जुम्लाकी महिलाको तस्बिर ब्राजिलको 'द बिट एक्जिबिसन'मा

बुधबार कार्तिक ७, २०८१/ Wednesday 10-23-24
Paschim Today

काठमाडौं । नेपालको परम्परागत पहिरनमा सजिएकी जुम्लाकी एक महिलाको तस्बिर ब्राजिलको साओ पाउलो सहरमा आयोजित द बिट एक्जिबिसनमा प्रदर्शनीमा राखिएको छ । आर्टिलिमिक्स संस्थाद्वारा इकोज स्टुडियोमा आयोजित एक्जिबिसनमा २४ देशका ५३ जना कलाकार र फोटो पत्रकारका ५३ वटा तस्बिर प्रदर्शनी गरिएको हो ।

 

वाइल्ड लाइफ फोटो पत्रकार राज अधिकारीले जुम्लाको पातारासीस्थित स्याउ बगैंचा अवलोकनका क्रममा खिचेको उक्त तस्बिर प्रदर्शनीको छनोटमा परेको हो । तस्बिर प्रदर्शनी अक्टोबर ९ देखि १९ सम्म चलेर गत शनिबार समापन भएको छ ।

नेपालीपन, कला र संस्कृति झल्किएको उक्त तस्बिरलाई विदेशी अवलोकनकर्ताले निकै रुचाएको वाइल्ड लाइफ फोटोपत्रकार अधिकारीले बताए । ‘यसले नेपाली संस्कृति र भेषभूषा मन पराउने धेरै छन् भन्ने देखाएको छ,’ उनले भने, ‘यसलाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गरेर पर्यटन विकास गर्न सकिन्छ भन्ने देखाएको छ ।’