सुदूरपश्चिमको पहाडी जिल्लामा पहिलो पटक गोल्डकप हुँदै, विजेताले ३ लाख पाउने

शनिबार असोज १९, २०८१/ Saturday 10-05-24
Paschim Today

कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा पहिलो पटक पुरुष फुटबल गोल्डकप आयोजना हुन लागेको छ । प्रदेशका सात पहाडी जिल्लामध्ये पहिलो पटक बाजुरामा छेडेदह गोल्डकप २०८१ हुन लागेको हो । छेडेदह स्पोर्टस् क्लबको आयोजनामा कार्तिक १ देखि ७ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी भइरहेको छ ।

हरेक वर्ष दसैंतिहार विशेष हुने फुटबल प्रतियोगिता यस वर्षदेखि गोल्डकपको रुपमा आयोजना गर्न लागिएको क्लबका अध्यक्ष लोकेन्द्र खड्काले जानकारी दिए ।

खप्तड छेडेदह गाउँपालिका र छेडेहद स्पोर्टस् क्लबको संयुक्त सहकार्यमा हुने प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले दुई लाख, मेडल ट्रफी र प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्ता गरी पाँच विधामा थप पुरस्कार दिइनेछ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा हुने खेलमध्ये यो नै सर्वाधिक धनराशिको प्रतियोगिता हो । खेल क्षेत्रको विकासमा सहयोग गर्न र खप्तड छेडेदह गाउँपालिकाको आटीचौर क्षेत्रलाई खेल नगरीका रुपमा विकास गर्न प्रतियोगितालाई निरन्तरता दिइँदै आएको अध्यक्ष खड्काले बताए ।

यसअघि प्रतियोगिता छेडेदह कपको नाममा आयोजना हुँदै आएको थियो । पाँचौं छेडेदह कपको समापन समारोहमा खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावत र उपाध्यक्ष बिशुदेवी नाथले संयुक्त रुपमा छेडेदह गोल्डकपको नामले आयोजना गर्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार यो वर्षबाट पुरस्कार राशि बढाएर गोल्डकप आयोजना गर्न लागिएको हो । राष्ट्रिय टीमका खेलाडीसहितको टोलीले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

यो पटक जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका टीमलाई मात्रै खेलमा सहभागी गराइने आयोजकले निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा दर्ता गराउन नपाएका टीमको हकमा सम्बन्धित पालिकाको आधिकारिक सिफारिसपत्र हुनुपर्नेछ ।