अम्रिकामा देउडा गाउँदा नेपाल देश पाँयाँ
न्युयोर्क सहर र टाढा टाढाबाट समय खर्चेर आए। ती सयौं दर्शक देउडा गीतको नौलो स्वाद, सुदूरपश्चिमवासीको एकता र कलाकारको कुशल प्रस्तुति देखेर रोमाञ्चित बने।
अम्रिका पानीको नाउलो, जहाज पानी खान्या
साई धेक्या धिर्जमन हुन्या साई न धेक्या रुन्या।
तीसको दशकमा चर्चित देउडा गीत हो माथिको। त्यसबेला बझाङमा एयरपोर्ट बनेको थिएन। सेती नदीको किनारामा सदरमुकाम चैनपुरभन्दा पूर्वउत्तर भोपुरको कालाखालीमा मुस्किलले सामान्य धावनमार्ग बनाएको थियो। त्यही ठाउँमा यदाकदा १८ सिटे हवाईजहाज अवतरण हुन्थ्यो। जहाजलाई त्यसबेला चिलगाडी भनिन्थ्यो। चिलको जस्तै आकार मानिस र खाद्यान्न पनि बोक्ने भएकाले चिलगाडी भनिएको हुनुपर्छ।
देउडा गीतका रचनाकारले विषयवस्तु सुनेको आधारमा गीतको रचना गर्नुलाई सामान्य मानिँदैन। देउडा गीतका सर्जकलाई आँसुकवि त्यसै भनिएको होइन। माथिको गीत ऐतिहासिक भएको पनि रचनाकारका कारण हो। अमेरिकालाई छोटकरीमा अम्रिका र महासागरलाई नाउलो (पानीको कुवा) भन्नु गीतकारको खुबीको कुरा हो। यसैगरी, साई (प्रिय सखी) देखेमा धिर्जमन (शान्त मन रहने) र नदेखेमा मन रुने गर्छ भन्ने आशयको गीत हो माथिको।
सन् १९१८ नोभेम्बर महिनामा नेपाल फिल्मी सोसाइटीका संयोजक नवराज श्रेष्ठ, नायक कृष्ण मल्ल, नायिका शर्मिला मल्ल र साथीहरूका साथ त्यसबेला देउडा गीत गाउन भनी कोलोराडो राज्यको डेनमर सिटीमा पुगें। फिल्मी क्षेत्रका साथै प्रवासी नेपालीको पनि कार्यक्रममा बाक्लो उपस्थिति देखें। नेपालको श्रोताको जस्तै अमेरिकामा बस्ने सयौं नेपालीले ममाथि देखाएको सद्भाव भुल्नै नसकिने थियो। २०६२/०६३ सालको जनआन्दोलन सफल पार्न सडक आन्दोलनमा गाएको गीत झ्याम्म झ्याम्म गाउन कार्यक्रममा दर्शक बनेर आएका व्यक्तित्वहरूले अनुरोध गरेअनुसार गाएको थिएँ। पुराना कलाकार हिरण्य भोजपुरी, उर्मिला श्रेष्ठ नायक कृष्ण मल्ल, गायक प्रेमराजा महत, कीर्तिपुर पढ्दाका मित्र मुकुन्द ढुंगाना, सुदूरपश्चिमका केही साथी मञ्चमै आएर देउडामा पाइँताला मिलाएर एकनाशले गीतमा लय मिलाउँदा सभाहल गुञ्जायमान भएको मानसपटलमा ताजै छ।
अम्रिकामा देउडा गाउँदा नेपाल देश पाँयाँ
देउडा गीत गाउन भनी अम्रिकामा आँयाँ।
यी र यस्तै देउडा गीतले कोलोराडोमा भए पनि सम्झनामा कैलाली र कञ्चनपुर थियो। भोजपुरीले त मौलिक भाका सुनाउनु भएकोमा नेपालको तिर्सना मेटाउनु भयो भनी स्यावासी दिएका थिए। यसपटक अमेरिकाको यात्रा पहिले झैं सांस्कृतिक र देउडा संगीतमय रह्यो। एक महिनाको यात्राले नेपाल छोडेर बिदेशमा बस्न बाध्य नेपाली कलाकारसँग न्युयोर्क, मासाचुसे, बुइसक्यान्सिन, सिकागो र टेक्सास राज्यका विविध ठाउँमा प्रत्यक्ष–अप्रत्यक्ष भेट भयो।
