त्यसपछि गायक भए ध्वज
कैलाली । रेडियो नेपालमा डिक्रादेवि गाइने, नन्दकृष्ण जोशी नरेन्द्रराज रेग्मी लगायतले गाएको देउवा गीत सुन्दा कुनै दिन म पनि यसरी नै गीत आउँछु होला भन्ने कल्पना हुने गरेको थियो ध्वज महरालाई ।
डोटी पूर्व चौकी गाउँपालिका ३ का महराले आफ्नो सपना पुरा गर्न धेरै वर्ष पर्खनु परेन । हुने बिरुवाको चिल्लो पात भने झै बाल्यकालदेखि कै रुचिले होला बिस्तारै उनी गीत सङ्गीत तर्फ केन्द्रित हुन थाले ।
२०५४ सालमा उनले पहिलो पटक गीत रेकर्ड गरे ।
‘अग्रज कलाकारहरूको गीत सुन्दा सुन्दै मलाई पनि गायक बन्ने रुचि बढ्यो । ललित केसी दाइसँग २०५४ सालामा नारायण रायमाझी दाइको स्टुडियोमा पहिलो पटक मैले औपचारिक रुपमा गीत रेकर्ड गराए’ विगत सम्झँदै उनले सुनाए ।
२०५४ सालमा लाल पछौरी बोलको गीत ल्याएका महराले अर्काे गीत सार्वजनिक गर्न झन्डै ६ वर्ष पर्खिएका थिए । पहिले एल्बमका केही गीतमा आफूले शब्द र आवाज दिएका उनले त्यसपछिका ६ वर्ष आफूलाई साङ्गीतिक क्षेत्रमा अझै निखार दिन तर्फ लगाए ।
‘पहिलो एल्बम आएपछि मेरो एउटा रहर पुरा भएको थियो अब सङ्गीत सिकेर अझै राम्रो र अझै धेरै गीत गाउने रहर पलायो ’ उनले भने ‘त्यसपछि म सङ्गीत सिक्न तर्फ लागे । ’
२०५६ सालमा भारतको मुम्बईमा पुगेका उनी उतै केही समय सङ्गीत सिके । २०५७ सालमा नेपाल फर्किएपछि पनि उनलाई गाउन भन्दा सिक्न धेरै रुचि बढ्यो । २०५९ सालदेखि २०६१ सालसम्म साधना कला केन्द्रमा विष्णु अधिकारीसँग थप सिके । आफूमा केही निखारिएको आभास भएपछि उनी २०६१ सालमा काठमाडौँबाट धनगढी फर्किए ।
राष्ट्रिय स्तरमा देउडा गीतलाई एउटा उचाइमा पुर्याउने भूमिका खेलेका वरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मीले त्यो बेला धनगढीमा सङ्गीत सौगात स्टुडियो चलाएका थिए । महरा धनगढी पुगेपछि केही समय त्यहाँ रहे । त्यसपछि २०६१ सालमा उनले धनगढीबाटै ‘फर्की आइजा घर’ बोलको गीत ल्याए । भारत जाने नेपालीहरूका पीडा झल्काउने गीत त्यो बेला निकै चर्चामा थियो ।
२०६१ सालदेखि निरन्तर गीत गाइरहेका महराले अहिलेसम्म करिब ४ सय गीत गाइसकेको बताउँछन् । उनलाई आफ्नो गीतले चर्चा पाएको खुसी भन्दा बढि अहिलेका गीतहरूमा मौलिकता हराइरहेकोमा चिन्ता लाग्छ ।
मौलिक गीत भन्दा बढि मौलिकता नभएका गीतहरूले चर्चा पाइरहेको भन्दै अहिले त्यहि कारणले मौलिक गीत गाउने गायकहरू ओझेलमा परिरहेको उनी बताउँछन् ।
‘२ /४ जनाले त राम्रो गरेका छन् । अझै पनि धेरै गायकहरूलाई निकै समस्या ’ उनी भन्छन् ‘हामी मौलिक गीत सङ्गीत जोगिनुपर्छ भनिरहेका छौँ अहिले यहाँ मौलिकता झल्काउने गायकहरू नै जोगिन समस्या भइरहेको छ । ’
पछिल्लो पुस्तामा चक्र बम, टङ्क तिमिल्सेना, रेखा जोशी ,गौरी भट्ट लगायतले धेरै राम्रो गरे पनि अझै धेरै कलाकारहरूलाई निकै समस्या रहेको उनी बताउँछन् ।
