महिलाहरूमा किन दुखिरहन्छ तल्लो पेट ?

शुक्रबार कार्तिक २, २०८१/ Friday 10-18-24
Paschim Today

काठमाडौं । तल्लो पेट दुख्ने समस्या पछिल्लो समय धेरै महिलाहरुमा देखिन थालेको छ। यो किन हुन्छ ? भन्ने कुराको ज्ञान भने धेरैलाई नहुन सक्छ। आजको यो अंकमा हामी यहीबारे जानकारी दिने प्रयास गर्नेछौं।

हुन त सबै अंगहरु संवेदनशील नै हुन्छन्। त्यसमाथि प्रजनन् स्वास्थ्यका अंगहरु हुने भएकाले महिलाको तल्लो पेट थप संवेदनशील हुन्छ। विशेषगरी प्रजनन् स्वास्थ्यसँग सम्बन्धित अंगहरुको क्षेत्रलाई तल्लो पेट भनिन्छ। पाठेघर, अण्डाशय, अण्डाविहीन नलीसहित पिसाबथैली, ठूलो आन्द्रा, एपेन्डिक्स यसैभित्र रहेका हुन्छन्। यति धेरै अंगमध्ये कुनै एकमा सामान्य समस्या आएमा पनि तल्लो पेट दुखेको महसुस हुन्छ। तर कुन अंगमा समस्या अएको हो र कहाँ दुख्दैछ भन्ने यकिन भने गर्न सकिएको हुँदैन।

महिनावारीको बेला तल्लो पेट बढी दुख्ने गर्छ। महिनावारी चक्र सुरु हुनु केही दिनअघि र पछि दुख्न सक्छ। यस्तै डिम्ब उत्पादन हुँदा पनि तल्लो पेट दुख्ने गर्छ। त्यसबाहेक पिसाबको संक्रमण, यौनाङ्गको संक्रमणमा तल्लो पेट दुखेको अनुभव हुन्छ । तर यसलाई सामान्य मानिन्छ। उपचारपछि ठीक हुन्छ।

तर कहिलेकाहीं अण्डाशय लगायतमा क्यान्सर भए तल्लो पेट दुख्ने गर्छ। त्यसैले दुखाइको आधारमा त्यो सामान्य हो वा जटिल भन्न सकिंदैन। निरन्तर कति महिना वा वर्षदेखि पेट दुखिरहेको छ रु दुखाइसँगै रगत बगेको छ कि छैन ? सेतो पानी बग्छ कि बग्दैन ? ढाड पनि दुख्छ कि दुख्दैन ? यी कुराहरुले तपाईको तल्लो पेट दुखाइको अवस्था निर्धारण गर्छ।

यस्तो बेलामा चिकित्सकको सल्लाह लिन आवश्यक छ। पेट हेर्ने, योनीमार्गको परीक्षण गर्ने, पाठेघरको मुख हेर्ने, भिडियो एक्स रे गर्ने, रगत, पिसाब वा पानीको परीक्षण गर्नुपर्छ। तल्लो पेट दुख्ने कुरामा आत्तिने भन्दा पनि अवस्थाको मुल्यांकन गरेर चिकित्सकको सल्लाहमा निवारण गर्न आवश्यक छ।

(प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा.बालकृष्ण साहको सहयोगमा)