द्वन्द्वकालीन पत्रकारिताको साक्षी

शनिबार कार्तिक ३, २०८१/ Saturday 10-19-24
Paschim Today

नेपाली पत्रकारिताको भिडमा एक स्थापित नाम हो– दीर्घराज उपाध्याय । करिब तीन दशकदेखि पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील पत्रकार उपाध्यायले हालसालै सार्वजनिक गरेको नयाँ कृति हो– ‘द्वन्द्व पत्रकारिताको एक दशक’ । सुदूरपश्चिमको डोटीमा जन्मिएर कैलालीको धनगढीलाई कर्मथलो बनाएका पत्रकार उपाध्यायले एक साहसी र निडर पत्रकारको पहिचान स्थापित गरेका छन ।

यसअघि गजलसङ्ग्रह ९२०५९० र नोट अफ डिसेन्ट कवितासङ्ग्रह (२०६३) प्रकाशन गरिसकेका उनको यो तेस्रो कृति हो । यस कृतिमा विभिन्न शीर्षकका २४ वटा आलेख समेटिएका छन् । तत्कालीन नेकपा ९माओवादी० पार्टीले २०५२ साल फागुन १ देखि २०६२ सम्म चलाएको सशस्त्र युद्ध (जनयुद्ध) का बेला सरकार र युद्धरत पक्षका घटनाको पत्रकार उपाध्यायले प्रत्यक्ष रिपोर्टिङ गरेको अनुभव र स्मरण कृतिमा सङ्गृहीत गरेका छन।

देउवामाथिको त्यो आक्रमण, डोटीको उत्तरी भेगमा पाँच दिन, रोल्पादेखि डोटीसम्म, बम गोलीसँग अभ्यस्त, रणभूमिमा रिपोर्टिङ, निर्दोष मारिएका दुई घटना, सैन्य यातनाको हद, पत्रकारको सङ्घर्ष, हगुल्टेको लडाइँ, महरा र बादल भेट्ने लालसा, न्यायको अपूरो लडाइँ, माओवादीले पाएको धक्का, एफएम लुटिएको रात, आँखामा कैद आक्रमण, युद्ध रिपोर्टिङको अनुभव, युद्ध त्रासदीमा अछाम, मुर्दाशान्तिमा बनबेहडा, बिथोलिएको माओवादी आमसभा, पन्डौनले बेहोरेको युद्ध, सैन्य क्याम्पमा चार रात, धम्कीले नडगेको कलम, कहिले मिल्ला न्याय रु लगायतका शीर्षकमा आलेख तयार गरिएको कृतिमा पत्रकार उपाध्यायले मुख्यतः द्वन्द्वकालमा पत्रकार र पत्रकारिताले भोगेका चुनौती र अप्ठेरालाई चिरफार गरेका छन ।

पत्रकारले समाचार सङ्कलनको जिम्मेवारी निर्वाह गर्दा भोग्नुपर्ने चुनौती र आरोहअवरोहलाई कृतिले छर्लङ्ङ पारेको छ । प्रस्तुतिका हिसाबले उपाध्यायको शब्दचातुर्यले आङै सिरिङ्ङ  पार्छ । कृतिले अतीतका त्रासदी घटनालाई ऐना झैँ सुस्पष्ट पार्ने काम गरेको छ । यसर्थ कृति पठनीय र सङ्ग्रहणीय छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि कैलालीको आमखैया जङ्गलमा २०५९ साल भदौ ८ गते राजमार्गमा माओवादीले गरेको आक्रमण घटनालाई कृतिमा प्रस्टसँग उल्लेख गरिएको छ । पुस्तकमा लेखिएको छ, “धनगढीबाट हिँडेको ४५ मिनेटपछि देउवा चढेको गाडी पहलवानपुरको आमखैया पुग्यो । बाटोमा माओवादी जनमुक्ति सेनाका सात आठ जना लडाकु कम्ब्याट पोसाकमा थिए ।

उनीहरू गाडी रोक्ने उद्देश्यले सडकमा उभिएका थिए । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पहलवानपुर र मसुरियाको बिचमा पर्ने आमखैयाको त्यो भूगोल सडकमा गुड्ने गाडीमाथि आक्रमण गर्न सहज थियो । दुवैतिर डाँडा र त्यसमाथि घना जङ्गल । बिचमा बाटो । देउवाका अङ्गरक्षक रामजी कटुवाललाई डाँडाको दुवैतिर जङ्गलमा माओवादी लडाकुहरू पहिलेदेखि आक्रमणको तयारीमा बसेको अनुमान गर्न गाह्रो भएन । उनले डाँडामा त्रिपटमा एलएमजी तयारी अवस्थामा राखेको देखिहाले ।

गाडीको गति प्रतिघण्टा सय किलोमिटरभन्दा बढी थियो । त्यसलगत्तै गाडीको गति थप बढाउन चालकलाई भने । गाडी रोक्ने प्रयास सफल नभएपछि माओवादीले सडकको दुवैतिरका डाँडाबाट एकसाथ एलएमजीले फायर खोले । गोली लागेर प्रहरीको गाडीको पछाडिका दुवै पाङ्ग्रा पन्चर भए । रिङका भरमा प्रहरीको गाडी अघि बढ्यो । त्यसपछि देउवा चढेको गाडीमा अन्धाधुन्ध आक्रमण गरे । गाडीमा गोली लागेको आवाज आइरहेको  थियो ।

