प्रचण्डलाई स्पाइडरम्यानको संज्ञा दिँदै ओलीले भने, ‘हिंसा महान थियो भने किन छोडेको त?’

शनिबार भदौ २२, २०८१/ Saturday 09-07-24
Paschim Today

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्षे सशस्त्र संघर्षलाई पुनः हिंसा भन्दै त्यो असफल भएको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौंमा २१औं निजामती दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्र्दै उनले देशमा हिंसा भएको र त्यसलाई केही व्यक्तिहरूले महिमामण्डन गरेर महान भनेको बताए।

‘हाम्रो देशमा हिंसा थियो। त्यसलाई व्यवस्थापन गर्नुपर्यो। केही मान्छेहरुले त्यसलाई महिमामण्डन गरेको सुन्छु,’ उनले भने, ‘त्यस्तो महान थियो भने किन छोडेको त त्यो बाटो? किन आउनुपर्यो शान्ति प्रक्रियामा? त्यस्तो महान जनयुद्धै थियो भने त सफल पार्नुपर्थ्यो।’

उनले जनताको नाममा एकमुठ्ठी मान्छेले आफ्नो रहर लाद्न खोज्दा देशले त्यसलाई अस्वीकार गर्ने बताए।

‘जनयुद्ध हो भने त्यो फेल हुँदैन। जनआन्दोलन हो भने पनि त्यो फेल हुँदैन। जन भइसकेपछि फेल हुँदैन,’ उनले थपे, ‘जनताका नाममा एक मुठी मान्छेले आफ्नो रहर लाद्न खोज्यो भने देशले त्यसलाई अस्वीकार गर्छ र बाटो बदल्नुपर्छ।’

सो क्रममा ओलीले आफूले पनि झापा आन्दोलनताका लिएको नीति गलत भएको स्वीकार्दै त्यसलाई बदलेको बताए।

‘मैले पनि झापा आन्दोलनताका जुन नीति लिएको थिएँ, त्यो अगाडि बढ्ने सही नीति भएनछ। बदलियो। सही भएन त बदल्नुपर्छ,’ उनले अगाडि भने, ‘त्यस्तै अरुले चलाएका अनावश्यक हिंसा पनि छोड्नुपर्छ, बदल्नुपर्छ। हिंसाको महिमामण्डन गरेर हामी अगाडि बढ्न सक्दैनौँ।’

माओवादी सशस्त्र संघर्षकै कारण परिवर्तन भएको भन्ने भाष्य गलत भएको संकेत गर्दै उनले प्रचण्डलाई स्पाइडरम्यानको संज्ञा समेत दिए।

‘हिंसा महान थियो भन्दै कोही-कोही मान्छे जन्मनुभन्दा अगाडि यो देशमा घामै उदाउँदैनथ्यो कि, वर्षा हुँदैनथ्यो कि, ऋतु परिवर्तन नै हुँदैनथ्यो कि, उनै महान मान्छे अपचलित भएपछि यो सबै कुरा भयो कि! लोकतन्त्र निज महामानवले ल्याउनुभयो कि! धन्न एउटा स्पाइडरम्यान जन्मिनुभएछ भनेजस्तो कसैको बारेमा कुनै भ्रम लिनुपर्ने आवश्यकता छैन।’