पदकधारी प्रकाश: खेलाडी, प्रशिक्षक हुँदै अन्तर्राष्ट्रिय रेफ्रीसम्मको यात्रा

शनिबार असोज १९, २०८१/ Saturday 10-05-24
Paschim Today

कैलाली ।  कराँतेबारे थाहा नपाउँदै बाल्यकालमा हरि चौहानबाट सिक्ने अवसर पाएका प्रकाश चन्दलाई त्यो बेला खेल नै भविष्य होला भन्ने कहिल्यै लागेको थिएन। तर, तीन दशक पहिले उनले सिकेको सामान्य खेलले आज उनले आफ्नो मात्रै होइन देशको पनि नाम रोशन गरेको छ ।

२०४८ सालतिर कञ्चनपुर कृष्णपुर नगरपालिका २ बङ्कमा चौहानसँग उनी ट्युसन पढ्थे । चौहानले भारतमा कराँते सिकेका थिए । बालबालिकालाई फूर्तिलो बनाउन उनले आफूले सिकेको सिप सिकाउने गर्थे । तर, त्यो कराँते हो भन्ने बारे प्रकाशले बर्षाैसम्म थाहा पाएनन् ।

गाउँमा राम्रोसँग नपढ्ने देखेपछि हजुरबुवाले फुपूको घरमा बसेर पढ्न प्रकाशलाई धनगढी पठाए । धनगढीकै शारदा माध्यमिक विद्यालयमा भर्ना भएका प्रकाशलाई ट्युसन पढ्न हसनपुर जानुपर्ने हुन्थ्यो । विद्यालय र ट्युसन सेन्टरको बीचमा धनगढीस्थित कवर्ड हल छ । जहाँ विभिन्न खेलहरू हुन्छन् । 

‘सेतो लुगा लगाएकाहरूले किक र पञ्च हानेको देखे, मलाई पनि केही वर्ष पहिले शिक्षकले त्यस्तै सिकाउनु भएको थियो ।त्यसपछि बाल्यकालमा सिकेको सिप के रहेछ भन्ने लाग्यो ’ उनले भने, ‘ एकदिन म ट्युसन नगएरै कवर्ड हल छिरे ।’

   प्रकाशले तेकवान्दो, ज्याम्नेस्टिक र कराँतेबारे सम्बन्धित प्रशिक्षकलाई बुझ्न खोजे ।

तेकवान्दोमा गोविन्द विष्टले २१० रुपैयाँ भर्ना फिस र ५० रुपैयाँ मासिक फिस लाग्ने बताएपछि प्रकाशको आट आएन । जेम्नास्टिक पनि त्यति नै महँगो लाग्यो । कराँते १६० रुपैयाँमा भर्ना हुन पाइने कुराले उनी उत्साहित भए ।

दुई विषयमा ट्युसन पढ्ने भन्दै १५० रुपैयाँमा मागेका प्रकाशले त्यो महिना ट्युसन गएनन् । १० रुपैयाँ गुरुले छुट गरेको उनी अझै सम्झन्छन् ।

‘१० रुपैयाँ नपुग्दा निकै तनाव भएको थियो र किशोर हमाल गुरु हुनुहुन्थ्यो । ‘भोलिदेखि आइजा’ भन्नुभयो ’ उनले त्यो पल सम्झँदै भने, ‘त्यो बेला मैले ट्युसन पढ्ने भन्दै  ढाँटेर कराँते नसिकेको भए आज म यहाँ हुने थिएन होला । ’

कराँतेमा भर्ना भइसक्दा उनलाई पोसाकको चिन्ता भयो । फुपूको घर नजिकै बस्ने एक भारतीय मूलका युवकले उनलाई त्यसको पनि जोहो गरिदिए । अरूले दिएको साइज नमिल्ने ड्रेस लगाएर उनी मैदानमा उत्रिए । त्यसपछि प्रकाशले त्यो मैदान कहिल्यै छोड्नु परेन ।