देउवाले गाडीमा ढुङ्गाले आक्रमण गरेको हो कि भनेर कटुवाललाई सोधे । माओवादी आक्रमणबाट देउवालाई जोगाउन कटुवालले तत्काल देउवाको सिट पछाडि सारे । एकातिरबाट कटुवालले र अर्कोतिर अर्का अङ्गरक्षक बाबुकाजी खड्काले देउवाको बडी कभर गरे । आक्रमणको प्रकृति हेर्दा माओवादीले मार्ने नियतले देउवामाथि आक्रमण गरेका थिए तर देउवा सुरक्षित सुक्खड बजार पुगे ।”

त्यो समय युद्धविरामको समय थियो । सत्तामा नभएकाले माओवादीले आफूलाई आक्रमण गर्लान् भन्ने देउवालाई विश्वास थिएन । त्यहीकारण केही सुरक्षाकर्मीका साथ देउवा धनगढीबाट नेपालगन्जका लागि हिँड्नुभएको थियो । आक्रमण भएकै साँझ माओवादीका तत्कालीन सुदूरपश्चिम इन्चार्ज पोष्टबहादुर बोगटीले विज्ञप्ति प्रकाशित गर्दै देउवामाथि भूलवश आक्रमण भएको भन्दै क्षमा माग्नुभएको थियो । सो घटनाबारे पत्रकार उपाध्यायले कृतिमा विस्तृत रूपमा व्याख्यासहित उल्लेख गरेका छन । 

‘कहिले मिल्ला न्याय रु’ शीर्षकको अर्को आलेखमा उल्लेख गरिएको छ, “२०५८ मङ्सिर १३ गते तत्कालीन शाही नेपाली सेनाले दाङको सदरमुकाम घोराहीदेखि तीन किलोमिटर पूर्व–दक्षिणमा पर्ने त्रिभुवननगर नगरपालिका–३, बर्गदी गाउँमा दिउँसो ३ बजे पन्ध्र खलिहानमा धान दाइँ गरिरहेका ११ जना किसान खुसीराम चौधरी, आशाराम चौधरी, शीतलाल चौधरी, जोगीराम चौधरी, जगमान चौधरी, प्रसाद चौधरी, कृष्ण चौधरी, सोमलाल चौधरी, रिसमान चौधरी, रामु चौधरी र रूपलाल चौधरीलाई माओवादी आरोपमा गोली हानी सामूहिक हत्या ग¥यो ।”

सशस्त्र द्वन्द्वकालमा धेरै निर्दोषले विभिन्न बहानामा ज्यान गुमाए । कसैले माओवादीलाई खाना खुवाएको बहानामा ज्यान गुमाए, कसैले आश्रय दिएको बहानामा त कसैले अभियानमा हिँडेको नाममा । कसैले सुराकी गरेको आरोपमा त कसैले मागेको चन्दा सहयोग नगरेको बहानामा ज्यान गुमाउनुप¥यो । सरकार पक्ष र माओवादी पक्ष दुवैको चेपुवामा सर्वसाधारण नागरिक परे ।

पत्रकार उपाध्यायले विशेष गरी सुदूरपश्चिमको भूगोलमा केन्द्रित गरी घटना विवरण पुस्तकमा समेटेको भए पनि रोल्पा, रुकुम, सुर्खेत र दाङसमेतको रिपोर्टिङको अनुभव सङ्गृहीत गरेका छन। द्वन्द्वकालभरि पत्रकारले भोगेका पीडा र समस्यालाई पुस्तकमा राम्रोसँग लिपिबद्ध गरिएको छ । त्यसैले यो पुस्तक त्यो समयको सरकार र द्वन्द्वरत पक्षको घटनाको गतिलो साक्षी बनेको छ । त्यो समयमा पत्रकारिता सुरु नगरेका र गरेका पत्रकारले पत्रकारको भोगाइ, पीडा र सङ्घर्ष पढेर प्रत्यक्ष तथा परोक्ष रूपमा अनुभव ग्रहण गर्न सक्ने छन् ।   

नेपाल पत्रकार महासङ्घको कैलाली शाखा अध्यक्षको जिम्मेवारीमा रहँदा र नरहँदासमेत पत्रकार उपाध्याय पत्रकारको पीडामा सधैँ साथ रहे । लेखेकै कारण सरकार र माओवादी पक्षबाट दिइने अनाहकको यातना र प्रताडनाविरुद्ध निरन्तर कलम चलाए । पत्रकार र नेपाली पत्रकारिताप्रति त्यतिबेलाको सरकार र युद्धरत पक्ष संवेदनशील नभएका कारण धेरै पत्रकारले अनाहकमा ज्यान गुमाउनुपरेको उहाँले कृतिमा उल्लेख गरेका छन ।

द्वन्द्वकालमा सरकार, माओवादी र मिडिया तीन पक्ष थिए । समाचार लेखेकै कारण सरकार र माओवादी दुवै पक्षबाट पत्रकारलाई आउने धम्की सामान्य झैँ थियो । आफ्नो पक्षमा राम्रो समाचार आउनुपर्ने दुवै पक्षको अपेक्षा हुने गथ्र्यो । साँढेको लडाइँमा बाच्छाको मिचाइ पत्रकार भएका थिए । ती विषय पत्रकार उपाध्यायले पुस्तकमा सङ्गृहीत गरेले पुस्तक पठनीय त छ नै, द्वन्द्वरत पक्षको गतिलो साक्षीसमेत बन्न सफल भएको छ ।