गायक नरेन्द्र प्यासीले त आफू बस्ने ठाउँ क्यालिफोर्नियामा स्टुडियो निर्माणगरी गीत पनि रेकर्ड गर्दा रहेछन्। मधु क्षेत्री, सपना श्री, रीमा गुरुङजस्ता गायकगायिका अमेरिकामा नै बसेको देख्दा हर्ष र विस्मात दुबै लाग्यो। व्यस्त सहर न्युयोर्कमा मात्र ६० हजार नेपालीको बसोबास रहेको बताउँछन् सुदूरपश्चिम नेपाली जनसम्पर्क समितिका अध्यक्ष दानसिंह विष्ट। अगस्ट १५ तारिखको साँझ क्युनसिटी न्युयोर्कमा सातौं फिल्मी अवार्ड यसपटक पनि निकै भव्यताका साथ सम्पन्न भयो।
नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, उपाध्यक्ष मोहनकृष्ण श्रेष्ठ, नायक रवीन्द्र खड्का, संयोजक नवराज श्रेष्ठ, आयोजक नवराज के.सी.लगायतको कडा मेहनतका साथ समारोह भव्य बन्यो। पंक्तिकारले झ्याम्म झ्याम्मसहित अर्को लोकप्रिय गीत झम्क्यो डालीमा गाएँ। ४७ वर्ष (२०३४ कात्र्तिक १५ गतेदेखि हालसम्म) को देउडा गीत र गायनको निरन्तरताको सुखद परिणाम र सद्भाव न्युयोर्कको सभाहलमा गीत गाउँदा पाएँ। मानौं, सुदूरपश्चिमवासीको सुखद उपस्थिति र गायनकलाले न्युयोर्क सहर देउडामय भयो।
डाटीकी दैजात राम्णी बान्नीकी चैतली
सुन्मेरा भन्याका कुणा हेर् मेरी पैतली।
२०४८ सालमा म्युजिक नेपाल काठमाडौंमा रेकर्ड गरिएको लोकप्रिय गीत न्युयोर्कमा गाउँदा सभाहल यसरी गुञ्जियो कि कार्यक्रम अवलोकन गर्न आएका सुदूरपश्चिमवासी संस्कृतिकर्मी मन थाम्न नसकेर मञ्चमै देउडा खेल्न पुगे। दौरा, सुरुवाल, टोपी कोटमा सजिएका दानसिंह विष्ट, मोहनसिंह विष्ट, टी.पी. भण्डारी, रैभान महरा, आनन्द विष्ट, गणेश विष्ट, राम देउवालगायत धेरैले डेढ कदम पाइँताला चलाएर रहर पुग्नेगरी देउडा खेले। मन थाम्न नसकी रेडियो नेपालका पुराना समाचार वाचक हरिश्चन्द (माइकल चन्द), पहिलो नायिका भुवन चन्द, बसुन्धरा भुसाल, शर्मिला मल्ल, वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा आदि मञ्चमै उक्लिएर देउडा नाचे।
न्युयोर्क सहर र टाढाटाढाबाट समय खर्चेर आएका सयौं दर्शक देउडागीतको नौलो स्वाद, सुदूरपश्चिमवासीको एकता र कलाकारको कुशल प्रस्तुति देखेर रोमाञ्चित बने। देउडा वास्तवमा लोकपरम्पराको खास परिचय रहेछ भन्ने विद्वान् भेटिए। केही विशिष्ट व्यक्तिले पंक्तिकारलाई स्याबासी दिँदा हर्षले आँसु झारे, सुदूरपश्चिम कर्णाली भूमिलाई मनमनै सम्झे, त्यहाँको जनजीवन र संस्कृतिलाई सम्झे, अनि सम्झे जन्मदाता पिता जगदीश र माता गंगामती जोशी तिमिल्सिना। जसले सानोमा गाईबस्तु चराउन जाँदा देउडा गीत सिकाउनु भएको थियो। संगीतका शिखर पुरुष शम्भुजित बाँस्कोटाले खुसी हँुदै ‘देउडा र नन्दकृष्ण जोशी’को वास्तविक परिचय अमेरिकामा पाएँ भने।
डोटी राम्रो डँडेलधुरा अछाम राम्रो साफ्या
मलाई पनि उडाई लैजा हिमचुलीका डाफ्या।।
डँडेलधुरा र बैतडी जिल्लाका बीचमा रमणीय भूभाग पाटन परे झैं अमेरिकामा पनि नेपालका जस्तै हरिया चौर होचा–अग्ला रुखहरू छन्। हावापानीका दृष्टिले पनि दुवै राष्ट्र समान छन्। नेपालजस्तै सुन्दर देश हो अमेरिका भन्न खोजेको हो माथिको गीतले। डोटी, डँडेलधुरा, बझाङ आदि सबै जिल्ला सुन्दर छन्। अझ सुन्दर अछाम छ, साँफेबगरका मलिला फाँटहरूमा धान अत्यधिक फल्ने गर्छ। यस्तो ठाउँमा हिमचुलीको डाँफे चरी आऊ मलाई पनि उडाएर लैजाऊ भन्न खोजिएको हो। पवि र गीति क्षेत्रका सर्जकको सोचाइजस्तै अमेरिका जाने रहर धेरै नेपालीको हुन सक्छ तर भाग्यमानीले मात्र भिसा पाउँछ।