कराँते सिक्दै गरेको तीन महिनामै शिवा मेमोरियल आमन्त्रण अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता आयोजना भयो । पहिलो खेलमा नै उनले कांस्य पदक जिते । जापान, बङ्गलादेश ,भुटान, श्रीलङ्का भारत र नेपाल लगायतका देशहरूका बीचमा प्रकाशले पाएको पहिलो पदक त्यति थियो ।

२०५२ असोज १२ गते पछि प्रकाशको खेल जीवनले अर्काे गति पायो । आठौँ साफ खेलको छनोटका लागि भएको प्रतिस्पर्धामा उनले आफैलाई सिकाएका प्रशिक्षक मकेन्द्र बहादुर सिंहलाई हराए ।

सेमिफाइनलमा आफ्नै गुरुलाई हराएपछि प्रकाशको चर्चा राष्ट्रियस्तरसम्म चुलियो ।

‘मकेन्द्रलाई जित्ने को फुच्चे रैछ’ प्रकाशको खोजी हुन थालेको थियो । २०५४ सालदेखि आफू पढ्ने शारदा माविमा कराँते सिकाउन थालेका प्रकाशले राष्ट्रिय अन्तर्राष्ट्रिय थुप्रै खेलाडी जन्माएका छन् । किशोर हमाल भरत हमाल लगायतको प्रेरणा र प्रशिक्षणबाट उनी सफल भएको ठान्छन् ।

कराँते खेल्न थालेको तीन दशक नपुग्दै प्रकाशले जिल्ला,क्षेत्र र राष्ट्रिय हुँदै अन्तर्राष्ट्रियस्तरका थुप्रै पदकहरू पाएका छन् ।

२०१२ र २०१३ मा श्रीलङ्का भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण पदक, २०११ र २०१३ मा बङ्गलादेश को ढाकामा भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा एक स्वर्ण एक रजत पदक, सन् २००९ मा मलेसियामा भएको दोस्रो एसियन गोजुरियो कराँते प्रतियोगितामा पदक जित्नुका साथै रसियामा भएको वर्ल्ड कराँते च्याम्पियनसिप २०१० र जर्मनमा भएको २०११ म वर्ल्ड कराँते च्याम्पियनसिप सहभागी भएका थिए ।

त्यो एक दशकमा २ दर्जन बढी स्वर्ण पदक, एक दर्जन बढी रजत पदक, एक दर्जन बढी कांस्य पदक जित्न सफल भएका प्रकाश खेलाडी हुँदै प्रशिक्षक समेत भएका छन् । प्रकाशले आफूले मात्रै देशको लागि पदक जितेनन् उनले खेलाएका दर्जनौँ खेलाडीले राष्ट्रको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक दिलाएका छन् ।

धनगढीमै प्रकाशकै सक्रियतामा ९ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता भएका छन् । ‘ श्रीलङ्काबाट ५३ जना बङ्गलादेशमा २६ जना आउनु भएको थियो । धनगढीमा एक वर्षमा १०१७ जना खेलाडी आएका थिए । तर, मोफसलमा भएको हुँदा धेरै चर्चा भएन ’ उनले भने, ‘त्यो प्रतियोगितामा सहभागी भएका खेलाडीहरूले राष्ट्रिय अन्तर्राष्ट्रिय खेलहरूमा पदक जितेका छन् । ’

खेलाडी प्रशिक्षक हुँदै अहिले उनी रेफ्रीको रुपमा पनि परिचित छन् । जिल्ला, क्षेत्रीय , राष्ट्रिय , आमन्त्रण अन्तर्राष्ट्रिय तथा अफिसियल अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताहरू र तेह्रौँ साफमा गरी करिब १५० प्रतियोगितामा उनले रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन् ।

