अनरले ल्यायो विश्वकै पातलो फोल्डेबल स्मार्टफोन

शनिबार भदौ २२, २०८१/ Saturday 09-07-24
Paschim Today

काठमाडौं । अनरले विश्वकै पातलो फोल्डेबल स्मार्टफोनका रूपमा ‘अनर म्याजिक भी थ्री’ (HONOR Magic V3) सार्वजनिक गरेको छ । जर्मनीमा आयोजित आईएफए २०२४ को अवसर पारी अनरले फोल्डेबल सेगमेन्टको नयाँ सदस्य सार्वजनिक गरेको हो ।

यो फोनलाई कम्पनीले आफ्नो फोल्डेबल प्रविधिमा अर्को ठूलो कदम भनेको छ । कम्पनीका अनुसार पातलो र हलुका हुनाले यो फोनलाई एक हातले सजिलै प्रयोग गर्न सकिन्छ । २६६ ग्राम मात्र तौल रहेको यो फोन फोल्ड गर्दा मोटाइ केवल ९.२ एमएम हुन्छ ।

फोनमा ७.९२ इन्चको ओएलईडी मुख्य डिस्प्ले छ । ठूलो र उच्च रेजोलुसन भएकाले यसले प्रयोगकर्तालाई ट्याब्लेट जस्तो अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । यसबाहेक बाहिरी स्क्रिन ६.४३ इन्चको ओएलईडी रहेको छ, जसले प्रयोगकर्तालाई बिना फोल्डिङ दैनिक काम सहज रूपमा गर्न सघाउँछ । 

 

यस एन्ड्रोइड फोनमा स्यापड्रागन ८ जेन टु प्रोसेसर प्रयोग गरिएको छ भने ६६ वाट वायर्ड र ५० वाट वायरलेस फास्ट चार्जिङ सपोर्टसहित ५१५० एमएएच क्षमताको तेस्रो पुस्ताको सिलिकन-कार्बन ब्याट्री दिइएको छ ।

फोनमा ५० मेगापिक्सलको मुख्य क्यामेरा, ५० मेगापिक्सलको पेरिस्कोप टेलिफोटो लेन्स र ४० मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा सहितको अनर फाल्कन क्यामेरा सिस्टम छ । कम प्रकाशमा पनि उत्कृष्ट प्रदर्शन गर्ने क्यामेराबाट फोरके भिडिओ रेकर्डिङको सुविधासहित प्रयोगकर्ताले आफ्ना मनपर्ने क्षणहरूलाई उच्च गुणस्तरमा क्याप्चर गर्नसक्ने कम्पनीको भनाइ छ । साथै यसमा २० मेगापिक्सलको फ्रन्ट क्यामेरा छ ।

नेपाली बजारमा पनि यो फोन चाँडै नै आउने बताइएको छ ।