आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने

शनिबार असोज १९, २०८१/ Saturday 10-05-24
Paschim Today

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्र दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार आयोजना गरेको भेटघाट तथा अन्तक्रियालाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन् ।

उनले विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको उल्लेख गर्दै अब देशव्यापी रूपमा एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने बताए ।

यस्तै उनले आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियान र त्यसकै कारण सरकारबाट हटाइएकाले जनतामा माओवादीप्रति नयाँ आशा र आकर्षण पैदा भएको भन्दै आगामी निर्वाचनमा एक्लै विजय प्राप्त गर्ने तयारी थाल्ने बताए ।

पछिल्लो समय टानलगायतका कतिपय संस्थामा कांग्रेस–एमाले मिल्दा पनि माओवादी एक्लैले चुनाव जितेको भन्दै अहिले देशव्यापी रूपमा देखिएको जनताको आशा र आकर्षणलाई संगठन निर्माण साथै जनलपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने वातावरण बनाउने पनि उनको भनाइ छ ।

उनले पछिल्लो समय प्राकृतिक प्रकोपका कारण सिर्जना भएको संकट समाधानका लागि आफ्नो पार्टीले महत्वपूर्ण पहलकदमी लिएको जानकारी दिंदै जनताको सेवा गर्ने अधिकारलाई कसैले खोस्न नसक्ने बताए ।

उनले सबैतिरका समस्या केन्द्रित गरेर चाँडै सरकारलाई ज्ञापनपत्र बुझाउने र त्यसलाई जनताको बीचमा पनि यथार्थ जानकारी दिने उल्लेख गर्दै यो वर्ष दसैं तिहारमा शुभकामना आदानप्रदानभन्दा संकटमा परेका जनताको सेवा गर्ने कार्यक्रम बनाउन नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

उनले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा, समाजवाद निर्माणको पक्षमा पार्टीले नयाँ संकल्प गर्नुपर्ने बेला आएको भन्दै जनताका अधिकार सुदृढ गर्न नयाँ आन्दोलनको आवश्यकता रहेको र त्यसको वैचारिक, सांगठनिक र सांस्कृतिक नेतृत्व आफ्नो पार्टीले गर्ने बताए ।