रबी रानाको अध्यक्षतामा नेपाल राना थारु समाजको समानान्तर केन्द्रीय समिति गठन, ९ बुँदे विज्ञप्ति जारी

मंगलबार कार्तिक ६, २०८१/ Tuesday 10-22-24
Paschim Today

कैलाली। नेपाल राना थारु समाजको  ७ औं महाधिवेशनमा बहिस्कार गरेको समूहले समानान्तर समिति चयन गरेको छ । मनोनयन दर्ता गरिसकेपछि बहिस्कार गरेको असन्तुष्टि समूहले  रबी रानाको अध्यक्षतामा १७ सदस्यीय  समानान्तर कार्यसमिति गठन गरेको हो  ।  

उपाध्यक्ष प्रेमवती राना र उपाध्यक्ष सुरेश बडायक , महासचिवमा जगदीश राना , सचिवमा रञ्जित राना  र सचिव भजन लाल राना  र  कोषाध्यक्षमा पृथ्वी राना थारु चयन गरेको असन्तुष्ट समूहले सदस्यमा  गर्भु राना ,  मुखलाल राना , राजेन्द्र राना, राम कुमार राना ,   सेवनिया राना,   मनोहर राना ,   मेघनाथ राना ,   सिता राना ,   कृष्णा कुमारी राना , र  भागरथी राना चयन भएका थिए ।

यस अघि नै नेपाल राना थारु समाजको  निर्वाचन मार्फत कमलसिंह राना अध्यक्षमा विजयी भइसकेका थिए । निर्वाचन प्रक्रियासम्म समावेश भएर मतदान भन्दा अघिल्लो दिन विभिन्न विषयमा असहमति जनाउँदै बहिस्कार गरेको समूहले रवि रानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

समानान्तर समितिका अध्यक्ष रबी रानाले एक विज्ञप्ति जारी गर्दै ९ बुँदामा समानान्तर समिति गठन गर्नु परेको अवस्थाबारे प्रस्ट पारेका छन् । 

‘सातौँ महाधिवेशनमा मिति २०८१ कार्तिक ३ गते विधान विपरीत र  निवर्तमान कार्यसमितिका बहुमत पदाधिकारीहरूको फरक मत र बहिष्कार बिच केही व्यक्ति र स्वार्थ समूहका लागि आफू निकटका व्यक्ति निर्वाचन मण्डल र अधिकृत तोकी सम्पन्न गरि कमिटी गठन गर्नु संस्थाको विधान विपरीत मात्रै नभई लोकतान्त्रिक पद्धति र कानुनी राज्यको खिल्ली उडाएको छ तसर्थ देहाय बमोजिमका कारण र संस्था को मर्म अनुसार समाजलाई एकताबद्ध गर्ने र संस्थालाई जीवन्त राख्ने उद्देश्यका साथ  हामीले नेराथासको केन्द्रीय  समानान्तर समिति गठन गरेका छौँ ’उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ   ।