बिहान पौने ३ बजे पोखरा पुर्‍याइएको थियो रवि लामिछानेलाई

शनिबार कार्तिक ३, २०८१/ Saturday 10-19-24
Paschim Today

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की ल्याइएको छ।

स्थलमार्ग हुँदै शनिबार बिहान पौने ३ बजे लामिछानेलाई कास्की प्रहरी कार्यालय ल्याइएको थियो। जिल्ला प्रहरी कार्यालय ल्याइएलगत्तै प्रहरीले उनलाई स्वास्थ्य परीक्षण गराउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो ।

अस्पतालबाट फर्काउँदै गर्दा प्रहरी कार्यालय अगाडि रास्वपा उपसभापति स्वर्णिम वाग्ले, डिपी अर्याल लगायत नेता कार्यकर्ताले रवि लामिछानेको पक्षमा नाराबाजी पनि गरेका थिए।

लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन्।

जिल्ला अदालत कास्कीले शुक्रबार पक्राउ पुर्जी जारी गरेपछि कास्की प्रहरीले लामिछानेलाई पक्राउ गरी पठाइदिन सिआइबीलाई पत्राचार गरेको थियो। 

शुक्रबार बेलुका नै पक्राउ परेका लामिछानेलाई उनकै आग्रहमा प्रहरीले स्थलमार्गबाट पोखरा लगेको हो। लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगी कसुरमा अनुसन्धान हुनेछ। 

सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै संसदीय छानबिन समितिले लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो।

सहकारी संस्थाको बचत रकम दुरूपयोगसम्बन्धी गठित संसदीय छानबिन समितिले गत भदौ ३१ गते प्रतिनिधि सभामा प्रतिवेदन पेस गरेको थियो। जसमा रवि लामिछानेको संलग्नता देखिएकोले कारबाही सिफारिस गरिएको थियो।

प्रतिवेदनअनुसार विभिन्न सहकारीका रकम गोर्खा मिडियामा आएको थियो। गोर्खा मिडियाको तत्कालीन प्रबन्ध निर्देशक लामिछाने थिए। गृहमन्त्री रमेश लेखकले गत असोज  ६ गते सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिएका थिए।

उक्त निर्देशनपछि सोही दिन प्रहरीले गोर्खा मिडियाका तत्कालीन सदस्य पूर्वडिआइजी छविलाल जोशीलाई पक्राउ गरेको थियो भने असोज १५ गते लीला पछाइलाई पक्राउ गरेर कास्की लगेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद लामिछानेसहित विभिन्न कम्पनी र व्यक्तिलाई विपक्षी बनाएर सहकारी बचत पीडितले गत वर्ष माघ २२ गते नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थियो।

संसदीय छानबिन समितिले लामिछानेसँग बयान लिएपछि कास्की प्रहरीले पनि काठमाडौ पुगेर उनीसँग बयान लिएका थियो। सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय जनाले बचत राखेको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रूपैयाँ अपचलन भएको छानबिन समितिले जनाएको छ।

बचत अपचलन गर्दा सहकारीले कानुनविपरीत गैरसदस्यलाई ऋण दिएको, कम्पनीमा लगानी गरेको लगायत निष्कर्ष निकालेको छ।

सहकारीको बचत अपचलन मुद्दामा शिवबहादुर गुरूङ ‘महेन्द्र भोटे’ भविश्वर अर्याल, सहकारीका कोषाध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका म्यानेजर कुमार रम्तेल, सहकारीका पूर्वउपाध्यक्ष कैलाशकुमार दर्लामी मगर, संचालक समिति सदस्य प्रमोद भट्टराई पूर्पक्षका लागि थुनामा छन्।

सुर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार मानिएका पूर्वअध्यक्ष एवं गोर्खा मिडियाका अध्यक्ष जिबी राई, उनका दाजु भूपेन्द्र राई, थानबहादुर बुढा, धीरजकुमार दास लगायत अझै फरार छन्।