पत्रकार बन्न पनि पढ्नुपर्छ र ?
पढाइ आ-आफ्नो रुचिको विषय हो । कोही पढेर डाक्टर बन्छ कोही इन्जिनियर त कोही वकिल । तर मलाई चाहिं पत्रकार बन्नु थियो । एसईईपछि मलाई मेरो बाबाको इच्छा डाक्टर पढाउने थियो । तर मेरो मन भने डाक्टर बन्ने थिएन । मैले त्योभन्दा बरु इन्जिनियरिङ पढ्न जोड गरें र डोटीबाट कैलाली झरें । तर विभिन्न कारणले त्यतिबेला इन्जिनियरिङ पढ्न नसकेपछि मैले पत्रकारिता पढ्ने सोच बनाएँ । र, पत्रकारिता पढें ।
१२ कक्षामा पढ्दा-पढ्दै कैलालीको चर्चित मिडिया पश्चिम टुडेमा काम गर्ने मौका पाएँ । त्यतिबेला मेरा लागि सिक्ने मौका पाउनु ठूलो खुसीको कुरा थियो । अहिले काम गर्न थालेको झन्डै दुई वर्ष बितिसकेको छ । काम गरेको छोटो समय मात्र भएकाले म आफूलाई पत्रकार भन्न त्यति रुचाउँदिनँ । कसैले के गर्नुहुन्छ भनेर सोधे, ‘पढाइ छ, सँगसँगै पत्रकारिता सिक्दैछु, म सिकारु पत्रकार’ भनेर जवाफ दिन्छु ।
मैले पढेको भन्दा पत्रकारिता सुरु गरेपछि मभित्र धेरै परिवर्तन भएको पाएँ । सबैभन्दा ठूलो कुरा त मैले बोल्न सिकें । रेडियोमा समाचार पढ्न र अन्तर्वार्ता लिन थालेपछि मात्रै मैले थाहा पाएँ, बोल्नु कति जटिल कुरा रहेछ । दैनिक पढिरहेका, बोलिरहेका र सुनिरहेका कुरा रेडियोमा बोल्न जान्न मलाई दुई महिना भन्दा बढी लाग्यो ।
यति भन्दा धेरैले पहिला बोल्नै नजान्ने हो र भन्ने सोच्नुहुन्छ । तर त्यस्तो होइन । पहिला बोल्न मात्रै जानियो । अब चाहिं के बोल्ने, के नबोल्ने र कसरी बोल्ने भन्ने कुरा सिकियो, फरक यत्ति हो ।
पत्रकारिताको एउटा गज्जबको फाइदा जनसम्पर्क विस्तार हो । पत्रकार बनेपछि दैनिक जसो रिपोर्टिङ र विभिन्न कार्यक्रममा गइरहनुपर्ने । नयाँ-नयाँ मानिसहरूसँग भेटघाट र चिनजान भइरहने । यही क्रममा केही दिन अगाडि एउटा अन्तरक्रिया कार्यक्रममा एक जना नयाँ मान्छेसँग मेरो भेट भयो ।
संयोगवश हामी एउटै टेबल आसपास बसेछौं । बसेको केही समयपछि उहाँले मलाई ‘तपाईं टिचिङ गर्नुहुन्छ ? टिचर जस्तै देखिनुहुन्छ’ भनेर प्रश्न गर्नुभयो । त्यतिबेला ममा टिचरको जस्तो व्यक्तित्व झल्कने न त पहिरन थियो न त प्रसङ्ग नै । उहाँको प्रश्न सुनेर म एकछिन हाँसें । त्यसपछि होइन भनेर जवाफ दिएँ ।
उहाँले फेरि ‘त्यसो भए कार्यक्रममा कहाँबाट आउनुभएको ?’ भनेर प्रश्न गर्नुभयो । मैले म मिडियाबाट हो, पश्चिम टुडेमा काम गर्छु भनेर जवाफ दिएँ । मेरो कुरा सुनेर उहाँ पहिला हाँस्नुभयो त्यसपछि ‘ए-ए पत्रकार पो’ भनेर जवाफ दिनुभयो । उहाँ हाँसेको देखेर मनमनै किन हाँसेको होला भनेर सोचें तर सोधिनँ ।
उहाँको बारेमा बुझ्दा दुई वर्षदेखि नगरपालिकामा काम गर्नुहुँदोरहेछ । कुरा गर्दै जाँदा उहाँले मेरो पढाइ बारे चासो राख्दै ‘पढाइ कहाँ पुग्यो, कुन विषय पढ्नुहुन्छ’ भनेर सोध्नुभयो ।
मैले स्नातक तहमा पत्रकारिता पढिरहेको जवाफ दिएँ । मेरो जवाफ सुनेर उहाँ यति आश्चर्यचकित पर्नुभयो मानौं उहाँले कहिल्यै नसुनेको कुरा मैले सुनाएँ । फेरि आश्चर्यभावमा ‘पत्रकार बन्न पनि पढ्नुपर्छ र’ भनेर प्रश्न गर्नुभयो ।
