संसदभित्र अराजनीतिक गतिविधि भएको छः एमाले महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय संसदभित्र अराजनीतिक गतिविधि भइरहेको बताएका छन्।
बिहीबार सुर्खेत आएका पोखरेलले विमानस्थलमा पत्रकार सम्मेलन गर्दै सत्ताबाट बाहिरिएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको अशोभनीय अभिव्यक्तिले राजनीतिमा तनावको स्थिति सिर्जना गरेको आरोप लगाए।
उनले सत्ता परिवर्तनपछि प्रतिपक्षको भूमिकामा रहेको माओवादीले संवेदनशिलता र संसदीय मर्यादाको ख्याल नगरेको टिप्पणी गरे।
‘प्रतिपक्षीले श्रीलंका र बंगलादेशको उदाहरण दिँदै हिँड्नु लोकतान्त्रिक हुन सक्दैन, प्रतिपक्षीले लोकतान्त्रिक मूल्यमान्यतामा ध्यान दिनु जरूरी छ,’ उनले भने।
महासचिव पोखरेलले संविधान सुदृढ गर्नका लागि सबै राजनीतिक दललाई साथमा लिएर अगाडि बढ्ने कुरामा एमाले सकारात्मक रहेको बताए।
पछिल्लो समय समानुपातिक प्रणालीका विषयमा शंका गर्दै भ्रम सिर्जना भएको बताउँदै उनले नेकपा एमाले समानुपातिक तथा समावेशितालाई यथावत् राखेर स्थायित्व खोज्ने पक्षमा रहेको स्पष्ट पारे।
‘दुई वटा पार्टी मिले मात्र हुन्छ भन्ने मान्यता पनि हाम्रो होइन, यसमा पनि एक खालको भ्रम सिर्जना गरिएको छ। संविधान निर्माण र सुधारका क्रममा सबै राजनीतिक दललाई सँगसँगै लिनुपर्छ भन्ने पक्षमा एमाले र काँग्रेस छौं,’ पोखरेलले भने।
उनले देशलाई आर्थिक संकटबाट बाहिर निकाल्न उद्यमशिलतालाई जोड दिनुपर्ने र यसका लागि सरकारले काम गरिरहेको बताए।
सरकारले युवाहरूलाई रोजगारीसँग जोड्ने उद्देश्यका साथ बिना धितो ऋण दिने परियोजना अघि बढाएकोले युवाहरू उद्यमशिलतामा आकर्षित हुने विश्वास सरकारले लिएको उनले बताए।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमाले सांसद रेखा शर्माको विषयमा उठाएको कुरालाई पार्टीले निर्णय नगर्ने पनि महासचिव पोखरेलले बताए।
‘एक जना मेयरले आरोप लगाउँदैमा सबै सकिन्छ भन्ने होइन, यसमा अदालत छ, अरू निकाय छन्। उनीहरूले प्रमाणका आधारमा फैसला गर्छन्,’ उनले भने।
काठमाडौं महानगरपालिकाका मेयर बालेनले सांसद शर्माले घरमा बालमजदुर राखेको भन्दै कानुनी दायरामा ल्याउन आग्रहसहितको फेसबुक स्टाटस लेखेका थिए। अहिले यो विषय सामाजिक सञ्जालमा पेचिलो बनेको छ।
तपाईको प्रतिक्रिया