धौलागिरि हिमाल आरोहणका क्रममा मृत्यु भएका रसियन नागरिकहरूको शव सङ्कलन गरिँदै

बुधबार असोज ३०, २०८१/ Wednesday 10-16-24
Paschim Today

धौलागिरि हिमाल आरोहणका क्रममा मृत्यु भएका पाँच जना रसियन पर्वतारोहीको शव सङ्कलन गर्न थालिएको छ।

सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा भेटिएका ती पर्वतारोहीको शव उठाउन थालिएको हो।

एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका शेर्पाको टोलीले घटनास्थलबाट शव उठाउन थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए।

सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाको नेतृत्वमा पाँच जना शेर्पाहरूको टोली शव उठाउन खटिएका छन्।

आधार शिविरमा बुधबार बिहान ११ बजेसम्म एक वटा शव झारिएको र अन्य शव सङ्कलन गरेर आधार शिविरमा ल्याउने तयारी भएको उनले बताए।

आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरू सात हजार छ सय मिटरको उचाइबाट असोज २१ बिहान ११ बजेदेखि सम्पर्कविहीन थिए।

प्रहरीका अनुसार रसियन अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो।

हेलिकप्टर अवतरण गर्न र हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण सङ्कलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो।a

उद्धारकर्ताहरू हेलिकप्टरबाट रसीमा झुन्डिएर शव भएको ठाउँमा पुगेका हुन्। आइ एम ट्रेकिङ एन्ड एक्सपिडिसनमार्फत १४ रसियाका पुरुष पर्वतारोहीहरु धौलागिरि हिमाल आरोहणका लागि गएका थिए।

दुई जनाले सफल आरोहण गरेका थिए। सातजना पर्वतरोहीहरुले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए। यसअघि शव ल्याउन हिमालमा गएको हेलिकप्टर रित्तै फर्किएको थियो।

धवलागिरि म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर ४ मा पर्छ। पर्यटन विभागका अनुसार चालु शरदयाममा रसियाका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए।

(रासस)