पूर्वमुख्यमन्त्री रावल : राजनीतिसँगै साहित्यमा पनि अब्बल

शनिबार भदौ २९, २०८१/ Saturday 09-14-24
Paschim Today

कैलाली । राजेन्द्रसिंह रावल, धेरैले उनलाई एमालेका नेता, सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री र एक प्राज्ञिक व्यक्तित्वका रुपमा चिन्छन् । तर, उनको पहिचान त्यतिमा मात्रै सीमित छैन । रावल राजनीतिमा जति सक्रिय छन् खोज, अन्वेषण र लेखनीमा पनि त्यतिकै अब्बल छन् ।

२०४७ सालमा महाकाली साहित्य सङ्गम स्थापना गरेर रावलले सुदूरपश्चिममा लोक साहित्यलाई एउटा उचाइमा पुर्याउन भूमिका खेलेका थिए । वासुदेव भट्ट, प्रेमसिंह धामी, ऋषिराज लुम्साली, राजेन्द्र रावल लगायतले महेन्द्रनगरको एउटा पार्कमा बसेर स्थापना गरेको साहित्य सङ्गमले सुदूरपश्चिमको साहित्यलाई उजागर गरेको थियो ।

‘प्रगतिशील साहित्यको लेखनीको सवाललाई बोकेर हामी अगाडी बढेका थियौँ ती दिन सम्झँदै’, रावल भन्छन्, ‘आशावादी सृजना गर्ने, सर्वहारा श्रमजीविहरूको बारेमा साहित्यको ढंगले आवाज उठाउने उद्देश्यले हामीले त्यसलाई स्थापना गरेका हौँ ।’

बैतडीको दशरथ चन्द नगरपालिका– ५ मारकण्ड गाउँमा २०२१ जेठ १६ गते जन्मिएका रावल नेपाली, अङ्ग्रेजी, हिन्दी, डोटेली, कुमाउँनी, थारुलगायत थुप्रै भाषा बोल्न र लेख्न सक्छन् । आधारभूत तहको अध्ययन भारत मेघालयको सिलङ, मध्य प्रदेशको जबलपुर र उत्तराखण्डको पिथौरागढका केन्द्रीय विद्यालयहरूमा गरे ।

उनले एसएलसी वीरेन्द्र माध्यमिक विद्यालय शाहीलेक बैतडी, प्रमाणपत्र तह ड्रमाण्ड इन्टर कलेज पिलिभित उत्तर प्रदेश भारत, स्नातक तह सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगर कञ्चनपुरमा अध्ययन गरेका हुन् ।

सुदूरपश्चिमको लोक साहित्य प्रवर्द्धनमा पनि रावलले ठूलो भूमिका रहेको छ । लोकवार्ताको तेस्रो राष्ट्रिय सङ्गोष्ठीको आयोजना गर्दा रावल सहसंयोजक थिए । रावलले त्यो बेला देश भरीका साहित्यकार र प्राज्ञिक जमातलाई सुदूरपश्चिम उतारेका थिए ।

भारतका विभिन्न ठाउँमा हुने कवि सम्मेलन, साहित्य सम्मेलन र विभिन्न विषयमा पनि रावलले सुदूरपश्चिमको साहित्य र इतिहासको विषयमा कार्यपत्र प्रस्तुत गर्ने गरेका छन् । रावलका केही पुस्तकहरू प्रकाशित भइसकेका छन् भने केही पुस्तक प्रकाशनको तयारीमा छन् ।

‘मध्यकालीन डोटी राज्यको इतिहास’ र ‘द इकोज पावर अफ प्यासन’, उनका प्रकाशित कृति हुन् । चुरे संरक्षण आवाज बुलेटिनको सम्पादन , वन वातावरण तथा पर्यटन शाखाको बुलेटिन समेत प्रकाशन गरेका रावलले अहिले अर्काे कविता सङ्ग्रह प्रकाशनको तयारीमा छन् ।

द इकोज पावर अफ प्यासन कविता सङ्ग्रह प्रकाशन गरेको केही वर्ष पछि उनले ‘मध्यकालीन डोटी राज्यको इतिहास’ लेखेका हुन् ।

‘मध्यकालीन डोटी राज्यको इतिहास’ (साके १२३५-१७१२) पुस्तक तयार गर्न करिब १७ वर्ष लागेको उनी बताउँछन् ।

‘१७ वर्ष निरन्तर अध्ययन गरे, गाउँ गाउँमा बसेर मान्छेहरुलाई भेटे, देवलहरूको अध्ययन गरेर ताम्रापत्र विश्लेषण गरे’ उनले भने, ‘२०६३्०६३ को जनआन्दोलन लगत्तै म अध्ययनमा लागेको थिए ।१७ वर्षमा मैले धेरै कुरा पुस्तकमा समेट्ने प्रयास गरेको छु ।’

तत्कालीन बाइसे राज्यअन्तर्गत डोटी राज्यको राजधानी अजयमेरुकोटस्थित ऐतिहासिक महत्त्व भएका डोटेली राज्यका निशानीहरू उचित संरक्षण, जीर्णोद्वार र उत्खननको पर्खाइमा छन् । भत्किएर ढुङ्गा छरपस्ट अवस्थामा रहेका ऐतिहासिक सम्पदाको उचित संरक्षण, जीर्णोद्धार र उत्खननमा कसैले पनि खासै चासो र चिन्ता नदेखाएको अवस्थामा रावलले प्रकाशन गरेको पुस्तकमा धेरै महत्त्वपूर्ण विषयहरू समेटिएका छन् ।

