चीनको अवसर त्याग्दै धनगढी फर्किए डा.राजीव
कैलाली । चिनियाँ विद्यार्थी जस्तै सेवा सुविधा र पारिश्रमिक पाइरहेका डा. राजीव चौधरीलाई चीनमा हुँदासम्म कहिले नेपाल फर्किने र आफ्नै भूमिका केही गर्ने भन्दै हुटहुटीले सताइरहन्थ्यो ।
परदेशमा भन्दा स्वदेशमा बस्ने रहरले उनलाई चीनबाट काठमाडौँ हुँदै धनगढी पुर्यायो । चीनको राम्रो अवसर छोडेर उनले अहिले धनगढीकै सरकारी अस्पतालमा सेवा दिइरहेका छन् ।
‘तिमी नेपाल नआऊ, यही काम गर, राम्रो जागिर दिन्छु’, एमबीबीएस सकेर एमडी गर्दै गर्दा उनलाई चिनियाँ प्रोफेसरले भनेका थिए । उनले उक्त अवसर लत्याएर नेपाल फर्किने निधो गरे ।
‘त्यहाँ भएको भए सायद पैसा त राम्रै कमाउन सक्थे होला तर, जन्मभूमिको यो माया, स्नेह र सेवा गर्न अवसर कहिल्यै पाउने थिएन’, विगत सम्झँदै उनले सुनाए ।
२०४२ साल कात्तिक २१ गते धनगढी सेती अस्पतालमा जन्मिएका उनी अहिले आफैं जन्मिएको अस्पतालमा सेवा दिइरहेका छन् ।
चिनियाँ भाषामै पढेर आएका उनलाई अहिले थारु भाषामा बोलेर आफ्नो समुदायका बिरामीहरूको उपचार गर्दा छुट्टै आनन्द आउँछ । थारु समुदायका नागरिकहरू कतिले अझै प्रस्ट नेपाली बोल्न जान्दैनन् । उनीहरुले आफ्नो विरामबारे पनि चिकित्सकलाई राम्रोसँग जानकारी गराउन सक्दैनन् । त्यस्तो बेला आफूले थारु भाषा बोल्दा उनीहरुकाे आधा विराम निको भएको जस्तो लाग्छ उनलाई ।
‘धेरै टाढा टाढाबाट बिरामी भएर आउनुहुन्छ । के भएको हो ? त्यो पनि बुझाउन सक्नुहुन्न । चिकित्सकले थारु बुझ्न समस्या हुने र उहाँहरूलाई नेपालीमा बुझाउन समस्या हुने यस्तो अवस्थामा मैले उहाँहरूसँग थारु भाषामै कुरा गर्दा निकै खुसी हुनुहुन्छ’, उनले अनुभव सुनाए ।
थारु समुदायबाट मास्टर इन सर्जरी गर्ने उनी पहिलो व्यक्ति हुन् ।
रहर पाइलट बन्ने, बने डाक्टर
२०५८ सालमा धनगढीको ऐश्वर्य विद्या निकेतनबाट एसएलसी पास गरेपछि उनलाई पाइलट बन्ने रहर पलाएको थियो । उनी अध्ययन गर्न भारत गए । २०६१ मा प्लस टु सकेर नेपाल आए । २ महिना धनगढी बसे । त्यसपछि पाइलट बन्ने रहरसहित उनी काठमाडौं गए । त्यो बेला पाइलट बन्ने रहरसहित काठमाडौं गएको उनी बताउँछन्, तर ३५ लाख लाग्छ भनेपछि त्यो रकम जोहो गर्न सक्ने अवस्था नभएपछि उनले आफ्नो रहरलाई मनमै मारे ।
उनले रकमको जोहो गर्न नसक्ने भए पनि त्यस विषयमा परिवारलाई भनेका थिएनन् । त्यसपछि उनको ध्यान मेडिकल फिल्डतर्फ मोडियो । नेपालगञ्ज मेडिकलमा १५ लाखमा डाक्टरी पढ्न पाइने जानकारी पाए, तर त्यहाँ पनि उनको मन अडिएन । त्यही बेला उनले चीनमा छात्रवृत्ति पाए । उनलाई त्यो सबैभन्दा सुवर्ण अवसर लाग्यो ।