२००८, २०१२ र २०१३ मा श्रीलङ्कामा भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताहरूमा , २०११ र २०१२ मा बङ्गलादेशको राजधानी ढाकामा भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताहरूमा २००९ मा मलेसियामा भएको दोस्रो एसियन गोजुरियो कराँते प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

२०१४ र २०१५ मा इन्डोनेसियामा भएका अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताहरूमा, २०२० मा मलेसियामा भएको वर्ल्ड गोजुरियो कराँते प्रतियोगिताकामा रेफ्री को भूमिका रहेका उनी सोही वर्ष उज्बेकिस्तानमा भएको सिनियर एसियन कराँते प्रतियोगितामा रेफ्री भए।

रेफ्री कमिसन सदस्य रहेका चन्दले यस अघि भारतको नयाँ दिल्लीबाट जज बी , उज्बेकिस्तानबाट जज ए र अहिले फिलिपिन्सबाट रेफ्री बी पास गरेका हुन् । विश्व कराँते महासङ्घको रेफ्री पास गर्ने लक्ष्य रहेको उनी बताउँछन् ।

राष्ट्रिय गोजुरियो कराँते दो.सङ्घ, नेपालका महासचिवका .बा. प्रमुख प्रशिक्षक रहेको उनी राष्ट्रिय रेफ्री कमिसन सदस्य पनि हुन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ, कैलालीमा निर्वतमान अध्यक्ष हुन् ।

महिला हिंसाविरुद्ध अभियान “प्रहार” मार्फत गरिएका गतिविधि सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लाहरू, बागमती प्रदेशका केही स्कुल तथा कलेजहरू र लुम्बिनी प्रदेशका केही स्थानहरूमा गरि करिब ३१ हजार ३ सय जना महिला तथा बालिकाहरूलाई आत्मरक्षा तालिम दिएका उनले आगामी ५ वर्ष भित्र २ लाख महिला तथा बालबालिकाहरूलाई आत्मरक्षा तालिम दिने योजनाका रहेको बताउँछन् ।

नागपुर स्पोटर्स एकेडेमीद्वारा “प्रतिभा सम्मान–१९९८” मा सम्मानित भएका प्रकाश अल इन्डिया वादोकाइ कराँते सङ्घ उत्तराखण्डको आयोजनामा हलद्वानी भारतमा सम्पन्न भएका आमन्त्रण अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता २०१८ को उद्घाटन सत्रमा उत्तराखण्डका तत्कालीन मुख्यमन्त्री भगतसिंह कोश्यारीबाट सम्मानित भएका थिए ।

“विशेष सेवा सम्मान २०७६’’ मा पूर्व मन्त्रिपरिषद् अध्यक्ष तथा प्रधान न्यायाधीश खिलराज रेग्मीबाट सम्मानित भएका उनी २०७२ मा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, सन २००९ मा श्रीलङ्का मा भएको प्रथम अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण पदक दिलाउन सफल भएको भन्दै पुष्पकमल दाहाल प्रचण्डबाट पनि सम्मानित भएका थिए ।

नेपालमा खेलकुदको ठूलो सम्भावना हुँदा पनि खेलाडीहरू टिकाउन समस्या भइरहेको उनको भनाइ छ । सरकारले ध्यान नदिँदा देशको लागि पदक जित्नेहरू विदेसिनु पर्ने बाध्यतासँग जुधिरहेको बताउँछन् ।

‘लामो समयसम्म खेलाडी टिक्न सकस छ । आर्थिक व्यवस्थाले पनि समस्या भइरहेको छ । खेलाडीहरूलाई शिक्षा स्वास्थ्य र खाद्यको लागि राज्यले व्यवस्था गर्नुपर्छ’ उनी भन्छन्, ‘अहिले राष्ट्रिय च्याम्पियनहरू अस्ट्रेलिया,अमेरिका, क्यानडा भासिएका छन् । दुई चार दिन खेल हुँदा चर्चा हुन्छ, बाइबाई हुन्छ त्यसपछि निकै समस्या हुन्छ ।’