‘खोज अनुसन्धानबाट भेटिएका कुराहरू मैले पुस्तकमा उल्लेख गरेको छु’ उनी भन्छन् ‘उक्त पुस्तकमा मध्यकालीन डोटी राज्यको अवस्थाबारे सम्पूर्ण विषय वर्णन गरिएको छ’, उनले उक्त पुस्तक अङ्ग्रेजीमा लेखेका छन् ।

राज्यको पुनर्संरचनामा सुदूरपश्चिम नै किन ? भन्दै रावलले विभिन्न विषयबस्तुहरुलाई लेख मार्फत उनले नेपाली, अङ्ग्रेजी र डोटेली भाषामा उजागर गरेका थिए । रावलले अखण्ड नेपाल, अविभाज्य सुदूरपश्चिमको विषय उजागर गरेका थिए ।

राजनीतिसँगै साहित्य तर्फ पनि त्यति कै अब्बल भएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व मुख्यमन्त्री रावललाई आज अभिनन्दन गर्दै छन् । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले रावललाई सम्मान तथा अभिनन्दन गर्ने कार्यक्रम छ ।

सुदूरपश्चिम र कर्णालीको भाषा, साहित्य र सङ्गीतलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ‘स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक उत्सव’ को आयोजना गरिएको र सोही कार्यक्रममा साहित्यकार इतिहासकार रावललाई अभिनन्दन गरिने आयोजक संस्था सांस्कृतिक समाज नेपालका अध्यक्ष तथा कलाकार रामप्रसाद अवस्थीले जानकारी दिए ।

राजनीतिक यात्रा

२०३६ सालको जनमत सङ्ग्रहको आन्दोलनमा सहभागी भएर राजनीतिमा होमिएका रावल २०३९ सालमा अनेरास्ववियुमा आबद्ध भएका थिए ।

२०४२ सालमा बैतडीमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको आन्दोलनको नेतृत्व गर्दा पक्राउ परेका उनी २०४५ सालमा मार्क्सवादी अध्ययन दलको सदस्य बने ।

२०४६ सालमा प्रेमसिंह धामी नेतृत्वको तत्कालीन नेकपा मालेको प्रथम जिल्ला सङ्गठन कमिटी सदस्य बनेका उनी २०४७ सालमा अनेरास्ववियु तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

२०५० सालमा उक्त सन्धिविरुद्धको आन्दोलनमा नेतृत्व गर्दा रावलले तत्कालीन सत्ता पक्षबाट गिरफ्तारसहित सार्वजनिक मुद्दा खेपे । त्यो वेला सरकारले दुई वटा मुद्दा लगाएको थियो ।

२०५१ मा नेकपा एमाले को जिल्ला सङ्गठन विभाग प्रमुख र गाउँ जागरण अभियानको उत्प्रेरक भई महाकाली अञ्चलका चारै जिल्लामा रावलले अभियान सञ्चालन गरेका थिए । २०५४ देखि २०५९ सालसम्म जिल्ला विकास समिति कञ्चनपुरको उपसभापति बनेका रावल २०५४ सालमा नेकपा एमाले कञ्चनपुरको पार्टी उपसचिव भएका थिए ।

उनी २०५७ देखि २०६२ सालसम्म नेकपा एमाले जिल्ला सचिव (दुई कार्यकाल) बने । २०५८ सालमा जिल्ला आवधिक योजना सह–संयोजक भएका रावल २०५८ सालमा सामुदायिक वन उपभोक्ता समूह कञ्चनपुरको संस्थापक बने ।

२०६२÷६३ को जनआन्दोलनमा नेतृत्वदायी भूमिका निभाएका उनी राजकाज मुद्दा र पक्राउमा परेका थिए । २०६२ सालमा नेकपा एमालेको महाकाली अञ्चल समन्वय कमिटीको सचिव बनेका रावल २०७५ जेठ ३ देखि २०७७ चैत ३१ गतेसम्म नेकपा केन्द्रीय कमिटी सदस्य भए ।

२०७८ सालमा एमाले केन्द्रीय सदस्य र प्रदेश कमिटी सचिव तथा डडेल्धुरा जिल्ला इन्चार्ज बनेका रावल हाल पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम सह–इन्चार्ज छन् ।

२०७९ मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा एमालेबाट समानुपातिक सांसद निर्वाचित भएका उनी सुदूरपश्चिम प्रदेशको एमाले संसदीय दलको नेता हुँदै मुख्यमन्त्री भइसकेका छन् ।

राजनीति र साहित्य दुवैको माध्यमबाट समाज रूपान्तरणको अभियानमा आफू रहेको रावल बताउँछन् ।

‘म जनताको नोकर हुँ, मालिक होइन । राजनीति मेरो सेवा हो ,पेसा होइन’ उनी भन्छन्,‘सुदूरपश्चिमको संस्कृति, संस्कार र सभ्यता जोगाउन साहित्यको साथ लिन्छु त्योसँगै अन्य परिवर्तन र गतिशीलता र जनताको सेवाको लागि राजनीति छ ।’