६ वर्ष अध्ययन गरेर नेपालमा थप एक वर्ष काम गर्ने सर्तमा उनी चीन उडे । त्यहाँ एक वर्ष उनलाई चिनियाँ भाषा सिक्नै लाग्यो ।
‘धेरै कठिन भयो, तर बुझ्दै पढ्दै जाँदा १ वर्षमा राम्रै सकियो । त्यसपछि अर्काे विश्वविद्यालयमा जानुपर्ने भयो । थुप्रै देशका मान्छेहरू आएका थिए । अक्रिकी, जापानी, कोरियाली, रसियाली धेरै थिए, जसमा ८० प्रतिशत अफ्रिकी थिए । युरोपियन र अमेरिकनहरू पनि थिए’, उनले भने ।
चिलिङको छ्याङ्छुङ पुग्दा पनि अध्ययन गर्ने कलेज नभेटेपछि उनलाई प्रहरीले पुर्याइदिएको सम्झना अझै ताजा छ । मेडिकल कलेजमा चिनियाँ भाषामा पढ्ने र नेपालमा अङ्ग्रेजीमा परीक्षा दिनुपर्ने विषयले उनलाई पिरोलेको थियो । त्यसैमाथि फेल भएपछि छात्रवृत्ति रद्द हुने विषयले उनी चिन्तित थिए, तर त्यसो भएन । २०६९ सालमा एमबीबीएस पास गरे ।
‘चीनबाट नेपाल आउँदा हामीलाई फरक व्यवहार गरेको आभास हुने गरेको थियो’, उनी भन्छन्, ‘आफ्नै भूमिमा केही गर्न फर्किँदा पनि सम्मान गर्नेभन्दा अपमानको दृष्टिले हेर्दा मन अमिलो भएको थियो ।’
नेपाल फर्किएपछि उनले वीर अस्पताल, कान्ति बाल अस्पताल र प्रसूति गृहमा काम गरे । उनले नेपालको स्वास्थ्य अवस्थाबारे एक वर्षमै धेरै जानकारी पाएको बताए ।
‘एक वर्षमा जति नेपालको स्वास्थ्य अवस्था बुझ्ने मौका पाएँ । त्यो ५ वर्षसम्म चीनमा मैले अध्ययन गर्दा थाहा नपाएको जस्तो लागेको थियो’, उनले भने, ‘यहाँको रोग त्यहाँ थिए । त्यहाँ स्वास्थ्य पढे, यहाँ स्वास्थ्य बुझें । ’
एक वर्षपछि उनले मेडिकल काउन्सिलको परीक्षा पास गरे । मेडिकल अफिसरको रुपमा काम गरे । त्यसपछि दोस्रो पटक पनि उनले चीनमा अवसर पाए । ‘पहिले सरकारको छात्रवृत्ति पाएर गएको थिएँ, दोस्रो पटक मेरो प्रोफेसरले छात्रवृत्ति दिने भनेपछि म फेरि गएँ’, उनले सुनाए ।
जिलिङ विश्वविद्यालयमा ३ वर्ष मास्टर गरे । उनी कलेजो, स्पिलन, पित्तथैलीलगायतको शल्यक्रियामा केन्द्रित भए । त्यो बेला उनको काम देखेर उनलाई प्रोफेसरले त्यही बस्न आग्रह गरेका थिए । उनी चीनमा बसे मागेअनुसारका सेवा सुविधा दिनेसमेत प्रोफेसरले जानकारी दिएका थिए, तर उनलाई आफ्नै ठाउँ फर्किने चाहना थियो ।
‘कुनै बेला फेरि भेट होला भन्दै प्रोफेसरलाई धन्यवाद दिएर नेपाल फर्किएँ’, उनले भने, ‘आफ्नै देशमा दु:खी गरिबहरूको स्वास्थ्याेपचारमा समर्पित हुने मन थियो मलाई ।’
