तीनवटा प्रदेशको पहाडी भू–भागमा वर्षाको सम्भावना

सोमबार असोज २८, २०८१/ Monday 10-14-24
Paschim Today

पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। अहिले कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ । तीनवटै प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २९ गते मंगलबार पनि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनुका साथै कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। रातिको समयमा पनि सोही किसिमको मौसमी प्रणाली कायम रहने महाशाखाले पूर्वानुमान गरेको छ ।