ह्वाट्सएप र इन्स्टाग्रामबाट कर्मचारी निकाल्दै मेटा

बिहीबार कार्तिक १, २०८१/ Thursday 10-17-24
Paschim Today

काठमाडौं । फेसबुकको मात्री कम्पनी मेटाले ह्वाट्सएप, इन्स्टाग्राम र रियालिटी ल्याबका विभिन्न विभागबाट कर्मचारी निकाल्न थालेको छ । अन्तराष्ट्रिय सञ्चार माध्ययम भर्जले एक प्रतिवेदन प्रकाशन गर्दै मेटाले कर्मचारी कटौती गर्न लागेको विषय बाहिर ल्याएको हो । 

कम्पनीले एकैपटक ठूलो सङ्ख्यामा कर्मचारी हटाउनेभन्दा पनि विभिन्न विभागबाट विभिन्न चरणमा कर्मचारी हटाउने काम थालेको छ । मेटाका केही कर्मचारीले सामाजिक सञ्जाल थ्रेड्समा पोस्ट राख्दै आफू निकालिएको जानकारी दिएका छन् ।

सन् २०२३ मा थ्रेड्समा आवद्ध भएकी जेन म्यानचुन वङले आफू कम्पनीबाट निकालिएको उल्लेख गरेकी छिन् । वङले थ्रेड्समा आउने विभिन्न फिचर बाहिर ल्याएर चर्चा पाएकी थिइन् । 

“आज मेटाका केही टिमहरूले आफ्नो दीर्घकालीन रणनीतिक लक्ष्य र स्थान रणनीतिसँग स्रोत सुनिश्चित गर्न केही परिवर्तन गरिरहेका छन्,” मेटाका प्रवक्ता डेभ अर्नोल्डले द भर्जलाई भने । यसमा केही कर्मचारीलाई विभिन्न विभागमा स्थानान्तरण गर्नेदेखि, नयाँ भूमिका दिने वा हटाउनेसम्मका निर्णय हुनसक्ने उनले बताए । 

कम्पनीले यस वर्षको सुरुवातदेखि नै रियालिटी ल्याबबाट कर्मचारी कटौती गर्न सुरु गरेको थियो । मेटाले सन् २०२२ मा एकै पटक ११ हजार कर्मचारी निकालेको थिए । सन् २०२३ सम्म थप १० हजार कर्मचारी कटौती गरेको कम्पनीका सीईओ मार्क जुकरबर्गले घोषणा गरेका छन् ।