चीनबाट फर्किएपछि भक्तपुर क्यान्सर अस्पतालमा जोडिए । त्यसपछि पोखराको गण्डकी क्षेत्रीय अस्पतालमा आबद्ध भए डा. राजीव । लुम्बिनी मेडिकल कलेजमा विज्ञापन खुलेको थाहा पाएपछि उनले त्यहाँ जोडिएर डेढ वर्ष सेवा गरे । देवदह मेडिकल कलेज बुटवलमा जनरल सर्जनको जिम्मेवारी पाए । काठमाडौंबाट लुम्बिनी हुँदै बुटवलसम्म पुगेपछि डा. राजीवलाई उनका साथी एमाले युवा नेता नरेन्द्र थापाले सुदूरपश्चिममै आउन आग्रह गरे ।
‘बुटवलसम्म आइसक्नु भयो, अब कैलाली आउनुहोस् । यतै बिरामीको सेवा गर्नुहोला’, थापाले उनलाई भनेका थिए । थापाको प्रस्तावपछि राजीवलाई आफ्नो जन्मभूमिमा काम गर्ने हुटहुटीले सताउन थाल्यो र उनी तुरुन्त धनगढी फर्किए ।
३ महिना उनले एउटा निजी क्लिनिकमा काम गरे । त्यतिबेला नै सेती प्रादेशिक अस्पतालमा विज्ञापन खुलेपछि उनलाई आफू जन्मिएको अस्पतालमा सेवा दिने आशा पलायो ।
‘आफू जन्मिएको अस्पतालमा आफैंले सेवा गर्ने मौका पाउनु मेरो लागि सुनौलो अवसर हो’, उनले भने, ‘त्यसपछि सेती प्रादेशिक अस्पतालमा बिरामीहरूलाई सेवा दिइरहेको छु ।’
२०७८ सालदेखि सेतीमा जोडिएका उनी हरेक दिन यहाँ सरलदेखि जटिलसम्मका शल्यक्रिया गर्छन् । उनी भन्छन्, ‘जटिल अवस्थामा अस्पताल आएर निको भएर जाँदा बिरामीहरुलाई निकै खुसी लाग्दोरहेछ ।’
केही समयअघि कञ्चनपुर बेल्डाडीकी ४२ वर्षकी शकुन्तला चन्द रुखबाट लडेर गम्भीर अवस्थामा अस्पताल पुगेकी थिइन् । उनको कलेजो फुटेको थियो । अवस्था गम्भीर थियो । डा. राजीवले चीनमा सिकेको प्रविधिबाट चन्दको शल्यक्रिया गरे । शल्यक्रिया सफल भयो । एक महिना रेस्टपछि उनी निको भएर घर फर्किइन् ।
‘रुखबाट लडेर कलेजो फुटेर आउनुभएको थियो । आधा घण्टामा पेट पूरै फुलेको थियो । नसासम्म रगत पुगिसकेको थियो । मैले चीनमा गरेको अनुभवको आधारमा शल्यक्रिया गरें’, उनले त्यो पल सम्झँदै भने, ‘मेरो सिकाइले कसैको ज्यान जोगिएपछि आफूले सिकेको कुरामा गर्व लाग्दोरहेछ । भित्रबाटै खुसी पैदा हुनेरहेछ ।’
दार्चुलाबाट कलेजोमा जुँगाको सिस्टले गम्भीर अवस्थामा आएका बिरामीलाई दूरबिनबाट शल्यक्रिया गरेर निको भएको पल सम्झँदै उनी आनन्दित हुन्छन् । चीनको राम्रो अवसर त्यागेर धनगढीमै स्वास्थ्याेपचारमा खटिएका डा. राजीव आफ्नो भूमिभन्दा बाहिर गएर प्रगति गर्नुको कुनै अर्थ नरहने बताउँछन् ।
‘हामीलाई यो भूमिले यहाँ पुर्याएको छ । हामीले केही सिकेर यो भूमिको लागि केही गर्न सक्दैनौं भने हामी ठूलो हुनुको कुनै अर्थ राख्दैन’, उनी भन्छन्, ‘म अब सधैँ यही सेवा गर्न चाहन्छु ।’
तपाईको प्रतिक्रिया