'छक्का पञ्जा ५' मा दीपाश्री निरौला गीतमा मात्रै!

मंगलबार असोज २२, २०८१/ Tuesday 10-08-24
Paschim Today

फूलपातीमा रिलिज हुने फिल्म 'छक्का पञ्जा ५' ले ट्रेलर रिलिजसम्म यसका शीर्ष तीन बाहेकका अन्य कलाकारहरूलाई लुकायो। 

दीपकराज गिरी, केदार प्रसाद घिमिरे (माग्ने बुढा) र वर्षा सिवाकोटी बाहेकका कलाकारबारे ट्रेलरमा मात्रै जानकारी दिइयो। 

त्यसअघि सार्वजनिक फिल्मको 'ब्रेकअप' गीतमा दीपाश्री निरौलासहितका कलाकारहरू समेत फिचर्ड छन्। यसकारण फिल्ममा दीपाश्रीको पनि अभिनय रहेको धेरैको अनुमान छ। 

तर, उनको अभिनय त्यही एउटा गीतमा मात्रै रहेको बुझिएको छ। 

सार्वजनिक ट्रेलरमा दीपालाई गीतको दृश्यमा देखाइएको छ। 

त्यस्तै, ट्रेलरमा कलाकारहरूको विवरणमा पनि उनको नाम नहुनुले दीपाश्रीको अभिनय गीतमा मात्रै रहेको अनुमान गरिएको हो। 

'छक्का पञ्जा ५' लाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्। उनले यसअघि पनि आफूले निर्देशन गरेका फिल्ममा शीर्ष भूमिकामा अभिनय गरेकी छैनन्। 

'छक्का पञ्जा ४' मा उनी निर्देशक थिइनन्, सो फिल्ममा उनले शीर्षमध्येको भूमिकामा अभिनय गरेकी थिइन्।

'छक्का पञ्जा ५' मा दीपकराज, केदार र वर्षाका साथमा निर्मल शर्मा, राजाराम पौडेल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेश खनाल, हिउँवाला गौतम, नवीन श्रेष्ठ, दमन रूपाखेती, लोकेन्द्र लेखक लगायत कलाकारहरूको अभिनय छ।

सोसल–कमेडी जनराको यो श्रृंखला यस पटक फिल्म कर्मचारीतन्त्र र राजनीति वरपर घुमेको सार्वजनिक ट्रेलरबाट बुझ्न सकिन्छ। फिल्मको पटकथा दीपकराज गिरीले लेखेका हुन्। कथा र संवाद लेखनमा उनलाई केदार घिमिरे र दिलीप तामाङले सघाएका छन्।

आमा सरस्वती मुभिज र आईएमईको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्मातामा निर्मल शर्मा र केदार घिमिरे छन्।

फिल्मलाई क्युएफएक्स लगायतका मल्टिप्लेक्सले उच्च शो दिएका छन्।