औषधी र स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै मन्त्री भाटले बाढी तथा डुबानबाट प्रभावित भएका, प्रकोपजन्य रोग फैलिन सक्ने क्षेत्रको पहिचान गरि आवश्यकताका आधारमा वितरण गर्न निर्देशन दिएका छन् ।
‘बाढी र डुबानले प्रभावित भएको क्षेत्रमा सङ्क्रामक रोग नफैलियोस्, फैलिए पनि समयमै रोकथाम होस् भन्ने उद्देश्यले हामीले औषधी र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छौँ’ ,मन्त्री भाटले भने, ‘अहिले अति आवश्यक सामाग्री दिइएको छ । थप आवश्यक परेमा स्थानीय तहको मागका आधारमा वितरण गर्छौँ ।’
उनले स्थलगत निरीक्षणका क्रममा दोधारा चाँदनी नगरपालिकाको वडा नम्बर ३, ६, ८ र १०, बेलडाँडी गाउँपालिकाको वडा नम्बर ५ सबैभन्दा बढि प्रभावित भएको पाइएको बताए ।
यी ठाउँमा बाढी र डुबानबाट विस्थापितहरूलाई क्षतिका आधारमा प्रदेश सरकारले राहत वितरण गर्ने उनले बताए । मन्त्रालयले यी बाहेकका बाढी र डुबान प्रभावित क्षेत्रमा समेत स्वास्थ्य सामाग्री र औषधी वितरण गर्ने योजना रहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया