आईफोनमा गुगल क्रोम प्रयोग नगर्नुहोस्: एप्पल

शनिबार श्रावण ५, २०८१/ Saturday 07-20-24
Paschim Today

काठमाडौं । आईफोनमा ब्राउजरका विभिन्न विकल्प छन् । तर धेरै प्रयोगकर्ताले कि त क्रोम चलाउँछन् या त सफारी । अहिले ब्राउजरलाई नै लिएर एप्पल र गुगलको सम्बन्धमा दरार आएको बताइन्छ ।

एप्पलले हालै सार्वजनिक गरेको नयाँ विज्ञापनले यस कुरालाई पुष्टि गर्न बल पुग्छ । विज्ञापनमा अन्य ब्राउजर चलाउँदा निगरानी हुने, तर सफारी चलाउँदा पूर्ण गोप्य हुने आईफोनले देखाएको छ । यस ​विज्ञापनमार्फत एप्पलले अप्रत्यक्ष रूपमा ​आफ्ना करिब डेढ अर्ब आईफोन प्रयोगकर्तालाई क्रोम प्रयोग नगर्न आग्रह गरेको छ । 

 

 

यो विज्ञापनले एप्पल र गुगल बीचको ब्राउजर युद्धलाई थप तताएको छ। विज्ञापनमा ठ्याक्कै क्रोम नचलाउन नभनिए पनि एप्पलले गुगलको ब्राउजर गोप्य छैन भन्न खोजेको छ । अहिले कुल आईफोन प्रयोगकर्तामध्ये ३० प्रतिशतले क्रोमलाई डिफल्ट ब्राउजर बनाएको बताइन्छ । गुगल थप सफारी प्रयोगकर्ता‍लाई क्रोममा परिवर्तन गराउने मिसनमा छ ।

एप्पलको विज्ञापन अभियानले सफारीलाई प्रोत्साहन दिन केन्द्रित गरेको छ, जसले क्रोमको गोपनीयता समस्यालाई उजागर गर्छ । गुगलले क्रोमको ट्र्याकिङ कुकीहरू र प्राइभेसी मोडलाई कम गोपनीय बनाएको एप्पलको आरोप छ ।

केही समयअघि क्रोमको इन्कग्निटो मोड समेत गोप्य नरहेको खुलेको थियो । यसका साथै ब्राउजरमा कुकिज ट्रयाक गर्न गुगल केन्द्रित भइरहेको देखिन्छ । किनकि ब्राउजरमा सिधै थर्ड पार्टी कुकिज एसेप्ट गर्न भनेर पपअप मेसेज आउने गर्छ । 

अर्कोतर्फ सफारीमा भने क्रस साइट ट्रयाकिङ डिफल्टमा रोकिएको छ । यसका साथै आईपी एड्रेस समेत लुकाउन सकिन्छ । यिनै कारण एप्पलले विज्ञापनमार्फत अप्रत्यक्ष रुपमा क्रोम नचलाउन प्रयोगकर्तालाई सहज गराएको हो । ​एप्पलको नयाँ 'Private Browsing 2.0' अपडेट सफारीको गोपनीयता सुधारमा थप केन्द्रित भएको विश्लेषण गरिएको छ ।