पेरिस ओलम्पिकको उद्घाटन समारोहमा लेडी गागाले सांगीतिक प्रस्तुति दिने

बिहीबार श्रावण १०, २०८१/ Thursday 07-25-24
Paschim Today

काठमाडौं । चर्चित अमेरिकी गायिका तथा अभिनेत्री लेडी गागाले शुक्रबारदेखि फ्रान्सको पेरिसमा सुरु हुने सन् २०२४ को ओलम्पिक खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा सांगीतिक प्रस्तुति दिने भएकी छन् ।

गत साता नै पेरिसमा पुगेकी गागाले समारोहमा प्रस्तुति दिनेबारे विश्व मिडियामा हल्ला सुरु भइसकेको थियो । हलिउड रिपोर्टर म्यागजिनले गागाको प्रस्तुतिलाई लिएर बिहीबार समाचार लेखेको छ ।

‘स्वालो’ गायिकाले अन्य चर्चित गायिका सेलिन डियोन, दुआ लिपा, एरियाना ग्राण्डे, फ्रान्सेली गायक अया नाकामुरा लगायतसँग पेरिसको सेइन नदीमा आयोजना हुने समारोहमा प्रस्तुति दिने जनाइएको छ । धेरै कलाकारको प्रस्तुतिको लाइनअपलाई अहिले गोप्य राखिएको छ ।

ओलम्पिकअघि पेरिसमा गागा र डियोन देखिएपछि अमेरिकाको एनबीसी न्युजले यस्तो अड्कलबाजी गरेको थियो । ‘अ स्टार इज बर्न’ अभिनेत्रीलाई सोमबार फ्रान्सेली राजधानीमा कारबाहिर फ्यानलाई हात हल्लाइरहेको सामाजिक सञ्जाल भिडियोमा देखिएको थियो ।