मलाई अचम्म लाग्यो । हेर्दा राम्रै पढेलेखेको जस्तो देखिने मान्छे तर पत्रकारिता पढाइ हुन्छ भन्ने समेत थाहा रहेनछ । मैले पत्रकारिता ११ कक्षादेखि नै पढ्न पाइने भनेर पत्रकारिता शिक्षा सम्बन्धी केही कुरा सम्झाएँ । त्यो दिन म मेरो पढाइप्रति सोच्न बाध्य भएँ । के मैले पत्रकारिता पढेर ठिक गरें ? के यसमा मेरो भविष्य छैन ? यस्ता थुप्रै प्रश्न मेरो मनमा खेल्न थाले ।
हुनत मैले यो कुराको सामना त्यही दिन मात्रै गर्नु परेको होइन । घरमा, विद्यालयमा, साथीहरू सबैले पत्रकारिता किन पढेको ? पढाइमा राम्रो मान्छे कानुन पढ्नुपर्थ्यो, इन्जिनियर पढ्नुपर्थ्यो, डाक्टर पढ्नुपर्थ्यो वा अरू-अरू भन्ने कुरा सबैतिरबाट सुनिन्थे ।
यतिसम्म कि दुई-चार जना पत्रकारिता गरिरहेकै पत्रकारहरूले पनि पत्रकारिता छोडेर लोकसेवाको तयारी गर्न सुझाव दिए । तर पत्रकारिता मेरो रुचिको विषय भएकाले मलाई भने यी सबै कुरा फरक पारेन र पार्दैन पनि । अध्ययनसँगै पत्रकारितालाई नै निरन्तरता दिने सोच छ । म आफ्नो पेशाप्रति पूर्ण सन्तुष्ट छु ।
मलाई धेरैको प्रश्न हुन्छ, ‘पत्रकार बन्न पढ्नैपर्छ र ?’ हो, पत्रकार बन्न पढ्नैपर्छ । पहिला सबै ठाउँमा पत्रकारिता पढाइ हुँदैनथ्यो त्यसैले सबैले पढ्न पाएनन् । अब पत्रकारिता सबै ठाउँमा सजिलै पढाइ हुन्छ । म पत्रकार बन्छु भन्नेले पत्रकारिता पढ्न जरूरी छ ।
पत्रकारिता लेखेर, बोलेर खाने पेशा हो । एउटा पत्रकारको इज्जत, प्रतिष्ठा, मान, सम्मान र पैसा उसले लेखेका, बोलेका शब्दबाट प्राप्त हुने गर्दछ । शब्दसँग खेल्नुपर्ने भएकाले पत्रकारलाई शब्द सम्बन्धी ज्ञान हुन जरूरी छ । जसका लागि उसले पढ्नै पर्छ ।
अहिले नेपाली पत्रकारिताको कुरा गर्दा सबैले पत्रकारलाई सजिलै पत्याउने अवस्था छैन । पत्रकारिताले पहिला जति महत्व र सम्मान पाउँथ्यो अब त्यो घट्दै गएको छ । यसको मुख्य कारण विश्वसनीयता हो । हामीले हाम्रा पाठकको विश्वास गुमाउँदै गयौं ।
अहिले पत्रकारिताले राज्यको चौथो अङ्ग भएर होइन राजनीतिक दलको भ्रातृ सङ्गठन बनेर काम गर्न थाल्यो । स्वार्थ समूहसँग मिलेर कसैलाई नायक त कसैलाई खलनायक बनाउने काम भए । पत्रकारिताको सिद्धान्तमा आधारित रहेर काम गर्ने पत्रकार औंलामा गनिने मात्रामा छन् । पूर्वाग्रही बनेर पीत पत्रकारिता गर्ने जमात ठूलो भयो । वर्तमान समयमा नेपाली पत्रकारिताको सबैभन्दा ठूलो समस्या यही हो ।
यो समस्या आउनुको मुख्य कारणमध्येको एक पत्रकारिता नपढेरै पत्रकार बन्नु हो । जसलाई पत्रकारिताको धर्म, पत्रकारिताको सिद्धान्त र एउटा पत्रकारमा हुनुपर्ने नैतिकता के हो भन्ने कुरासम्म पत्तो छैन, तिनैले पत्रकारिताका नाममा लुटेर खान थाले । एउटा मानिसमा हुनुपर्ने नैतिकता उसमा भएन भने उसले समाजलाई हानि गर्दछ । नेपाली पत्रकारितामा पनि भएको यही हो ।
यसो भनिरहँदा सबै पत्रकारिता नपढेका पत्रकार एउटै हुन् भन्न खोजेको पक्कै होइन । थुप्रै त्यस्ता पत्रकारहरू हुनुहुन्छ जसले नेपाली पत्रकारितामा ठूलो योगदान पुर्याउनुभएको छ । उहाँहरूको योगदानलाई बिर्सन सकिंदैन ।
तर पछिल्लो समय पत्रकारितामा बढेको विकृतिलाई आँखा चिम्लेर नकार्न पनि मिल्दैन । पत्रकारको धर्म निष्पक्ष ढङ्गले कलम चलाउने हो । व्यक्तिगत स्वार्थका लागि कलम चलाएर कसैलाई माथि उठाउने त कसैलाई गिराउने हैन । त्यसैले अब पत्रकारितालाई सुधार्ने हो भने पहिला पत्रकार स्वयम् सुध्रिन जरूरी छ ।
के पत्रकार र युट्युबर एउटै हो ?
