पीएम कप महिला क्रिकेट : सुदूरपश्चिमको लगातार दोस्रो जित
काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेटमा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।
बुधबार धनगढीस्थित फाप्ला मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशलाई ७५ रनले पराजित गर्दै सुदूरपश्चिमले लगातार दोस्रो जित हात पारेको हो ।
सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश १९.१ ओभरमा अलआउट हुँदै ५२ रनमा समेटियो ।
लुम्बिनीका लागि सरस्वती पुनले १४ र कप्तान सरस्वती जिएमले १२ रन जोडे । अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरपश्चिमकी रेवती धामीले ३, आशिका महराले २ तथा कविता कुँवर, ऋतु कनौजिया, करिष्मा थापा र जानकी थापाले समान १-१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँँदै १२७ रनको योगफल तयार पारेको थियो । सुदूरपश्चिमका लागि कविता कुँवरले ५५ र मनिषा बोहराले २३ रन बनाए ।
तपाईको प्रतिक्रिया