यस वर्ष दसैं टीकाको उत्तम साइत बिहान ११:३६ बजे
काठमाडौँ —नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११:३६ का लागि उत्तम रहेको जनाएको छ । त्यस दिन बिहान ८:३३ बजे देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने उनले बताए । यस वर्षको नवरात्र अर्थात् दसैं यही असोज १७ गते बिहीबारदेखि सुरु हुँदैछ । त्यस दिन बिहान ९:१६ बजे घटस्थापनाको साइत रहेको समितिले जनाएको छ । साथै असोज १८ गते शुक्रबार झन्डा फेर्ने (पश्चिम मोहडा) ९:१४ बजे, असोज २२ गते मंगलबार पचलीभैरव यात्रा, असोज २४ गते बिहीबार फूलपाती र श्री तुलजाभवानी यात्रा बिहान ७:११ बजे र स्थिरासन बिहान ८:४३ बजे साइत रहेको समितिले जनाएको छ ।
त्यसैगरी असोज ३० गते बुधबार अखिलबलीपूर्ति गर्नुपर्ने समिति सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले बताए । यसै दिन कोजाग्रत पूर्णिमा मनाएसँगै यस वर्षको दसैं समापन हुनेछ ।
तपाईको प्रतिक्रिया