सात वर्षदेखि हुलाकी राजमार्ग निर्माणाधीन, गुनासोले वडाध्यक्ष हैरान

मंगलबार कार्तिक ६, २०८१/ Tuesday 10-22-24
Paschim Today

विषराम राना कञ्चनपुरको बेलौरी नगरपालिका–८ का वडाध्यक्ष हुन्।  उनलाई गाउँका मान्छेले नियमित सोध्ने प्रश्न हो, हुलाकी राजमार्गअन्तर्गतको डोके बजारदेखि वेदकोटको दैजीसम्मको सडक खण्ड कहिले बनिसक्छ?  

उनीहरू हिउँदमा धुलाम्मे र वर्खामा हिलाम्मे हुने सडकबाट आफूहरूलाई छुटकारा दिलाउन वडा अध्यक्ष विषरामलाई बारम्बार प्रश्न गरिरहन्छन्।

उनीहरूको नियमितजस्तो सोधाइले वडाअधयक्ष विषराम दबाबमा त पर्छन् नै तर उनलाई वडाबासीलाई दिने उत्तर समेत थाहा छैन। 

‘गाउँलेलाई यो सडक कसले बनाउने हो? यो सडक बनाउन लगाएको पैसा कसले दिने हो, सडक बनाउने कुन कार्यालय र त्यसको हाकिम को छ? ठेकेदार को हो? भन्ने कुरा थाहा छैन,’ विषरामले भने, ‘गाउँलेले देख्ने मलाई नै हो, त्यसैले सोध्नु पनि स्वभाविक हो। तर म नै अनभिज्ञ छु, जबाफ के दिऊँ। वास्तवमा यो सडक बनाउनुपर्ने केन्द्र सरकारले हो, उसले कामै गर्दैन।’

जनताको प्रश्नको जबाफ खोज्दै उनी केही समयअघि यो सडक बनाउने ठेक्का पाएको निर्माण कम्पनीका सञ्चालककहाँ पुगेका थिए।  

‘सरकारले काम गर् मात्र भनेर भएन, पैसा दिएको छैन। त्यही भएर काम रोकिएको छ,’ सञ्चालकबाट वडाध्यक्षले यस्तो जबाफ पाए। 

कञ्चनपुरको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा चुनाव जितेर अहिले गृहमन्त्री भएका रमेश लेखक एक महिनाअघि गृहजिल्ला कञ्चनपुरमा आएका थिए। 

बेलौरीका जनप्रतिनिधिको एक टोलीले निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडकको काम छिटो सम्पन्न गर्न मन्त्री समक्ष ज्ञापन पत्र बुझाएको थियो। उक्त ज्ञापन पत्र बुझ्दै मन्त्री लेखकले सडक बनाउनका लागि पैसा प्रशस्त भएको तर ठेकेदारको लापरबाहीले मात्र सडक नबनेको जबाफ दिएका थिए।

उनले अब काम छिटो गर्न निर्देशन दिने दाबी पनि गरे।

‘ठेकेदारले भुक्तानी नपाउँदा काम रोकेको कुरा गरेको थियो। मन्त्रीलेज्यूले पैसाको अपुग छँदै छैन भन्नुभयो, ७ वर्षदेखि यो सडक नबन्नुमा मलाई त यसमा राजनीतिक चलखेल भइरहेको छ जस्तो लाग्छ,’ विषरामले भने।

बेलौरी नगरपालिका–७ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले पनि लामो समयदेखि बन्ने भनिएको सडक नबन्दा स्थानीयवासीले सास्ती खेप्नुपरेको बताउँछन्।

उनलाई पनि स्थानीयले सडक छिटो बनाउन विषरामलाई जस्तै नियमित गुनासो पोख्छन्।  सडक नहुँदा किसानले उत्पादन गरेका कृषिउपजलाई धनगढी, महेन्द्रनगरका बजारसम्म पुर्‍याउन कठिनाइ छ। स्थानीयलाई आवतजावतमा निकै सास्ती छ। सडक आसपासमा घर भएकाले स्थानीयले हिउँदमा धुलो, धुवाले गर्दा बिरामी समेत हुनुपर्ने अवस्था सिर्जना भएको वडा नम्बर ८ का वडा बासिन्दा किशन रानाले बताए।

