टी-२० अलराउन्डर वरीयतामा दीपेन्द्र दोस्रोमा यथावत्

बुधबार कार्तिक ७, २०८१/ Wednesday 10-23-24
Paschim Today

काठमाडौँ : टी-२० अलराउन्डर वरीयतामा राष्ट्रिय टोलीका दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा कायमै रहेका छन्। अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आज सार्वजनिक गरेको वरीयतामा उनी अलराउन्डरतर्फ दोस्रो स्थानमा कायमै रहेका हुन्।

टी–२० अलराउण्डरतर्फ नै गुल्शन झाले ११ स्थान सुधार गर्दै ४०औँ स्थानमा उक्लिएका छन्।

टी–२० ब्याटिङतर्फको वरीयतामा राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलले ३१ स्थान सुधार गरेका छन्।

आईसीसीले आज सार्वजनिक गरेको वरीयताअनुसार भुर्तेलले ३१ स्थान सुधार गर्दै ९९औँ स्थानमा उक्लिएका छन्। भुर्तेलले अमेरिकाविरुद्ध टी–२० सिरिजमा १ अर्धशतकसहित कुल १४२ रन बनाएका थिए। 

ब्याटिङ वरीयतामा आसिफ शेखले पनि २ स्थान सुधार गर्दै ६९औँ स्थानमा उक्लिएका छन्। कप्तान रोहितकुमार पौडेल ४ स्थान सुधार गर्दै ५९औँ स्थानमा उक्लिएका छन्। 

अष्ट्रेलियाका ट्राभिस हेड टी–२० ब्याटिङ वरीयताको शीर्ष स्थानमा छन् भने भारतका सूर्यकुमार यादव दोस्रो तथा इंग्ल्याण्डका पिल्ट साल्ट तेस्रो स्थानमा रहेका छन्। 

टी–२० बलिङतर्फ सोमपाल कामीले ३ स्थान सुधार गर्दै ९२औँ स्थानमा उक्लिएका छन्। बलिङतर्फ भने दीपेन्द्रसिंह ऐरीको वरीयता ३ स्थानले खस्कँदै ६२औँ स्थानमा झरेको छ।