असोजमा वैदेशिक रोजगारीका लागि ५३ हजार नेपाली बिदेसिए

शुक्रबार कार्तिक २, २०८१/ Friday 10-18-24
Paschim Today

काठमाडौँ । असोज महिनामा ५३ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार असोजमा ५३ हजार ५२५ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना महिला छन् ।

 

 

३४ हजार १६९ जनाले पहिलो पटक श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

असोजमा ६४२ म्यानपावर कम्पनीले २४ हजार ३९१ जनालाई वैदेशिक रोजगारीमा पठाएका छन् । त्यस्तै व्यक्तिगत श्रम स्वीकृति लिएर आठ हजार ९३८ जना र जी–टु–जी मार्फत ८४० जना वैदेशिक रोजगारीमा गएका हुन् ।

असोजमा ७५ जना उच्च जनशक्ति, ३३० जना व्यावसायिक, पाँच हजार ७६३ जना अर्ध दक्ष, ३३ हजार ९१९ जना दक्ष र १३ हजार ४३८ जना अदक्ष कामदार वैदेशिक रोजगारीमा गएको विभागको तथ्याङ्कले देखाएको छ ।

यो सङ्ख्या गत वर्षको असोज महिनाको तुलनामा दुई हजार ७१० जना कम हो । गत वर्षको असोजमा ५६ हजार २३५ जना वैदेशिक रोजगारीमा गएका थिए ।

चाडपर्वको महिना भएकाले असोजमा केही देखिएको छ । साउन महिनामा ५९ हजार ५७५ जना र भदौमा ५७ हजार ४९३ जना वैदेशिक रोजगारीमा गएका थिए ।