‘निकुञ्जबाट विस्थापितलाई पुनःस्थापन गर्छौं’

बिहीबार कार्तिक १, २०८१/ Thursday 10-17-24
Paschim Today

कञ्चनपुर, ३० असोज : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापनमा परेका परिवारलाई छिट्टै पुनःस्थापन गरिने बताउनुभएको छ ।

शुक्लाफाँटा नगरपालिका–९ स्थित पर्यटकीय क्षेत्र भम्केपानीमा कांग्रेस कञ्चनपुरले आज आयोजना गरेको जनप्रतिनिधि भेटघाटमा उहाँले पूर्वन्यायाधिशको संयोजकत्वमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जग्गा समस्या समाधान आयोग गठन भई आवश्यक काम अगाडि बढाइएको बताउनुभयो ।

“अधिकार सम्पन्न आयोग गठन गरिएको छ”, उहाँले भन्नुभयो, “वास्तविक निकुञ्ज विस्थापित परिवारलाई पुनःस्थापनाको आयोगले टुङ्गो लगाउनेछ ।” कृषि उत्पादनलाई बढाउनका लागि महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणअन्तर्गतको नहर निर्माण गति दिइने बताउनुभयो । “देशकै गौरवको योजना भएकाले जुन गतिमा काम हुनुपर्ने हो, त्यो हुन सकेको छैन”, नेता साउदले भन्नुभयो, “निर्धारित समयभित्रै काम पूरा गर्न हरसम्भव प्रयास गर्छौं ।”

कांग्रेसका अर्का केन्द्रीय सदस्य नृप ओडले पार्टीको सयदिने अभियानलाई जिल्लाका नौवटै स्थानीय तहका ९२ वटै वडामा पुर्‍याइने बताउनुभयो ।