डडेल्धुरा दुर्घटनाका घाइतेको उपचारमा कुनै कसर वाकी नराख्न मन्त्री भण्डारीको निर्देशन

बुधबार असोज ३०, २०८१/ Wednesday 10-16-24
Paschim Today

कैलाली । मंगलबार राती डडेल्धुरामा बस दुर्घटनाबाट घाइते भएकाहरूलाई भेट्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उपचारमा कुनै कमी नहुने बताएका छन् । धनगढीको माया मेट्रो अस्पतालमा उपचाररत घाइतेहरूलाई भेट्दै मन्त्री भण्डारीले शीघ्र स्वास्थ्य लाभको कामनासहित घाइतेहरूको उपचारमा कुनै कमी नगर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका हुन् ।

 मन्त्री भण्डारीले अस्पतालका निर्देशक डा.मोहन साउँदलाई घाइतेहरूका विषयमा गम्भीर बन्न,  सहज र सहज ढंगले उपचारलाई अगाडी बढाउन भनेका थिए ।

‘बस दुर्घटनामा परी मेरो गृह जिल्लाका ५ जनाले ज्यान गुमाएका छन् म अन्त्यतै दुखी भएको छु’ डा.साउँदसँग कुरा गर्दै मन्त्री भण्डारीले भने ‘घाइतेका अभिभावकहरुले उपचारमा ढिला भइरहेको गुनासो गर्नुभएको छ, यसो नगर्नुहोला, तपाइले सक्ने उपचार छिटो र सहज गर्नुहोला, नसक्नेलाई रेफर गरिदिनुहोला ।’

मन्त्री भण्डारीलाई डा.साउँदले सबैको उपचार माया मेट्रोमै सम्भव रहेको बताएका थिए । दशैँका लागी चिकित्सकहरू बिदामा भएका कारण केही ढिला भएपनि आज देखी सबै जनशक्ति पुगिसक्ने उनले मन्त्रीलाई आश्वस्त पारे ।

मन्त्री भण्डारीले पवनदुत यातायात प्रा.लीका अध्यक्षसँग फोन संवाद गरी घाइतेका उपचारका लागी तत्काल बिमा रकम निकासा गर्ने प्रबन्ध मिलाउन पनि निर्देशन दिएका थिए ।

महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रि बस मंगलबार राति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको हो । पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै पाँच जनाले ज्यान गुमाएका हुन् ।

दुर्घटनामा परी पुर्चौडी–३ बस्ने ४५ वर्षीया जैमती बोहरा, दुई दिनको शिशु, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको घटनास्थलमै मृत्यु भएको हो । यस्तै पुर्चौडी नगरपालिका–१० की ६० वर्षीया गोवणी महराको पनि मृत्यु भइसकेको छ ।

दुर्घटनामा गम्भीर घाइते बस चालक वीरेन्द्र बोहरासहित १२ जनालाई थप उपचारका लागि धनगढी ल्याइएको हो ।   बस सडकबाट झन्डै तीन सय मिटर तल खसेको थियो। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।