प्रधानमन्त्री ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’ आगामी शुक्रबारदेखि प्रदर्शन हुँदै
काठमाडौं । तेजाव आक्रमणमा परेका पीडितहरूको वास्तविक कथालाई आधार बनाइ तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ भदौ ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
चलचित्र आगामी शुक्रबारदेखि नेपालभर एकैसाथ प्रदर्शनमा आउने भएको हो ।
वीरगञ्जमा आइतबार आयोजित पत्रकार सम्मेलनमा चलचित्रका निर्माता तथा निर्देशक रमित ढुंगानाले चलचित्रको बारेमा जानकारी गराए । निर्देशक ढुंगानाका अनुसार चलचित्रले विशेष गरी तेजाव आक्रमणबाट पीडित भएकाहरुको शारीरिक र मानसिक पीडालाई चित्रण गर्छ ।
उनले चलचित्रमा एसिड आक्रमण गर्नेलाई आजीवन कैदको सजाय र सहज रुपमा एसिड बिक्री वितरणमा रोक हुनुपर्ने माग पनि प्रश्तुत गरिएको बताए । ‘नमेटिने घाउ’ नामक यो चलचित्रले समाजमा चेतना फैलाउने उद्देश्य बोकेको र यसलाई सबैले एक पटक हेर्नैपर्ने निर्देशक ढुंगानाले बताए ।
चलचित्रमा तेजाव आक्रमणमा परेका देशभरका ३३ जना पीडितहरुको कथालाई समेटिएको छ । चलचित्रमा १२५ जना कलाकारको अभिनय रहेको छ ।
जसमा प्रमुख भुमिका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रहरी उपरीक्षक कुमोद ढुंगेल,एसिड पीडित मुस्कान खातुन, प्राप्ति पौडेल, लिजा कोरानी, रोजल थापा, कमल देवकोटा लगायतका व्यक्तिहरूले निर्वाह गरेका छन् ।
३ करोड रुपैयाँको लागतमा निर्माण गरिएको यो चलचित्र ५८ दिनमा तयार पारिएको हो । अभिनेता रमित ढुंगानाले निर्देशन र निर्माण गरेको यस चलचित्रमा शिवम अधिकारीको कथा र पटकथा, निरज कँडेलको छायांकन, बनिश साहको सम्पादन, ओम सुनारको संगीत र किरण ढकालको एक्शन रहेको छ ।
फिल्मलाई पहिलो भागको रुपमा लिन सकिने र यसपछि भाग २ र ३ को समेत तयारी भइरहेको निर्देशक ढुंगानाले बताए ।
तपाईको प्रतिक्रिया