अथवा डीभी पर्छ। अमेरिकामा बस्न सहज भने छैन। कठोर परिश्रम गरेरमात्र घण्टाको १६/१८ डलर कमाइ हुन्छ। यहाँ काम गर्ने एकजना मानिसले नेपालमा चारजना कामदारले गरे झैं छिटोछरितो र इमान्दार भएर काम गर्नुपर्छ। यसपटक गौरा पर्व पनि अमेरिकाको न्युयोर्क, टेक्सासको डालस, राजधानी अस्ट्रिन र उइसक्यान्सिन राज्यको मिलवाकीमा ती ठाउँहरूमा बस्ने नरनारीले भव्यताका साथ मनाए। ८, ९ र १० गते भिन्दाभिन्दै स्थानमा पर्व मनाउँदा ती ठाउँका संस्कृतिकर्मीसँग प्रमुख अतिथिका रूपमा देउडा खेले। अछाम डोटीका मान्छेको बाहुल्य भएको उइसकानसिन राज्यमा डोटीकी गोमादेवी ओझा र नर्मदादेवी फुलाराले गौराका फागहरू सुनाए।
टेक्सासको शिव मन्दिरमा मनाएको गौरा ऐतिहासिक रहन गयो भन्छन्, सुदूरपश्चिम समाज टेक्सासका अध्यक्ष गगन केसी। काठमाडौंमा गौरापर्वका बेला राजनीतिक विवाद चलिरहँदा अमेरिकामा सुदूरपश्चिमको मौलिक पर्व गौरा सुखमय रूपमा मागल र देउडा खेलेर सम्पन्न गरियो। सबै नरनारी यहाँका धार्मिक स्थलहरूमा मात्र आयोजना गरिएका थिए। सयौं नरनारीका बीचमा रही देउडा गीत सुनाउँदा ‘तमले घरकी याद दिलाया दाजु’ भन्दै थिए, पदम ठकुराठी (डँडेलधुरा), नवराज उपाध्याय, रामनाथ उपाध्याय (अछाम) गोविन्दराज फुलारा (डोटी), प्रताप गुर्धामी (बझाङ), विष्णु भट्ट (बैतडी) आदि।
अमेरिकामा नन्द दाइसँग देउडा गीत गाउन पाउनु भाग्यको कुरा हो भनी खुसी व्यक्त गर्दै थिए, तर्क ओझा, राजु ओझा (डोटी), डिल्लीराज फुलारा (डोटी)। राजनीतिक नेता आएको खण्डमा यतिका मानिस जम्मा हुने थिएनौं, हजुरको नाम सुनेरमात्र घरको काम छाडेर आएका हौं
भन्दै थिए डा. विष्णु जोशी बझाङ।
म आया बझाङयाबाट त आइगै डोटी है
भिटघाट नहुन्या ठौर क्या माया लोटी है।
२०३४/३५–३६ सालतिर यो पंक्तिकारले रेडियो नेपालमा देउडा गीत गाउँदा ‘भाँण र वादी जाति’को उपमा पाएको थिएँ। काली कर्णालीमा सांस्कृतिक क्रान्ति ल्याउँदा र २२ वटा देउडा गीतका गीति क्यासेट बस्तीबस्तीमा पु¥याउँदा लाखौंजनबाट मन पराएर होला वर्तमानमा ‘देउडा सम्राट्’को उपाधि पाएँ। जिन्दगीको यो मेरो सबैभन्दा ठूलो उपलब्धि र कमाइ हो। पंक्तिकारको जिन्दगी नै देउडामय बनेको छ।
प्रतिबन्धित कालमा प्रजातन्त्र प्राप्तिका लागि कारागारमा पटकपटक थुनिँदा पनि देउडा गाएँ, २०६२/६३ को जनआन्दोलनमा पनि देउडा गीत गाएर नै सडक तताएँ। गणतन्त्रको माग गर्दै पुनः कारागारमा जिन्दगी बिताएँ। अहिले अमेरिकी भूमिमा पनि देउडा गीतसंगीतको बीजारोपण गरेर अभियान चलाउन पाउँदा मातृभूमिको संस्कृतिको सेवा गरेको सम्झेको छु। भावी जिन्दगी यसैगरी बितोस् सुदूरपश्चिमका मष्टादेवतासँग यही प्रार्थना छ।
तपाईको प्रतिक्रिया