बैंकिङ प्रणालीबाट आज राष्ट्र बैंकले ४० अर्ब तरलता तान्दै

बुधबार कार्तिक ७, २०८१/ Wednesday 10-23-24
Paschim Today

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रियसँगै बुधबार राष्ट्र बैंकले ४० अर्ब रुपियाँ प्रशोचन गर्ने भएको छ । निक्षेप संकलन उपकरणमार्फत केन्द्रीय बैंकले ७ दिनका लागि उक्त तरलता प्रशोचन गर्ने भएको हो । 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । सार्वजनिक बोलकबोलमार्फत हुने निक्षेप संकलन उपकरणको बाँडफाँड आजै हुँने केन्द्रीय बैंकले जनाएको छ ।

 

पछिल्लो रिपोर्ट अनुसार कात्तिक ४ गतेसम्म ६६ खर्ब ३७ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले मुस्किलले ५२ खर्ब ६९ अर्ब रुपियाँ कर्जा लगानी गरेका छन् ।

समीक्षा अवधिमा ७८.०५ प्रतिशत मात्र सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) कायम गरेका बैंकहरुसँग ७ खर्बमाथि लगानीयोग्य पुँजी रहेको छ । तर, कर्जाको माग नै नभएपछि बैंकहरुले लगानी बढाउन सकेका छैनन् । यसैले केन्द्रीय बैंकले पछिल्लो समय निक्षेप संकलन उपकरणको माध्ययमबाट निरन्तर तरलता प्रशोचन गरिरहेको छ ।