धेरैले पत्रकार भनेपछि युट्युबरलाई नै पत्रकार सम्झिने गर्छन् । हेर्दा दुवैको काम एउटै जस्तो देखिए पनि यी दुवै फरक पेशा हुन् । पत्रकारिताको छुट्टै प्रक्रिया र आचारसंहिता हुन्छ । एउटा पत्रकार सञ्चारमाध्यमको नीति र सम्पादकीय प्रक्रियामा बाँधिएको हुन्छ । उसले त्यो नियमको पालना गर्नुपर्ने हुन्छ ।
तर युट्युबर स्वतन्त्र हुन्छन् । उनीहरूका लागि छुट्टै कुनै आचारसंहिता बनेको छैन । युट्युबरहरू आफ्नै च्यानल खोल्छन् र इच्छा अनुसारका सामग्री निर्माण गरेर पोस्ट गर्ने गर्छन् । तर केही प्लेटफर्मका नीतिहरू भने उनीहरूले पनि पालना गर्नुपर्ने हुन्छ ।
पत्रकार पत्र-पत्रिका, रेडियो, टेलिभिजन जस्ता संस्थाहरूका लागि काम गर्छन् । उनीहरूको रोजगारी औपचारिक हुन्छ । पत्रकारले लेख, रिपोर्ट, समाचार तथा अन्तर्वार्ताको रूपमा तार्किक तथ्य प्रस्तुत गर्छन् । सही तथ्य जनतालाई सूचित गर्नमा पूर्ण रूपमा जवाफदेही हुन्छन् । उनीहरूको ध्यान जनताको विश्वास जित्ने हुन्छ ।
युट्युबरमा यो सबै कुरा समेटिएको हुँदैन । उनीहरूले इच्छा अनुसारका सामग्रीहरू भिडियोको रूपमा प्रस्तुत गर्छन् । उनीहरूको प्रस्तुतीकरण अनौपचारिक, रमाइलो वा व्यक्तिगत पनि हुन सक्छ । भिडियो सामग्रीहरूमा केही समाचार वा सूचना समेटिएका हुन सक्छन्, तर त्यो औपचारिक नियमले पत्रकारको जस्तो जिम्मेवारीपूर्ण हुँदैन ।
युट्युबरहरूले सूचना, मनोरञ्जन, शिक्षा जस्ता विभिन्न प्रकारका भिडियो सामग्री प्रस्तुत गर्छन् । त्यसको प्रमुख उद्देश्य नाफा र प्रसिद्धि कमाउने हो । जसका लागि उनीहरूले न त गलत तथा भ्रामक सूचना फैलाउन पछि पर्छन् न त कुनै व्यक्तिगत गोपनीयताको कुरा ध्यानमा राख्छन् ।
पीडित वा प्रभावित व्यक्तिलाई थप पीडा हुने गरी सूचना सम्प्रेषण गरेका हुन्छन् । समाजमा हिंसा, निराशा, घृणा र उत्तेजना फैलाउने किसिमका नग्न, क्षत-विक्षत र बीभत्स दृश्य आफ्ना भिडियोमा राखेका पाइन्छन् । जुन पत्रकारिताको आचारसंहिता भन्दा ठिक विपरित छ । यस्ता क्रियाकलापले गर्दा सबै युट्युबरहरू माथि प्रश्न उठ्ने गरेको छ ।
तर त्यस्ता थुप्रै युट्युबरहरू पनि छन् जसले आफ्नो युट्युब मार्फत राम्रा सामग्री प्रस्तुत गरेर चर्चा कमाएका छन् । उदाहरणका लागि भारतका चर्चित युट्युबर ध्रुव राठी र नेपालका भोजराज थापा ।
अहिलेको सूचनाप्रविधिको युगमा युट्युब पनि आमसञ्चारको एक माध्यम । यसबाट धेरै सूचनाहरू प्रवाह भइरहेका हुन्छन् । र यस मार्फत पनि पत्रकारिता गर्न सकिन्छ । तर युट्युबलाई तबसम्म पत्रकारिता मान्न सकिंदैन जबसम्म युट्युबरले पूर्ण रूपमा पत्रकारिताको आचारसंहितामा रहेर सूचना प्रवाह गर्दैनन् । बाँकी कुरा त पाठक, श्रोता, दर्शक आफैंले छुट्याउने हो ।
तपाईको प्रतिक्रिया