सहकारीको रकम हिनामिनामा दोषी देखिएकाहरूमाथि कारवाही प्रक्रिया सुरू भइसक्यो : सञ्चारमन्त्री

बुधबार असोज ३०, २०८१/ Wednesday 10-16-24
Paschim Today

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी छानविन समितिको प्रतिवेदन अनुसार दोषीमाथि कारवाहीको प्रक्रिया सुरु भइसकेको बताएका छन्। बुधबार सिंहदरबारमा रेडियो नेपालको दनुवार भाषामा समाचार तथा कार्यक्रम प्रसारण शुभारम्भ गर्दै मन्त्री गुरुङले प्रतिवेदनले दोषी देखाएका निकाय र व्यक्तिमाथि कारवाही गर्न सम्बन्धीत मन्त्रालयलाई लेखिपठाइसकेको बताएका हुन्।

 

उनले वर्तमान सरकारले सहकारी पीडित जनतालाई न्याय दिएरै छाड्ने प्रतिवद्धता जनाए । त्यस्तै मन्त्री गुरुङले उखु किसान र दुग्ध किसानको बक्यौता भुक्तानीका लागि पनि सरकारले आवश्यक सहजीकरण गरेको जिकिर गरे।

जनताको समस्याप्रति संवेदनशील बन्नका लागि वर्तमान सरकार बनेको उनको भनाइ छ । उनले सरकारको स्थीरताका लागि ठूला दुई दल मिल्नुपरेको धारणा राखे।

 

उनले वर्तमान सरकार गठन भएपछि मुलुकको आर्थिक अवस्था सुदृढ हुँदै गएको दावी गरे । यसअघिको सरकारले निर्माण व्यवसायीको भुक्तानी गर्न बाँकी रकम अहिलको सरकारले क्रमश भुक्तानी गर्दै जाने उनले बताए।