उनलाई आफ्नो सृजना मध्ये १० वर्ष पहिलेको ‘चर्न बखरी गई’ अझै पनि उत्कृष्ट लाग्छ । राजेन्द्र शाहले लेखेको आफैले लय दिएको , आफ्नो र टिका पुनको स्वर रहेको उक्त गीत अहिले पनि उनी सुनिरहन्छन् । गैजा डोटी गैजा पनि उनलाई उत्तिकै प्रिय लाग्छ । राजेन्द्र शाहको शब्द रहेको यस गीतमा पनि उनको र देवी घर्तीको स्वर रहेको छ ।
मेला महोत्सवहरूमा मौलिक गीतको राम्रो माग भएपनि आयोजकहरूले त्यस्ता गीत आउने कालाकारहरूलाई ध्यान नदिने गरेको उनी बताउँछन् ।
‘मेरो छोराछोरीहरूले पनि हाम्रा गीतहरू मन पाउँदैनन्। उनीहरु पनि चक्र बमहरूका गीतहरू सुन्न चाहन्छन् ’ उनी भन्छन्, ‘छोराछोरीले पनि कहिले काहीँ अरूले जस्तै गाउन भन्छन् तर, मलाई मौलिक गीत नै प्यारो लाग्छ । ’
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आयोजना हुने महोत्सवमा उनी प्राय नछुट्ने कलाकारमा पर्छन् । भारतका बिभिन्न ठाउँहरूमा पनि उनी पुगेकै छन् । उनलाई अब मौलिक देउडा गीतलाई देशव्यापी बनाउन रहर जागेको छ ।
पुराना मौलिक गीत गाउनेहरूले महोत्सवमा प्रस्तुति दिँदा अन्तिम तिर बसेकाहरूले मज्जाले सुनेर रमाउने गरे पनि आयोजकहरूले भने तताउने र नचाउने कलाकारहरूलाई नै प्राथमिकमा राख्ने गरेको उनलाई चित्त बुझ्दैन ।
बदलियो साङ्गीतिक माहौलका कारण टङ्क तिमिल्सेना र चक्र बम लगायतका गायकहरूको माग दिनप्रतिदिन बढ्दै गइरहेको तर, भुवन दाहाल राजाराम भाट र आफू निकै सम्भावना हुँदा पनि पछि परेको आभास हुन्छ उनलाई ।
‘अहिले मेला महोत्सवबाट कलाकारहरूको लोकप्रियता देखिने गरेको छ । आयोजकहरूले हामी जस्ता मौलिक गीत गाउनेहरूलाई चासो दिनुहुन्छ हामी यसरी नै पछि पर्दै जान्छौ कि जस्तो लाग्छ ’ उनले भने ‘हामी मात्रै पछि परे त केही हुने थिएन मौलिक सङ्गीत नै पछि पर्छ कि भन्ने चिन्ता छ मलाई। ’
पहिलो १५/ २० हजारमा क्यासेट निकाल्ने गरेको स्मरण गर्दै उनी अहिले सङ्गीत बजार पनि निकै महँगो भएको बताउँछन् । महँगीका कारण आर्थिक अभाव झेलिरहेका कालाकारहरू थप समस्यामा परेको उनको बुझाइ छ ।
‘हामीले राम्रो कलाकार खेलाउनुपर्छ त्यति बजेट हुँदैन । ४/५ लाख लगानी गरे गीत चलेन भन हामी डुब्छौं ’ उनले भने ‘यहि कारणले पनि पुराना कलाकारहरू पछि परेको जस्तो लाग्छ ।’
धनगढी उपमहानगरपालिका ७ मनेहरामा बसोबास गरिरहेका उनी अहिले पनि गीत सङ्गीतकै केन्द्रित छन् । प्राय अरू कै शब्दमा सङ्गीत र स्वर दिने गरेका महरा अहिले मौलिक देउडालाई पहिचान बुझाउनु पर्नेमा लागेका छन् ।
पछिल्लो समय प्रविधिमा भएको विकासले कलाकारहरूलाई सहज भएको महराको विश्वास छ । ‘अहिले हामीले गीत गाउनकै लागि काठमाडौँ जानु पर्ने बाध्यता हटेको छ ’ उनले भने ‘अत्तरियामा पनि राम्रा स्टुडियो सञ्चालनमा आएका छन् हामीलाई धेरै फाइदा भएका छन् । ’
तपाईको प्रतिक्रिया