कञ्चनपुरको पुनर्वास नगरपालिकाको डोके बजारदेखि वेदकोटको दैजीसम्मको हुलाकी सडक निर्माणका लागि २०७३ फागुनमा सम्झौता भएको थियो।

झण्डै ६२ किलोमिटर लामो हुलाकी राजमार्गअन्तर्गतको उक्त खण्डको निर्माण तीस महिनामा सक्नुपर्ने गरी विभिन्न प्याकेजमा कम्पनीहरूलाई जिम्मा दिइएको थियो।  

हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनियर दीपक सुनारका अनुसार पाँचौं पटक थप भएको म्याद आउँदो असार मसान्तमा सकिँदै छ।

तीन प्याकेजमध्ये पहिलो प्याकेज डोके बजारदेखि बेलौरीसम्म) २० किलोमिटर सडक सम्पन्न भएको छ। ३६ करोड ४७ लाखमा शर्मा–राजेन्द्र जेभीले पाँचौं पटक थपिएको म्यादभित्र रहेर सम्पन्न गरेको हो।

अरू प्याकेजमा पर्ने २३ दशमलव पाँच किलोमिटर अझै कालोपत्र गर्न बाँकी छ।

त्यसैगरी बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजमा साढे नौ किलोमिटर सडक मात्रै कालोपत्र गरिएको छ। 
४१ करोड ४१ लाखमा बाबा हंस–सिद्धिसाई जेभीले यो प्याकेजको सडक बनाउने जिम्मा पाए पनि ५० प्रतिशतभन्दा बढी काम भने गर्न बाँकी छ। 

एक वर्षभित्र २० किलोमिटर सडक कालोपत्रे गरिसक्ने ठेकेदारले बताउने गरेको बेलौरी–८ का वडा अध्यक्ष विषराम रानाले बताए। 

सो प्याकेजको पचुँइ क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्र गर्न दिएको छैन।

त्यसैगरी हुलाकी सडकको अन्तिम प्याकेजमा पर्ने बेल्डाडी–दैजीको  २२ किलोमिटरमध्ये साढे नौ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ। 

यी दुवै प्योकजमा ठेकेदारले समयमै काम पूरा नगरे कारबाही गरिने आयोजना कार्यालयको भनाइ छ।

‘दोस्रो र तेस्रो प्याकेजको काम सक्ने समय असार मसान्तसम्म तोकिएको छ,’ उनले भने, ‘ठेक्का सम्झौता भएयता ३८ दशमलव पाँच किलोमिटर सडक कालोपत्र भएको छ।

सरकारले विगतमा खरिद नियमावली संशोधन गरेर म्याद थपिदिएको थियो। त्यसरी नै म्याद थपका लागि नियमावली संशोधन नभए अब निर्माण व्यवसायीलाई कारबाहीको प्रक्रिया अघि बढाइने इन्जिनियर सुनारले बताए।

सडक आसपासमा घर भएकाले स्थानीयले हिउँदमा धुलो, धुवाँले गर्दा बिरामी समेत हुनुपर्ने अवस्था सिर्जना भएको वडा नम्बर ८ का बासिन्दा किशन रानाले बताए।

व्यापार गर्ने पसलेहरूले सडक समयमै नबन्दा समस्या झेल्नुपरेको छ।  सडक बने कञ्चनपुरको बेलौरी नगरपालिका मात्र नभइ पुनर्वास नगरपालिका, बेल्डाँडी गाउँपालिका, बेतकोट नगरपालिकाका बासिन्दाको जनजीवन सहज र सुगम हुने उनीहरू बताउँछन्।