ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक छैनः प्रधानमन्त्री

शनिबार कार्तिक ३, २०८१/ Saturday 10-19-24
Paschim Today

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिपत्रका लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको जनाएका छन् । 

नागरिक एप मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने उनको भनाइ छ । सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको समेत उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् ।

‘यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट हटेको छ’, ओलीको भनाइ छ । आइतबारदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यलयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुने उनले जानकारी दिए । 

यस्तै नागरिक एपमा अरु सेवा पनि थप्ने तयारी गरिएको ओलीको भनाइ छ । ‘कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी लागेका छौँ’, उनको भनाइ छ, ‘राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा यसले सहयोग पुग्नेछ भन्ने हामीले आशा राखेका छौँ।’